१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुकुल : अब भोज र रेस्टुराँमा मात्रै

समुदायका परम्परा र संस्कृतिसँग जोडिएका परालका सुकुल, मुढा बुन्ने सीप न त व्यवसायीकरण हुन सक्यो न नयाँ पुस्तामा नै सर्‍यो
ज्योति श्रेष्ठ

काभ्रे — फुलेको कपाल, चाउरिएका गाला, कलेंटी परेको ओठ । बनेपा–८ जापाली टोलकी ७८ वर्षीय याममाया साल्मीलाई सीपले तन्दुरुस्त बनाएको छ । हस्तकलामा उनको लगाव तन्नेरीमा भन्दा कम छैन । पराल र खोस्टाको सुकुल, चकटी, मुढा, बाबियोको ढकी, धुप बाट्ने, कपासको बत्ती कातेर दिन कटाउँछिन् । 

सुकुल : अब भोज र रेस्टुराँमा मात्रै

जीउले साथ दिएसम्म हात खाली राख्न हुन्न भन्ने बुझेकी साल्मी केही न केही बनाइरहन्छिन् । दुई दिनयता मकैको खोस्टाको चकटी बुनिरहेकी उनले भनिन्, ‘पैसा कमाउनभन्दा पनि दिन कटाउन हात चलाइराखेकी हुँ ।’ ढल्कँदो उमेरमा

बढ्दो चिसोले उनलाई बेलाबेला सताइराख्छ । भनिन्, ‘ऊबेला जस्तो काम गर्नै सकिन्न, पहिले त एकै दिनमा एउटा चकटी बुनिसक्थें, अहिले दुई/तीन दिन लाग्छ ।’

याममायासँग सुकुल, चकटी, मुढा, बाबियोको ढकी बुन्ने सीपको ६ दशक लामो अनुभव छ । सुरुमा घरेलु उपयोगका लागि मात्र बनाउँथिन् । दुई दशकयता भने बेच्दै आएकी छन् । घरको प्रवेशद्वारदेखि उनका कोठाका कुना काप्चासम्मै बुनेका सामग्रीहरू बिक्रीका लागि सजिएका छन् । पराल खोज्ने, ढड्याउने र त्यसलाई डोरीझैं बाटेर चकटी, सुकुल बनाउने काम बडो मिहिनेतको हो । पछिल्ला केही वर्षयता भनेजस्तो पराल नपाइने समस्याले उनको सीप संकटमा पर्न थालेको छ । उनले भनिन्, ‘त्यसैले म धेरै खोस्टाबाटै काम चलाउँछु ।’ खोस्टा खोज्न भने उनलाई कतै धाउनुपर्दैन । मकै पोल्ने व्यापारीहरूले खोस्टा उनको दैलोमै ल्याइदिन्छन् । खोस्टा र परालबाट बन्ने सुकुल र चकटीको मूल्य फरक रहेको उनले बताइन् । ‘साना चकटी सुकुलको चार सय रुपैयाँ पर्छ,’ उनले भनिन्, ‘ठूलो सुकुलको एक गजको तीन सय रुपैयाँ पर्छ, एउटै सुकुल पाँच हजार रुपैयाँसम्ममा बेचेकी छु ।’ याममाया खोस्टाको मुढा पनि बनाउँछिन् । उनका अनुसार, धेरै अर्डरहरू त होटलबाटै आउँछन् । उनले बुनेका सुकुल र चकटी हेर्न र सिक्न धुलिखेल, भक्तपुर, काठामाडौंदेखि आउने गर्छन् रे । उनले पनि आफूले जानेको सीप टोल छिमेक र संस्थालाई पनि सिकाएकी छन् ।

आधुनिकीकरणले अचेल सुकुल बुन्नेहरू भेटिन मुस्किल छ । तीन दशकअघिसम्म काभ्रेको पनौतीस्थित यलाछेँ टोलका प्रायः सबैले घरायसी प्रयोजनका लागि बुन्थे । स्थानीयमाझ सुकुल बुन्ने सीप प्रतिष्ठाकै विषय मानिन्थ्यो । तर पराल र खोस्टा पाइन गाह्रो अनि नाफामूलक हुन छोडेपछि सीप हराउँदै जान थालेको छ । पनौती–७ की ६० वर्षीया शारदा जंगम एक समय सुकुल बुन्न नजान्नेलाई हेर्ने नजर नै फरक हुने गरेको सम्झन्छिन् ।

यलाछेँकी ६० वर्षीया कान्छी प्रजापतिसँग पनि सुकुल बुन्ने सीप नहुँदाको नमिठो अनुभव छ । हरेक वर्ष बाली भित्र्याएपछि कान्छीलाई एउटै कुराको चिन्ता हुन्थ्यो, बिस्कुन केमा सुकाउने ? ‘ऊबेला बिस्कुन सिकाउन पालहरू हुँदैनथे, सुकुलमै सुकाइन्थ्यो’, उनले भनिन्, ‘आफूसँग न सुकुल थियो, न त सुकुल बुन्ने सीप नै, छरछिमेकमा माग्न जाँदा नमिठो वचन लगाउँथे, त्यही इखले सुकुल बुन्न सिकें ।’

