कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ वर्षमा पुल त बन्यो, तर्न निषेध

२ वर्षमा सक्ने गरी ०७० असारमा सम्झौता भएकोमा बल्ल निर्माण पूरा, सुरक्षा पोस्ट र आश्रमसम्म पुग्ने पदमार्ग नबन्दा पुल सञ्चालनमा आएन
रमेशकुमार पौडेल

चितवन — नेपालकै बाटो भएर प्रख्यात धार्मिकस्थल वाल्मीकि आश्रम पुग्न सकिने गरी नारायणी नदीमा निर्माण थालिएको झोलुंगे पुल ९ वर्षमा बल्ल तयार भएको छ । पुल तयार भए पनि वारपार गर्न भने अझै खुला गरिएको छैन । पुलको मुखमा खाजा पसल प्रसस्तै खुलिसके । सेल्फी र फोटो खिच्नेको पुलमा भीड लाग्छ । तर, ४७९ मिटर लामो पुलको अर्को मुखमा तारजाली लगाएर बन्द गरिएको छ ।

९ वर्षमा पुल त बन्यो, तर्न निषेध

वाल्मीकि आश्रम चितवनको माडी नगरपालिका–१ मा पर्छ । चितवन राष्ट्रिय निकुञ्जको घना जंगलछेउमा रहेको आश्रमबाट थोरै समयमै पुग्न सकिन्छ, नेपाल–भारत सीमा । घना जंगल र अप्ठ्यारो भूगोल भएका कारण चितवन हुँदै आश्रम पुग्न सम्भव छैन । चितवनमै पर्ने भए पनि यो आश्रम चितवनभन्दा धेरै टाढा छ । नवलपरासी हुँदै वर्दघाटबाट दक्षिण लागेपछि नारायणी नदीआडको अर्को प्रख्यात तीर्थस्थल त्रिवेणी धाम पुगिन्छ ।

नदी वारपार गर्न त्रिवेणीको गण्डक बाँधमा पक्की पुल छ, तर यो पुल तरेर वाल्मीकि आश्रम पुग्न झन्डै ८ किलोमिटर भारतीय भूमि पार गर्नुपर्छ । पुलको आडमा बस्ने भारतीय सीमा सुरक्षा बल र त्यसपछि वाल्मीकि टाइगर रिजर्भको पोस्टमा सुरक्षा जाँच र नाम दर्ता गरेपछि मात्रै प्रवेश पाइन्छ । साना गाडी भारतीय क्षेत्रमा पार्क गरी हिँडेर मात्रै आश्रम जान सकिन्छ ।

यी कारणले नेपालीहरू त्रिवेणी पुगे पनि वाल्मीकि आश्रम कमै जान्छन् । यो समस्या हटाउन नेपाली भूमि हुँदै आश्रम आउजाउ गर्न त्रिवेणी र वाल्मीकि आश्रमलाई जोड्ने गरेर नारायणी नदीमा झोलुङ्गे पुल बनाउन निर्माण कम्पनीसँग ०७० असारमा सम्झौता भएको थियो । २ वर्षमा काम सक्ने गरी सम्झौता भए पनि निर्माण गत साउनमा मात्रै पूरा भएको हो । पुलको लागत ५ करोड ८७ लाख रुपैयाँ हो ।

पुलबाट आश्रम पुग्न थप १७ सय मिटर बाटो तयार गर्नुपर्ने हुन्छ । निकुञ्जको जंगल हुँदै उक्त बाटो लैजानुपर्छ । पुल बने पनि बाटो बनाउने कामको सुरसार नै छैन । पुलको आडमा सुरक्षा पोस्ट तयार गर्न पनि बाँकी नै रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । निकुञ्जजस्तो संवेदनशील क्षेत्रमा प्रवेश गर्नुपर्ने भएका कारण सुरक्षा पोस्ट आवश्यक रहेको उनको भनाइ छ ।

‘वन्यजन्तुको बसोबास क्षेत्र भएकाले यो यात्रुकै सुरक्षाको विषय पनि हो । त्यसैले पुलको मुखमा सुरक्षा पोस्ट राखेर आवतजावतलाई व्यवस्थित बनाउनुपर्ने हुन्छ । पुलसँगै पोस्ट बनाउनुपर्ने कुरा सम्झौतामै छ,’ उनले भने । पोस्ट बनेपछि निकुञ्जभित्र कच्ची बाटो पनि बन्ने र आउजाउमा समस्या नहुने उनले दाबी गरे । ‘अहिले वारपार गर्न दिएर के गर्ने ? यता निकुञ्जतिर बाटो नै छैन । मुखमा फेरि ठूलो पहरो पनि छ । पोस्ट राखेर व्यवस्थित नगर्दासम्म यात्रुलाई आउन–जान दिएर पनि त भएन ।’

