कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

प्रदेशसभा बैठक पुरानै भवनमा

नयाँ सभाहल बन्न नसकेपछि प्रदेशसभा बैठकका लागि पुरानै हलको धमाधम मर्मत र रंगरोगन चल्दै
प्रताप विष्ट

हेटौंडा — मंसिर ४ मा भएको प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । आगामी ५ वर्षका लागि चुनिएका प्रदेशसभा सदस्यहरू अब नियमित बैठक बस्नेछन् र प्रदेशका लागि आवश्यक नीतिनियम तथा विकास निर्माणबारे छलफल गर्नेछन् ।

प्रदेशसभा बैठक पुरानै भवनमा

तर, सांसदहरूले यसपल्ट पनि पुरानै प्रदेशसभा भवनमा बैठक बस्नुपर्ने भएको छ । निर्माणाधीन संसद् भवनको काम पूरा नभएपछि अहिले पुरानै भवनको मर्मत भइरहेको हो ।

हेटौंडा उपमहानगरपालिका–१० स्थित प्रदेशसभाको मूल गेटदेखि सभामुख–उपसभामुखको कार्यकक्ष, संसदीय दलका कार्यालयसम्मको मर्मत र रंगरोगन धमाधम भइरहेको छ । संसदीय समितिहरूका लागि भने नयाँ भवन नै तयार पार्ने गरी काम भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ । पुरानै प्रदेशसभा भवनलाई मर्मत गरेर नयाँ रूप दिन लागिएको सचिवालयका सूचना अधिकारी सुन्दर बाँस्कोटाले बताए । ‘प्रदेशसभा सदस्यहरूलाई बस्न सहज हुने गरी कुर्सीको व्यवस्थापन तथा हलमा फलसिलिङको काम चालु छ,’ उनले भने, ‘सभामुख र उपसभामुखको कार्यकक्षको पनि नयाँ तरिकाले सजावट गर्ने तथा क्यान्टिनको समेत व्यवस्थापन मिलाइँदै छ ।’

प्रदेशसभा बैठक आह्वान हुनुअघि नै मर्मतका सबै काम सक्ने गरी सचिवालयका कर्मचारीहरू खटिएका उनले बताए । ‘पुसको पहिलो सातासम्म पहिलो बैठक बस्न सक्ने गरी व्यवस्थापन गर्न तयारीमा जुटेका छौं,’ उनले भने ।

वाग्मती प्रदेशसभामा प्रत्यक्षबाट ६६ जना र समानुपातिकतर्फका ४४ जना गरी १ सय १० सदस्य रहनेछन् । प्रदेशसभाको पहिलो कार्यकालमा तत्कालीन शिक्षा निर्देशनालयको भवन प्रयोग भएको थियो । तर, बैठकस्थल साँघुरो र कुर्सीको व्यवस्थापन उचाइ मिल्ने गरी व्यवस्थापन हुन सकेको थिएन । बैठक कक्षमा छिर्न र निस्कन समस्या हुने गर्थ्यो । पछिल्लो लहरमा बस्ने सदस्यलाई बैठक नसकी चाहेर पनि बाहिर निस्कन सक्ने अवस्था थिएन । साँघुरो बाटो हुँदै सभामुखको आसनअघिबाटै हल भित्रबाहिर गर्नुपर्ने अवस्था थियो । हलको बीच–बीचमा रहेका पिलरले दायाँबायाँ र सभामुखलाई हेर्न पनि समस्या हुने गरेको थियो ।

डोरमणि पौडेलको अध्यक्षतामा २०७४ माघ १८ मा पहिलो बैठक बसेयता सोही भवनमा प्रदेशसभाले जसोतसो ५ वर्ष गुजारेको छ । यसबीचमा ३ पटक सरकार परिवर्तन भए । तर, कुनै पनि सरकारले प्रदेशसभा तथा अन्य प्रादेशिक संरचना बनाउन जग्गाको समेत सुनिश्चितता गर्न सकेनन् । दुई वर्षअघिदेखि हालकै प्रदेशसभा भवनछेउमै अस्थायी प्रकृतिको सभाहल निर्माण थालिए पनि अझै काम पूरा हुन सकेको छैन ।

करिब ६० जना अट्ने हलमा ११० जना प्रदेशसभा सदस्य, कर्मचारी र दर्शक कक्षसमेतको व्यवस्थापन हुँदै आएको छ । स्थान अभावका कारण प्रदेशसभामा रहेका विभिन्न समितिहरूको बैठक प्रदेशसभा बाहिरसमेत बस्ने गरेको छ । ‘प्रदेशसभाको नयाँ भवनको निर्माण सम्पन्न गर्न अझै केही महिना लाग्ने देखिएको छ, त्यतिन्जेलसम्म पुरानै भवनमा बैठक बस्नेछ,’ उनले भने ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत अर्घाखाँची सगुन पारामाउन्ट जेभीले निर्माणको काम गरिरहेको छ । २०७७ कात्तिक १९ मा ४ करोड ९४ लाख ९ हजार ९ सय ९ रुपैयाँमा २ सय ५० जना अट्ने सभाहल निर्माणको सम्झौता भएको थियो । २०७९ वैशाख १ सम्ममा निर्माण सक्ने गरी सम्झौता भएकोमा म्याद सकिएको झन्डै ८ महिनासम्ममा ८० प्रतिशत मात्रै काम सकिएको छ । समयमै निर्माण नसकिएपछि २०८० जेठ ३० सम्मका लागि म्याद थप गरिएको सहरी विकास कार्यालयले जनाएको छ । भवनको वाग्मती प्रदेशसभाका तत्कालीन सभामुख सानुकुमार श्रेष्ठले २०७७ मंसिर १० मा शिलान्यास गरेका थिए ।

कार्यालयका सूचना अधिकारी टेकनाथ काफ्लेका अनुसार विदेशबाट आयात गर्नुपर्ने सामग्रीका लागि एलसी बन्द हुनु, कोरोना महामारीलगायत कारण देखाउँदै निर्माण कम्पनीले ढिलाइ गरेको बताए । ‘अबको दुई महिनामा सबै काम सकेर भवन हस्तान्तरण गर्ने ठेकेदार कम्पनीले बताएको छ,’ उनले भने । यसपल्ट वाग्मती प्रदेशसभामा राप्रपाले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ । जसले गर्दा अब राप्रपालाई पनि संसदीय दलको कार्यालय उपलब्ध गराउनुपर्ने भएको छ । थप कार्यालयको व्यवस्थापन गर्न सचिवालयलाई झन् दबाब परेको छ ।

प्रकाशित : मंसिर २१, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?