नुवाकोटमा ४७ उम्मेदवारको जमानत जफत- वाग्मती - कान्तिपुर समाचार

नुवाकोटमा ४७ उम्मेदवारको जमानत जफत

कृष्ण थापा

नुवाकोट — प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी १२ वटा दलका उम्मेदवार तथा ११ स्वतन्त्र उम्मेदवारले जमानत जोगाउन सकेनन् ।

नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा १४ दलका र ३ स्वतन्त्र उम्मेदवार निर्वाचनमा सहभागी भएकोमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरु दल र स्वतन्त्रले आफ्नो धरौटी जोगाउन नसकेका हुन् ।

जमानत जफत हुनेमा राप्रपा, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, संघीय लोकतान्त्रिक मंच, हाम्रो नेपाली पार्टी, राप्रपा नेपाल, जनसमाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस बीपी, र ३ स्वतन्त्र छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा ११ उम्मेदवार सहभागी भएकामा राप्रपा, नेमकिपा, मंगोल नेसनल अर्गनाइजेसन, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनसमाजवादी पार्टी नेपालका र ३ स्वतन्त्र गरी ८ जनाको जमानत जफत भएको छ ।

त्यसैगरी प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (१) मा ७ जना उम्मेदवार भाग लिएका थिए । त्यसमा राप्रपा, नेमकिपा, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र मंगोल नेसनल अर्गनाइजेसनका गरी ५ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (२) मा ९ जना उम्मेदवार भाग लिएका थिए । यहाँ राप्रपाका विमल थापाले भने आफ्नो जमानत जोगाउन सफल भएका छन् ।

हाम्रो नेपाली पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, नेस्लिसट पिपल्स पार्टी गरी ६ जनाले धरौटी जोगाउन नसकेर जफत भएको छ । नुवाकोट निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (१) मा १३ जना उम्मेदवार भाग लिएका थिए । राप्रपा, नेमकिपा, मंगोल नेसनल अर्गनाइजेसन, नेपाली कांग्रेस बीपी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र ३ जना उम्मेदवार गरी १० जनाको जनमानत जफत भएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ प्रदेश सदस्य (२) मा ६ जना उम्मेदवार भाग लिएका थिए । राप्रपा, मंगोल नेसनल अर्गनाइजेसन, हाम्रो नेपाली पार्टी, एकजना स्वतन्त्रसहित ४ जनाले आफ्नो धरौटी जागाउन नसकेर जमानत जफत भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ को दफा १५९ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिमको निर्वाचनमा खसेको जम्मा सदरमतको दश प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारले दफा २२ बमोजिम प्रतिनिधिसभा सदस्यलाई १० हजार तथा प्रदेशसभा सदस्य उम्मेदवारलाई ५ हजार रुपैयाँ धरौती दाखिला गरेको रकमको धरौटी जफत हुनेछ ।

प्रकाशित : मंसिर १७, २०७९ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्

ओमसतीया स्टार्सविरुद्ध जीबीआईसीएको जित

सन्जु पौडेल

तिलोत्तमा — ओमसतीया स्टार्सलाई हराउँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट एकेडमी (जीबीआईसीए) रुपन्देहीमा जारी जुनियर क्रिकेट लिगको शनिबार भएको खेलमा विजयी भएको छ ।

उसले ५८ रनले ओमसतीयालाई हराएको हो । टस जितेर ब्याटिङ रोजेको जीबीआईसीएका लागि सुमित पराजुलीले हाफ सेन्चुरी प्रहार गरे ।

त्यस्तै, अमित अधिकारीले नटआउट २० रनको योगदान गरे । बलिङमा ओमसतीयाका सुभम खनाल र पुरुषोत्तम पौडेलले समान २/२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको ओमसतीया स्टार्सका आयान खानले २८ र क्रिसल केसीले १६ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा जीबीआईसीएका अधिषेक परियार र सन्तोष यादवले समान ३/३ विकेट लिए । खेलमा जीबीआईसीए सैनामैनाका सुमित पराजुली म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित : मंसिर १७, २०७९ २१:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×