अवैध कलेज खोलेर करोडौं असुली- वाग्मती - कान्तिपुर समाचार

अवैध कलेज खोलेर करोडौं असुली

अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन लिएको दाबी गर्दै नर्सिङ, फार्मेसी र एचएमा करिब ३ सय विद्यार्थी भर्ना, इन्जिनियरिङलगायतमा भर्नाका लागि सूचना आह्वान
सीटीईभीटीबाट सम्बन्धन नलिएको सुवाल इन्टरनेसनल कलेजले शिक्षा मन्त्रालयबाट पनि अनुमति लिएको छैन
सुदीप कैनी

काठमाडौँ — भक्तपुरको सूर्यविनायक–१ स्थित घतालेमा सुवाल इन्टरनेसनल कलेजले नियामक निकायको अनुमति र सम्बन्धनबिनै सयौं विद्यार्थी भर्ना गर्दै करोडौं शुल्क असुलेको भेटिएको छ । कलेजले नर्सिङ, फार्मेसी र एचएमा २ सय ७० विद्यार्थी भर्ना गरेर शुल्क उठाएको हो । इन्जिनियरिङलगायत अरू दर्जनौं विषयमा पनि विद्यार्थी भर्नाका लागि कलेजले सार्वजनिक सूचना निकालेको छ । 


शिक्षा मन्त्रालय, विश्वविद्यालय, सीटीईभीटीलगायत कुनै पनि निकायलाई जानकारी नदिई खोलिएको सुवाल कलेजले ७५ हजार रुपैयाँका दरले भर्ना शुल्क उठाएको अभिभावकको भनाइ छ । पढाइ शुल्क भने ३ लाख ५० हजारका दरले लिने सञ्चालकको तयारी छ । कलेजमा भर्ना भएका विद्यार्थीमध्ये अधिकांश कर्णाली र सुदूरपश्चिमका छन् । नर्सिङ, फार्मेसी र एचए पठनपाठनका लागि सीटीईभीटीले मात्रै सम्बन्धन दिने गरेको छ । तर उक्त कलेजलाई सम्बन्धन नदिइएको सीटीईभीटीका प्रवक्ता विनोद बडालले जानकारी दिए । ‘त्यस कलेजले विभिन्न बिषयमा भर्नाका लागि पटकपटक आह्वान गरेको सूचना देखिरहेका छौं, हामीलाई कसैले उजुरी दिएको छैन,’ उनले भने, ‘त्यो कलेज नक्कली हो भन्ने आशंकामा अनुसन्धान गरिरहेका छौं ।’

अवैध कलेज सञ्चालनका विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शिक्षा मन्त्रालय र सीटीईभीटीसँग सोधीखोजी गरिरहेको छ । कलेजले अनुमति नलिएको जवाफ सीआईबीलाई दिएर सीटीईभीटी र मन्त्रालय चुपचाप बसेका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार नर्सिङ, एचए, फार्मेसी पठनपाठनका लागि सीटीईभीटीले मात्रै सम्बन्धन दिन सक्ने भए पनि चिकित्सा शिक्षा आयोग र मन्त्रालयको सहमति चाहिन्छ । ‘सुवाल कलेजको विषयमा मन्त्रालयलाई कुनै जानकारी छैन,’ उनले भने, ‘सम्बन्धनबिनै कलेज खोलेर विद्यार्थी भर्ना गरेको भए ठगी हुन्छ । त्यसमा प्रहरी प्रशासनले कारबाही अघि बढाउने हो ।’ कलेजका प्रिन्सिपल प्रकाश सुवालले अमेरिकाबाट सम्बन्धन पाएको र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिने प्रक्रिया रहेको आश्वासन आफूहरूलाई दिएको एक अभिभावकले बताए ।

