कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

४८ वर्षअघि हराएको शाक्यमुनि बुद्धको मूर्तिको प्रतिस्थापन

ज्योति श्रेष्ठ

काभ्रे — बनेपा नगरपालिका–८ स्थित बहि टोलबाट हराएको अष्टधातुबाट निर्मित शाक्यमुनि बुद्धको मूर्तिको ४८ वर्षपछि प्रतिस्थापन गरिएको छ । २०३१ सालमा बहि मन्दिरबाट हराएको शाक्यमुनि बुद्धको मूर्ति भेटिएपछि बुधबार स्थानीय र नगरपालिकाको संयुक्त पहलमा त्यही ठाउामा प्रतिस्थापन गरिएको हो ।

४८ वर्षअघि हराएको शाक्यमुनि बुद्धको मूर्तिको प्रतिस्थापन

४८ वर्षपछि भेटिएको मूर्तिलाई बाजागाजासहित बनेपा बजार परिक्रमा गरी प्रतिस्थापन गरिएको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिए । उनका अनुसार गुर्जुहरुले (शाक्य समुदायको पुजारी) मन्दिरमा पूजापाठ गरेर उक्त मूर्ति प्रतिस्थापन गरिएको हो ।

यसरी भेटियो मूर्ति

बहि मन्दिरबाट हराएको २६ इन्च लम्बाइ र ८० केजी तौल भएको शाक्यमुनि बुद्धको मूर्ति २०३१ सालमा हराएको थियो । मूर्ति हराएपछि महिनौसम्म स्थानीय, प्रहरी र प्रशासनले महिनौंसम्म खोजी गरे । मूर्तिमा लगाइएको माला बनेपाको करुणामार्गस्थित नागपोखरी नजिकै भेटिएपछि सोही स्थान वरपर मूर्ति भेटिने आशंकामा पोखरी सफा गरेर पनि खोज्ने प्रयास गरिएको बहि ज्ञानमाला भजन खल: का अध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार बनेपा आसपासका बजार क्षेत्रमा धेरैसम्म खोजियो तर कही भेटिएन । ‘भेटिने आश पनि मारिसकेका थियौं,’ उनले भने ।

मूर्ति हराएपछि बहि ज्ञानमाला भजन खल:का पदाधिकारीले मूर्ति खोजिदिन पुरातत्व विभागलाई अनुरोध गरेको थियो । खोज्दै जाने क्रममा २०३५ सालमा काठमाडौंको एयरपोर्टमा भेटिएपछि विभागले सो मूर्ति सुरक्षाका लागि राष्ट्रिय संग्राहलयमा राखेको राष्ट्रिय संग्राहलयका निर्देशक जयराम श्रेष्ठले जानकारी दिए । भेटिएको मूर्ति मन्दिरमा प्रतिस्थापनका लागि बहि ज्ञानमाला भजन खल:बाट माग भएतापनि मन्दिरको जिर्ण अवस्था र असुरक्षाका कारण पुरातत्व विभागले मूर्तिलाई संग्राहलयमै राखिएको निर्देशक श्रेष्ठले बताए ।

बहि ज्ञानमाला भजन खल:ले २०७१ सालदेखि नै मूर्तिलाई मन्दिरमा प्रतिस्थापन गर्ने तयारी गरेको थियो । तर २०७२ सालको भूकम्पका कारण मन्दिरमा पनि सामान्य क्षति भयो । २०७५ सालमा मन्दिरको पुर्न:निर्माण गर्न पुरातत्व विभागले निर्देशनका साथै १ करोड रुपैयाँ बजेट विनियोजन गर्‍यो । दुई वर्षमा मन्दिरको पुन:निर्माण सम्पन्न गरेपछि बहि ज्ञानमाला भजन खल:ले मूर्ति प्रतिस्थापनका लागि विभागलाई पुन: पत्रचार गरेको बहि ज्ञानमाला भजन खल:का अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार मूर्ति प्रतिस्थापनका लागि सबै कागजात जुटाउन अलि समय खर्चिनुपर्‍यो । ‘२०७९ मा भदौमा विभागले मन्दिरको अनुगमन गर्‍यो, अनुगमनपश्चात सबै ठिक छ भनेर मूर्ति प्रतिस्थापनका लागि विभागले स्वीकृति दियो,’ उनले भने, ‘मूर्ति प्रतिस्थापनको लागि उत्तम साइत मंसिर १४ गते जुर्‍यो, संग्राहलयबाट मूर्ति फिर्ता ल्याउन सफल भयौं ।’

लामो समयपछि मूर्तिलाई फिर्ता ल्याइ मन्दिरमा प्रतिस्थापन गर्न सक्नु नै नगरको लागि ठूलो सफल्ता भएको बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । उनका अनुसार मूर्ति र मन्दिरको सुरक्षाका लागि सीसी क्यामेरा, साइरन, बत्ती, लगायत मजबुत संरचनाको व्यवस्थापन गरिएको छ । मूर्तिको संरक्षण गर्नु स्थानीय, समुदाय, नागरिक समाज सबैको दायित्व भएको बताउादै नगर प्रमुख शाक्यले भने, ‘यो मन्दिरसँगै नगरमा रहेका अन्य मठमन्दिर, गुम्बाहरुको संरक्षणका लागि पनि नगरपालिकाले कार्ययोजना बनाएर काम गरिरहेको छ ।’

प्रकाशित : मंसिर १५, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?