२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

रामेछापमा राहदानी आवेदन फाराम प्रशासन कार्यालयमै निःशुल्क

टीकाप्रसाद भट्ट

रामेछाप — राहदानी लिन आवश्यक पर्ने अनलाइन आवेदन भर्दा सर्वसाधारण ठगिन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले कार्यालयमै निःशुल्क फाराम भर्ने व्यवस्था मिलाएको छ । बाहिर फाराम भर्ना अनुचित रकम लिएको गुनासो आएपछि प्रशासन  कार्यालयले आइतबारदेखि आफ्नै कार्यालयमा डेस्क राखेर निःशुल्क फाराम भरिदिन थालेको हो । अनलाइनका लागि राहदानी फाराम भर्दा ३ सयदेखि १ हजारभन्दा बढीसम्म लिएको गुनासो प्रशासनमा पुगेको थियो । 

रामेछापमा राहदानी आवेदन फाराम प्रशासन कार्यालयमै निःशुल्क

सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार बाहिरबाट भरेर आउने फारामलाई अब कार्यालयले स्वीकार गर्दैन । कार्यालयको एउटै डेस्कमा काम गर्दा केही समय प्रतीक्षा गर्नुपर्ने भए पनि पैसा नतिरी सेवा उपलब्ध गराइने उनले बताए ।

कार्यालयले बाहिरबाट भरेर ल्याएको फाराम अस्वीकार गर्न थालेपछि राहदानीको काम लिन भने यसअघिको भन्दा बढी समय लाग्न थालेको छ । केही दिनदेखि कार्यालयमा भिड लाग्न थालेको छ । राहदानीकै कामसँग जोडिएको अनलाइन भौचर भर्ने र फोटोकपीलगायत कामका लागि भने बाहिरै निर्भर हुनु परेको छ ।

अनलाइन फाराम भर्न प्रशासन कार्यालयको डेस्कमा निःशुल्क पाए पनि सर्वसाधारणले राजस्व भौचर भर्न र फोटोकपीलगायत कार्यका लागि बजारमै पुग्नुपर्ने बाध्यता छ । फाराम भर्ने काम खोसिएपछि व्यवसायीहरूले राजस्व भौचर भर्ने काममा पनि सर्वसाधारणबाट बढी पैसा लिन थालेका छन् । केही व्यवसायीहरूले विद्युतीय माध्यमबाट राजस्व जम्मा गरिदिने र त्यस्तो कागज बैंकमा पुर्‍याएर प्रमाणित गराउन थालेका छन् । उक्त कार्यका लागि पनि १ सय रुपैयाँ लिन थालेको गुनासो सर्वसाधारणको छ ।

जिल्ला प्रशासन कार्यालयले भने सर्वसाधारणका लागि सहज सेवा उपलब्ध गराउन अर्को डेस्कसमेत थप्ने तयारी थालेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने विभिन्न खाले निवेदन र अनुसूचीहरू प्रशासन आफैँले छापेर निःशुल्क दिँदै आएको थियो ।

प्रकाशित : मंसिर २२, २०७९ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?