फिस्लिङमा सवारी दुर्घटनामा जर्मन नागरिकको मृत्यु- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिस्लिङमा सवारी दुर्घटनामा जर्मन नागरिकको मृत्यु

रमेशकुमार पौडेल

चितवन — पृथ्वीराजमार्गको चितवन इच्छाकमना गाउँपालिका–३ फिस्लिङमा बिहीबार बिहान सवा १० बजेतिर जिप र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलका चालक जर्मन नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जर्मनीका ६० वर्षीय माइकल मेएर ओल्बर्सलेबेन रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी गराएका छन् ।

दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पताल ल्याइएको थियो । अस्पतालमा ईसिजी गरेर चिकित्सकले उनलाई साढे १२ बजेतिर मृत घोषित गरेको डिएसपी पण्डितले बताए । उनले चलाएको ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र वाग्मती प्रदेश०३–००१ च १६८२ नम्बरको जिप एक आपसमा ठक्कर खाएको प्रहरीको भनाइ छ । मोटरसाइकल नारायणगढबाट मुग्लिन हुँदै काठमाडौंतर्फ जाँदै थियो । त्यसैगरी जिप धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको डिएसपी पण्डितले बताए ।

मोटरसाइकलमा सवार विदेशी महिला भने घाइते भएकी छन् । उनको अवस्था मध्यम रहेको छ । ठक्करपछि मोटरसाइकल र जिप सडकदेखि ५० मिटर तल खसेका थिए । जिपमा रहेका धादिङ गल्छी गाउँपालिका–५ का ७३ वर्षीय निरबहादुर तमाङ पनि घाइते भएका छन् । चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेका उनको अवस्था मध्यम छ । जिपका चालक गोरखाका २१ पर्षीय साजन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : मंसिर २२, २०७९ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकी प्रदेशसभामा राप्रपा प्रवेश, बाहिरियो राजमो 

खुम्चियो एमाले, उदायो कांग्रेस
प्रतीक्षा काफ्ले

कास्की — २०७४ को निर्वाचनमा दुई सिट प्रत्यक्ष निर्वाचन प्रणलीबाट निर्वाचित भएको राष्ट्रिय जनमोर्चा(राजमो) पार्टीबाट गण्डकी प्रदेशसभामा समानुपातिकसहित तीन सदस्य थिए । तर, यस पटक भने राजमो बाहिरिनु परेको छ । गण्डकी प्रदेशबाट राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दा प्रदेशमा उम्मेदवारी खाली भएको थियो । 


सत्ता गठबन्धनबाट राजमोलाई प्रतिनिधिसभा सदस्यमा भाग मिलाउदा प्रदेशसभामा भाग नपुगेको हो । यसअघि प्रदेश सरकार निर्माणमा राजमोको निर्णयक भूमिका थियो । तर, यसपटक भने राजमो बाहिरिएको छ भने, राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशसभामा प्रवेश हुने भएको छ । यसअघि प्रदेशसभामा सहभागीता नभएको राप्रपाले यसपटक समानुपातिकतर्फ दुई सिटसहित प्रवेश गर्ने भएको छ ।

निर्वाचन आयोगले बुधबार सार्वजानिक गरेको समानुपातिक सूचीअनुसार राप्रपा गण्डकी प्रदेशसभामा भित्रिएको हो । गण्डकी प्रदेशमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो दलको रूपमा मत पाएको छ । गण्डकी प्रदेशसभा अन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये एमालेले प्रत्यक्षतर्फ १२ सिट ल्याएको छ । समानुपातिकतर्फ १० गरी प्रदेशसभामा एमालेका २२ सांसद रहने भएका छन् ।

२०७४ को निर्वाचनमा सवैभन्दा ठूलो दल बनेको एमाले यसपटक खुम्चिएको छ । अघिल्लो निर्वाचनमा एमालेले १७ सिट प्रत्यक्ष र १० समानुपातिक गरी २७ सिट जितेको थियो । यसपटक भने कांग्रेसले २७ सिट पाउने भएको छ । प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकमा ९ सिट गरी कांग्रेसले २७ सिट पाउने भएको हो ।

यसैगरी, नेकपा माओवादी केन्द्र पनि अघिल्लो निर्वाचनको तुलनामा यसपटक खुम्चिएको छ । ९ प्रत्यक्ष र ३ समानुपातिक गरी प्रदेशसभामा १२ सिट जितेको माओवादी यसपटक भने ८ सिटमा खुम्चिएको छ । प्रत्यक्षतर्फ ५ (हसियाँ हथौडाको चुनाव चिन्ह लिएर उम्मेदवार भएका नेपाल समाजावदी पार्टीका फणिन्द्र देवकोटासहित) र समानुपातिकतर्फ ४ सिट गरी ८ सिट पाउने भएको हो । मनाङ–२ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) यसअघिको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएर नै निर्वाचित भएका थिए । उनी केही दिनअघि मात्रै माघवकुमार नेतृत्वमा रहेको एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नपुग्ने भएकाले सरकार गठनमा दलहरू मिल्नुपर्ने बाध्यातात्मक अवस्था छ । हालको सत्ता गठबन्धनले निरन्तरता पाएको खण्डमा गठबन्धनकै सरकार बन्ने निश्चित प्राय: छ । गणितीय हिसाबकिताबमा कांग्रेस र माओवादी भए सरकार गठन हुन सक्ने छ । यसबाहेक गठबन्धनको समाजवादीको एक सिट जोड्दा जम्मा ३६ सिटको सरकार बन्नेछ । यस्तै, एमाले र माओवादी केन्द्र मिलेको खण्डमा राप्रपा या, एकीकृत समाजवादीका मनाङेलाई विश्वासमा लिनुपर्नेछ । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यकता पर्दछ ।

प्रकाशित : मंसिर २२, २०७९ १३:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×