उमेर चढ्दै गएपछि शारदाका हात सुकुल बुन्न नसक्ने हुँदै गए । इन्द्रेश्वर मन्दिर परिसरमा साथीसँगै भेटिएकी उनले आफूले सुकुल बुन्न छोडेको १४ वर्ष भएको सुनाइन् । ‘सुकुल बुन्ने भनेकै फुर्सदको समयमा हो, घरधन्दा सकेर टोलका सबै जना बसेर सुकुल बुन्न बसिन्थ्यो,’ उनले पुराना दिन सम्झिँदै भनिन्, ‘कोहीले महिना दिनमा सकाउँथें, कोहीले २०/२५ दिनमा, एक अर्काले बनाएको हेर्दै, सिक्दै सुकुल बुनिन्थ्यो ।’ कुनै समय इन्द्रेश्वर मन्दिर परिसरमा सुकुल बुन्नेका लस्कर भेटिन्थ्यो । गफ गर्दै सुकुल बुन्दाको रमाइलो शारदाले अझै भुलेकी छैनन् । तर हिजोआज मन्दिर परिसरमा न कसैले सुकुल बुन्छ, न त सुकुल बुन्ने सीप नै नयाँ पुस्तामा सरेको छ । शारदाले जस्तै कान्छी प्रजापतिले पनि सुकुल बुन्न छाडेको दुई दशक भइसक्यो । शारीरिक अस्वस्थताका कारण सुकुल बुन्न छाडेको बताउँदै उनले भनिन्, ‘अहिले त रहर लागे नि बनाउन सकिँदैन, आँखा कमजोर भए, हात बाउडिन्छ, नाडी दुख्छ ।’

सुकुलको सट्टा प्लास्टिकका गुन्द्रीको प्रयोग बढ्न थालेपछि पनि सुकुल हराउन थालेको हो । बनेपा–७ की ७५ वर्षीया जमुना पलाञ्चोकेले सुकुल, गुन्द्रीलाई अहिले टेबल, कुर्सी र सोफाले ओझेलमा पारेको बताउँदै बुन्ने सीप पनि हराउने चिन्ता सुनाइन् । ४० वर्ष भयो जमुनाले सुकुल बुन्न छाडेको । त्यसो त उनले वर्षौंअघि बुनेका सुकुल पनि घरकाले ओछ्याउन मान्दैनन् । कहिलेकाही ती सुकुल सामूहिक भोजमा प्रयोग गरिन्छ ।

सुकुलको सम्बन्ध नेवार समुदायमा धार्मिक र परम्परगत रूपमा पनि जोडिएको छ । हिन्दु संस्कारमा सुकुललाई शुद्धताको दृष्टिकोणबाट हेरिन्छ । पितृकार्यको समयमा विशेषतः पराल र परालबाट बनेका सामग्रीजस्तै (चकटी, सानो सुकुल, चप्पल) प्रयोग गरेमा पितृ खुसी हुने विश्वासले नै यसलाई शुद्धताको प्रतीक मान्ने चलन छ । तर पछिल्ला वर्षहरूमा धार्मिक काममा मात्रै प्रयोग हुन थालेको छ । नेवार समुदायले विशेषतः भोजको लागि सुकुलको प्रयोग गर्छन् । विवाह, व्रतबन्ध, बेलविवाह, सूर्यदर्शन, जन्मसंस्कार, मृत्युसंस्कारजस्ता अवसरमा पनि सुकुल भोज अनिवार्य मानिन्छ ।

बनेपाका अधिकांश नेवार समुदायले आयोजना हुने सुकुल भोजका लागि जापाली गुठी घर समिति र श्री चण्डेश्वरी मन्दिर पुनर्निर्माण तथा छाना सुधार समितिसँग समन्वय हुने गर्छ । दुवै समितिले सुकुलहरू बाह्य जिल्ला (भक्तपुर र ललितपुर) बाट ल्याउने गर्छन् । नेवारी सुकुल भोजका लागि जापाली गुठीघर समितिसँग ४६ वटा सुकुलहरू रहेको समितिका सदस्य हरि मानन्धरले बताए । त्यस्तै श्री चण्डेश्वरी मन्दिर पुनर्निर्माण तथा छाना सुधार समितिसँग २० फिटको २२ वटा सुकुलहरू रहेको समितिले जनाएको छ ।

सुत्केरीलाई न्यानोकै लागि पराल र परालबाट बनेका सामग्रीको प्रयोग गर्ने चलन अझै पनि नेवारी समुदायमा कायम रहेको संस्कृतिविद् चुन्दा बज्रचार्य बताउछिन् । उनका अनुसार, विशेष गरेर नेवार समुदायमा जन्मदेखि मृत्युसम्मै पराल र परालबाट बनेका सामग्री प्रयोग गर्ने प्रचलन रही आएको छ ।

कुनै समय बनेपामा भक्तपुर र पाटनबाट ल्याइएका सुकुलहरू बिक्री हुन्थ्यो । तर हिजोआज केही पार्टी प्यालेसदेखि रेस्टुरेन्टले पनि परम्परागत शैली दिन सुकुलको प्रयोग गरेको देखिन्छ । काभ्रेको धुलिखेलस्थित धुलिखेल इको रिसोर्ट छिर्नेबित्तिकै परालका सुकुल, चकटीलगायतका पराम्परागत सामग्रीहरू देख्न सकिन्छ । रिसोर्टले विगत ५ वर्षदेखि परम्परागत सामग्री राखेको रिसोर्ट प्रबन्धनिर्देशक सुदीप लुइँटेलले बताए । उनले मौलिक परम्परागत एवं हस्तकलाका सामग्रीले नेपालको पहिचान बोकेकाले यसलाई विश्वसामु चिनाउन पनि राखेको बताए । गाउँघरमा फाट्टफुट्ट घरायसी प्रयोजनका लागि सुकुल बुन्ने गरिए पनि यसको व्यावसायिक उत्पादन भने जिल्लामा थालिएको देखिन्न । नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रेका अनुसार जिल्लामा सुकुलको आयात बढिरहेको अवस्थामा उत्पादन बढाउन विशेष कार्यक्रमको योजना बनाइएको छ ।

प्रकाशित : मंसिर १८, २०७९ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?