१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पहिरोमा पहरा दिएर पढाइ

सडक निर्माणसँगै पहिरो जान थालेपछि आडैको विद्यालय जोखिममा
 घेराबेरा नहुँदा दुर्घटनाको डरले शिक्षक–कर्मचारी विद्यार्थीमाथि निगरानी राख्न बाध्य
राजकुमार कार्की

सिन्धुली — भीरको डिलमा छ विद्यालय । डिलमै उभिएकी छन्, ताराकुमारी कार्की । विद्यालय पोसाकमा रहेकी उनी चौरमा खेलिरहेका विद्यार्थीलाई भीरतिर नआउनू भन्दै थिइन् । उनी सुनकोसी गाउँपालिका–५ खन्नेखर्कस्थित भूमेश्वर आधारभूत विद्यालयकी प्रधानाध्यापक हुन् ।

पहिरोमा पहरा दिएर पढाइ

कक्षाकोठाबाट ५ मिटरको दूरीमा पहिरो गएर भीर बनेको छ । त्यही पहिरोबाट विद्यार्थीलाई जोगाउन शिक्षक, प्रधानाध्यापक, कर्मचारी आलोपालो पहिरो रुँग्दै आएका हुन् ।

‘बालबालिकाहरू खेल्ने बेला रमाइलोमा हुन्छन्, आफ्नै सुरमा खेलिरहँदा पहिरोबाट झरेर दुर्घटना नहोस् भन्न रुँगेर बस्नुपर्ने बाध्यता छ,’ उनले सुनाइन्, ‘कक्षा चलिरहेका बेलामा त्यति समस्या हुँदैन, खाजा खाने समयमा बढी चनाखो हुनुपर्छ ।’ सुनकोसीको केन्द्र रामटारबाट ३ घण्टाको ठाडो उकालो पार गरेपछि खन्नेखर्क पुगिन्छ । बन्दीपुर जाने सडकआडमै रहेको विद्यालयमा घेराबेरा नहुँदा दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ ।

३ कक्षासम्म पढाइ हुने विद्यालयमा २१ जना बालबालिका मात्रै पढ्छन् । तारा बालविकास शिक्षक पनि हुन् । उनकै बहिनी बिनाकुमारी कार्की पनि अनुदान कोटामा शिक्षक छिन् । मसलन्दबापत उपलब्ध हुने रकममा केही थपेर जेनिसा योञ्जनलाई कार्यालय सहयोगी राखिएको छ । ‘शिक्षक र कर्मचारीको संख्या थोरै छ । घेराबेरा नहुँदा एक जना बालबालिका के गर्दै छन् भनेर कुरेरै बस्नुपर्ने भएकाले पठनपाठनमा समेत असर परिरहेको छ,’ ताराले भनिन् ।

विद्यालयमा घेराबेरा गरिदिन माग गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको पनि दशक बढी भइसकेको छ तर हालसम्म कतैबाट सुनुवाइ भएको छैन । ‘धेरै कार्यालय धाएँ, व्यक्ति भेटेँ, कतैबाट पनि सहयोग मिलेन,’ उनले गुनासो पोखिन्, ‘वरिपरि पर्खाल मात्रै भइदिए, हाइसन्चो हुने थियो । हाम्रो पूरा ध्यान पठनपाठनमा मात्र जाने थियो ।’

गाउँकै ८६ वर्षीय मगरसिंह घिसिङले एक रोपनी एक आना जग्गा दान दिएपछि पहरोछेउमै भए पनि विद्यालय निर्माण गरिएको थियो । ‘मैले थोरै जग्गाबाट कटाएर विद्यालयलाई दान गरेको हुँ, अब घेराबेरा त सरकारले गर्नुपरो नि,’ घिसिङले पहिरोको समस्या कसरी आयो भन्ने खुलाए, ‘पहाडको जमिन भिरालो हुने नै भयो । ३ वर्षअघि रामटार–लिट्टेभन्ज्याङ–थापाथुम्का–बन्दीपुर सडक निर्माणपछि पहिरो पनि झर्न थाल्यो, यसैले समस्या भएको छ ।’

विद्यालयमा आवश्यक संरचना र साधनको समेत अभाव छ । हावाहुरीले उडाउने भन्दै विद्यालयको बोर्ड नजिककै रहेको प्रधानाध्यापक कार्कीको घरमा छ । विद्यालयका २ कोठा शिक्षा विकास तथा समन्यव इकाइको सहयोगमा निर्माण भए पनि बालविकास कक्षाका लागि कोठा छैन । ‘बालविकास कक्षा, खेल्ने र मसलन्द सामग्री उपलब्ध भए पठनपाठनलाई निकै सहयोग पुग्ने थियो,’ शिक्षक बिनाकुमारीले भनिन्, ‘बालबालिका बस्न ओछ्याइएको म्याट पनि ठाउँठाउँमा प्वाल परेको छ । त्यो पनि कसरी फेर्ने हो ?’

भीरको डिलमा रहेको विद्यालय अन्यत्र सार्न जग्गा खोजी भइहरेको सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले बताइन् । ‘पालिका खेल मैदानसहितको विद्यालय निर्माणमा जुटिरहेको छ,’ उनले भनिन्, ‘अन्यत्र सार्न नसकिए घेराबेरा गरेर व्यवस्थित गरिनेछ ।’

प्रकाशित : मंसिर २२, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?