कलेजमा नर्सिङमा १ सय ५०, फार्मेसी र एचएमा ६०/६० विद्यार्थी छन् । ‘एक दिदीले भक्तपुरमा नयाँ कलेज खुलेको छ भनेर ल्याउनुभयो,’ जुम्लाबाट आएकी एक छात्राले थपिन्, ‘अमेरिकी कम्पनीबाट अनुमति लिएको र पढाइपछि अमेरिका जान पाइने भन्नुभयो । २/३ वटा सिट मात्रै खाली छ भनेकाले हतारहतार गरेर भर्ना भएँ ।’ आफूलाई नर्सिङमा ४० जनाको मात्र सिट भएको बताइए पनि १ सय ५० जना भर्ना भइसकेको उनले सुनाइन् ।

प्रकाश सुवालको व्यक्तिगत बैंक खातामा ७५ हजार रुपैयाँ शुल्क जम्मा गरेर आफू भर्ना भएको ती छात्राले सुनाइन् । ‘प्रवेश परीक्षा नै लिएनन्,’ उनले भनिन् । नर्सिङ, एचए, फार्मेसीलगायत विषयमा भर्नाका लागि सीटीईभीटीले एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने व्यवस्था छ । एकीकृत प्रवेश परीक्षा उत्तीर्ण भए मात्र मेरिटका आधारमा भर्ना हुन पाइन्छ । सीटीईभीटीले २०७२ यता निजी कलेजलाई सम्बन्धन दिएको छैन । मन्त्रालयले पनि विदेशी सम्बन्धनमा कलेज खोल्न २०७४ देखि नै रोक लगाएको छ ।

चिकित्सा शिक्षा ऐनका अनुसार नर्सिङ पठनपाठन गराउन एक सय बेडको आफ्नै अस्पताल र एचए अध्यापन गराउन पनि अस्पताल चाहिन्छ । ‘प्रयोगात्मक अभ्यास गर्न अस्पताल खोई भन्दा अस्पताल बन्दै छ भन्नुभएको छ,’ एक छात्राले भनिन्, ‘अर्को अस्पतालसँग पनि कुरा भइरहेको छ, तिमीहरूले प्राक्टिकल गर्न पाए भएन भन्नुभएको छ ।’

कलेजले गत कात्तिक २० देखि कक्षा सञ्चालन गरेको हो । कक्षामा दिनदिनै नयाँ–नयाँ अध्यापक आउने गरेको एचएकी एक छात्राले बताइन् । ‘पढाउन आउने सबैले आफू डाक्टर हो भनेर परिचय गर्नुहुन्छ, डाक्टर हो कि होइन, थाहा छैन,’ उनले भनिन्, ‘कक्षामा विद्यार्थी थपिइरहेका छन् ।’

सुवाल कलेजले इन्जिनियरिङका १२ विषयमा पनि गत साता भर्ना आह्वान गरेको छ । यी विषय अध्यापन गराउन पनि अनुमति लिएको देखिँदैन । कलेजको वेबसाइटमा डिप्लोमा तहमा इन्जिनियरिङ, स्वास्थ्य, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, स्नातक तहमा बीबीएस, कानुन, पत्रकारिता, कृषि, वनविज्ञानलगायत ३० भन्दा बढी विषय पढाइ हुने उल्लेख छ । मेडिकलतर्फ एमबीबीएस, बीडीएसलगायत विषय पढाइ हुने दाबी पनि कलेजले गरेको छ ।

