कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दमकल खरिद गर्न सिन्धुली महोत्सव

राजकुमार कार्की

सिन्धुली — आगलागीबाट हुने क्षति न्यूनिकरण गर्न दमकल खरिदका लागि सिन्धुली महोत्सव हुने भएको छ । सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सदरमुकाम सिन्धुलीमाढीमा पुस ८ गतेदेखि १८ गतेसम्म १० दिने छैठौं सिन्धुली महोत्सव–२०७९ आयोजना गरी मुनाफाको रकमबाट दमकल खरिद गर्ने योजना बनाइएको हो ।

दमकल खरिद गर्न सिन्धुली महोत्सव

संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार पैसा जुटाएर दमकल किन्ने योजना महोत्सवको मुख्य उद्देश्य राखिएको छ । दमकल खरिद गर्न एक करोड २५ लाख रुपैयाँ खर्च हुने आकलन गरिएको छ ।

सदरमुकाम सिन्धुलीमाडीमा कमलामाई नगरपालिकासँग कम क्षमताको एउटा मात्रै दमकल रहेको छ । सदरमुकाममा एउटा मात्र दमकल हुँदा गर्मी मौसममा हुने ठूला आगलागीका घटनाबाट हुने क्षति न्यूनिकरण गर्न समस्या भएको संघको भनाइ छ ।

गत वर्ष सदरमुकामका दुईवटा पसलमा आगलागी हुँदा पाँच करोड हाराहारीमा धनमाल जलेर नष्ट भएको बताइएको थियो । अध्यक्ष श्रेष्ठका अनुसार गत वर्ष कमलामाई नगरपालिका ६ रातमाटामा रहेको शाह हार्डवेयर पसलमा भएको आगलागीबाट तीन करोड बराबरको धनमाल जलेर नष्ट हुनुका साथै पाँचवटा भवन जलेर क्षति भएको थियो ।

त्यसबेला कमलामाई नगरपालिकासँग भएको दमकलले आगालागी नियन्त्रण गर्न नसकेपछि रामेछाप र दुधौली नगरपालिकाबाट थप दुईवटा दमकल झिकाएर उक्त आगालागी नियन्त्रणमा लिइएको थियो ।

नौवटा स्थानीय तहमध्ये कमलामाई र दुधौली नगरपालिकामा मात्र दमकल छ । महोत्सवले समुन्नत तथा समृद्ध सिन्धुली निर्माणमा टेवा पुग्ने आयोजक संघको विश्वास छ । कृषि, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, स्थानीय व्यापार, उद्योगको विकास, स्थानीय कृषि तथा मौलिक उत्पादन, स्थानीय परम्परागत सीप कला र संस्कृति तथा लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न महोत्सव सहयोगी हुने अध्यक्ष श्रेष्ठले जनाए । कोरोना महामारीका कारण तीन वर्ष अघिदेखि महोत्सव तथा व्यापार मेला हुन सकेको थिएन ।

प्रकाशित : मंसिर १९, २०७९ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?