निकुञ्जको त्रिवेणी मध्यवर्ती उपभोक्ता समितिले पुलको मुखमा तारजालीको छेकबार लगाएर प्रवेश निषेधको ब्यानर राखेको छ । त्रिवेणीतर्फको पुलको मुख खुला भएकाले दिनमा सयौं व्यक्ति फोटो खिचाउनका लागि पुलको पल्लो किनारसम्म पुग्ने गरेका फोटोग्राफर सागर थापाले बताए ।

त्रिवेणी, वर्दघाट र परासी आसपासका साथै भारतको बिहार र उत्तर प्रदेशबाट पनि मान्छेहरू पुलमा आएर फोटो खिचाउने गरेको उनले सुनाए । त्रिवेणीतर्फ पुलको मुखमा खाजा पसलहरू पनि खुलेका छन् । ‘पुल बन्यो तर वारपार गर्न पाइएको छैन । घुम्ने मान्छेहरू यहाँ आउँछन् तर तरेर आश्रम पुग्न नपाएपछि के अर्थ रह्यो र ? यो पुल तयार भए आफ्नै देशको बाटो हुँदै आश्रम जान सकिन्थ्यो । भारतीय सुरक्षाकर्मीसँग सवालजवाफ गर्न पर्दैन थियो,’ पुलको मुखमा खाजा पसल सञ्चालन गर्दै आएका नारायणप्रसाद उपाध्यायले भने ।

फोटो खिच्न आउनेहरूले पुललाई झोलुंगोजस्तै हल्लाउने, केबलहरू तान्ने गरेको देखिन्छ । उनीहरूको गतिविधि नियमन गर्ने, रोक्ने कोही नहुँदा पुल टुटफुट वा कुनै दुर्घटना हुने खतरा पनि उत्तिकै रहेकोमा उनले चिन्ता जनाए ।

वाल्मीकि आश्रमको पुरानो मन्दिरका पुजारी रामशरण गिरी नेपालबाट आउन सुविधा नभएका कारण आश्रम आउनेहरूमा ८० प्रतिशत भारतीय हुने गरेको बताउँछन् । ‘त्रिवेणीबाट झोलुंगे पुल तरेर आउन पाए एक घण्टामा यहाँ आउन सकिन्छ । भारतको बाटो हुँदै आउन २/३ घण्टा लाग्छ । यता भारत हुँदै आउँदा पनि २/३ वटा खोला तर्नुपर्छ । बर्खामा त हामी पूरै थुनिनुपर्छ,’ उनले भने । पुल सञ्चालनमा आए तीर्थालु, मन्दिरका पुजारी तथा मन्दिर आडमा वर्षौंदेखि बस्दै आएका १२/१५ घर स्थानीयलाई धेरै नै सुविस्ता हुने उनले बताए ।

चितवन निकुञ्ज विश्व सम्पदामा सूचीकृत छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी पुल निर्माणको सम्झौता गरेका कारण सुरुमा काम गर्न अप्ठ्यारो पर्‍यो । युनेस्कोसम्मलाई पत्रचार गरेर सबै प्रक्रिया पूरा भएपछि बल्ल निर्माणको काम अगाडि बढेको हो । पूर्व रक्षासचिव आत्माराम पाण्डेले यो काममा निकै दौडधुप गरे । पहिले सम्झौता भएको निर्माण कम्पनीले काम नगरेपछि तारा पौडेल काममा खटिए ।

‘मैले सुरु गरेलगत्तै कोभिड महामारी सुरु भयो । समुद्रजस्तो देखिने नारायणीको माथि काम गर्नुपरेको छ । ढुंगा वर्दघाटबाट ल्याउनुपर्‍यो । काम गर्दागर्दै एक जना नदीमा खसे तर उद्धार गर्न सकियो । निकै कष्टले काम गरेको हो,’ उनले अनुभव सुनाए ।

सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनियर गोपाल थापा सुरक्षा पोस्ट बनाउने काम अगाडि बढेको बताउँछन् । ‘चुनावअघि म आफैंले फिल्डमा गएर जग्गा नापजाँच गरें । पोस्ट बनेपछि निकुञ्जभित्र पदमार्ग पनि बनाउन सुरु हुन्छ । हामी आउँदो असारभित्रै सबै काम सक्नेछौं,’ उनले भने ।

प्रकाशित : मंसिर १४, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?