२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९
सुनकोसी–मरिण डाइभर्सन

डेढ महिनामा १ किमि सुरुङ

राजकुमार कार्की

सिन्धुली — राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माणले गति लिएको छ । निर्माण थालिएको डेढ महिनामा १ किलोमिटर सुरुङ खनिएको आयाोजनाले जनाएको छ । टनेल बोरिङ मेसिनबाट गत असोज २८ बाट सुरुङ खन्न सुरु गरिएको थियो ।

डेढ महिनामा १ किमि सुरुङ

१३.३ किमि लामो सुरुङ निर्माणको काममध्ये शनिबारसम्म १ किमि खण्ड छिचोलिसकेको आयोजना प्रमुख मित्र बरालले बताए । कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न सुरु गरिएको हो । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले एक महिनामा ५ सय मिटर सुरुङ खन्ने लक्ष्य राखेकोमा प्रगति धेरै देखिएको उनको भनाइ छ । ‘अहिलेसम्म भौगर्भिक समस्या नआएकाले लक्ष्यभन्दा अगाडि नै छौं,’ उनले भने, ‘सुरुङ निर्माणको काम भौगर्भिक अवस्थामा निर्भर हुन्छ । चुरे पहाड र महाभारत क्षेत्रमा पुगेपछि चट्टानी भाग आएर समस्या हुन सक्छ ।’ यही गतिमा काम भए २ वर्षभित्रै निर्माण सम्पन्न हुने उनको आकलन छ ।

‘अहिले दिनमा सरदर १८ मिटर र कुनै दिन ३८ मिटरसम्म सुरुङ खनिएको छ,’ उनले भने, ‘५१ महिनामा सक्ने गरी कोभेकसँग सन् २०२१ मार्च १९ मा सम्झौता भएको थियो । अहिलेसम्म २० महिना बितिसकेको छ । कोभेकले अबको २ वर्षभित्रै सुरुङको ब्रेक थ्रु गर्ने लक्ष्य राखेको छ । हालसम्मको प्रगति हेर्दा त्यो पूरा हुने देखिन्छ ।’ यसअघि भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ठेक्का पनि यही कम्पनीले पाएको थियो । टीबीएम मेसिन जडान गर्न कुसुमटारस्थित प्रवेश मार्गमा ४० मिटर लामो सुरुङ मानिसले नै खनेका थिए । त्यसपछि २३० मिटर लामो उक्त मेसिन जडान गरेर थप खन्न थालिएको थियो । मरिणबाट १३.३ किमि सुरुङ खनेपछि सुनकोसी गाउँपालिकाको कानढुंग्रीनजिक सुनकोसी नदीमा पुग्नेछ । यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणीभन्दा करिब ७ सय मिटर तल पर्छ । पानी बग्ने ५.५ मिटर परिधि रहने गरी अहिले ६.६ परिधिको सुरुङ मेसिनले खनिरहेको छ । सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपैयाँमा ठेक्का पाएको हो ।

टीबीएमले ८/८ घण्टाका दरले ३ सत्रमा गरी चौबिसै घण्टा सुरुङ निर्माण गरिरहेको छ । आयोजनाका अनुसार खुर्कोटमा सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोसी नदीको पानी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेकको गतिमा कुसुमटारस्थित मरिणखोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत लिइएको छ ।

उत्पादित विद्युत् डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिड हुँदै नवलपुर सबस्टेसनमा जोडिनेछ । आयोजनाअन्तर्गत सुरुङमार्ग, हेडवर्क्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका आयोजना प्रमुख बरालले बताए । उनका अनुसार आयोजनाको कुल लागत करिब ४६ अर्ब रुपैयाँ रहने अनुमान छ । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ ।

सुनकोसीको पानी सुरुङमाफर्त मरिण खोलामा खसालेपछि ४४ किलोमिटर बगेर वाग्मती नदीमा मिसिन्छ । वाग्मती सिँचाइ आयोजनाले आफ्नो कमाण्ड क्षेत्रमा अहिले करिब ४५ हजार ६ सय हेक्टरमा सिँचाइ सुविधा पुर्‍याएको र बाँकी ७६ हजार ४ सय हेक्टरसहित १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सुनकोसीको पानीले सिँचाइ सुविधा पुर्‍याउने योजना रहेको उनले बताए । ‘बाह्रै महिना सिँचाइ सुविधा पुगेमा वार्षिक २६ अर्ब रुपैयाँ बराबरको कृषि उत्पादन बढ्ने र आयोजनाअन्तर्गत उत्पादन हुने विद्युत्बाट वार्षिक एक अर्ब ५५ करोड रुपैयाँ आम्दानी हुनेछ,’ उनले भने ।

प्रकाशित : मंसिर १९, २०७९ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?