प्रिन्सिपल सुवालले नर्सिङ, एचए, फार्मेसीमा पढाइ सुरु भइसकेको र एमबीबीएसलगायत मेडिकलका विषय र इन्जिनियरिङको स्नातक तहमा भर्ना खोलिएको बताए । अमेरिकाका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन पाएको उनको दाबी छ । ‘अमेरिकाका कोलोराडो, क्यार्लिफोनिया, वासिङ्टन विश्वविद्यालयको सम्बन्धन पाएका छौं,’ उनले भने, ‘यी विश्वविद्यालय त्रिविको समकक्षता सूचीमा छन् ।’ नर्सिङ, एचए, फार्मेसीलगायत विषय त्रिविबाट फेज आउट भएको वर्षौं भइसकेको छ । मेडिकल विधालाई पनि २०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी भएपछि चिकित्सा शिक्षा आयोगले नियमन गर्छ । ऐनअनुसार विदेश पढ्न जाने विद्यार्थीले पनि आयोगको एकीकृत प्रवेश परीक्षा दिनुपर्छ । एमबीबीएस अध्यापन गराउन आफ्नै ३ सय शय्याको अस्पताल चाहिन्छ ।

केन्द्रका प्रमुख पारसनाथ यादवले शिक्षा मन्त्रालयको अनुमतिबिना शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कुनै पनि विदेशी शिक्षण संस्थालाई त्रिविले समकक्षता दिन नमिल्ने बताए । ‘मन्त्रालयले स्वीकृति दिएपछि मात्रै हामीलाई पत्र आउँछ, त्यसैका आधारमा कलेजको अनुगमन गरेर सूचीकृत गर्छौं,’ उनले भने, ‘पहिले त्रिविमा सूचीकृत हुने भन्ने हुँदैन, पहिले मन्त्रालयले अनुमति दिने अनि मात्र त्रिविमा जानकारी हुने हो ।’ स्नातक तहभन्दा तल्लो कक्षामा समकक्षता दिने प्रावधान छैन ।

प्रकाशित : मंसिर १३, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंमा नयाँ अनुहारको हस्तक्षेप

कांग्रेसले ५ र एमालेले १ क्षेत्रमा जित्दा पहिलो पटक निर्वाचन लडेको रास्वपा ४ क्षेत्रमा विजयी
सुदीप कैनी

काठमाडौँ — काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभाको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंका ५ वटा क्षेत्रमा कांग्रेस, ४ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

काठमाडौं–१ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगनकुमार थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्रकुमार केसी कांग्रेसबाट निर्वाचित भएका छन् । त्यस्तै काठमाडौं–२, ६, ७, ८ मा क्रमश: स्वतन्त्र पार्टीका सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ क्षेत्र नम्बर ९ बाट विजयी भए । २०७४ को निर्वाचनमा काठमाडौंका ६ वटा क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका थिए । तत्कालीन वाम गठबन्धनका कारण कांग्रेसले ४ वटा क्षेत्रमा मात्रै जित हासिल गरेको थियो । त्यतिबेला १ देखि १० क्षेत्रमा क्रमश: प्रकाशमान सिंह, माधवकुमार नेपाल, कृष्ण राई, गगनकुमार थापा, ईश्वर पोखरेल भीमसेनदास प्रधान, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र राजेन्द्र केसी निर्वाचित भएका थिए । नेपाल, राई, पोखरेल, मानन्धर, जीवनराम र कृष्णगोपाल एमालेबाट र सिंह, थापा, प्रधान र केसी कांग्रेसबाट विजयी भएका थिए । यस पटकको निर्वाचनमा तीमध्ये सिंह, थापा, कृष्णगोपाल श्रेष्ठ र केसी पुन: निर्वाचित भएका हुन् ।

काठमाडौं–१ मा सिंहले राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंह ७ हजार १ सय ४३ मतसहित विजयी बने । मिश्रले ७ हजार १८ मत प्राप्त गरे । क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमले एमाले उम्मेदवार मणिराम फुँयाललाई हराएकी छन् । उनले १५ हजार २ सय २९ मत प्राप्त गर्दा फुँयालले ११ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् । पूर्वसांसद राईलाई हराउँदै क्षेत्र नम्बर ३ मा सन्तोष चालिसे विजयी भए । चालिसेले १५ हजार १ सय ५८ मत प्राप्त गर्दा राईले ११ हजार १ सय ९६ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ४ मा गगन थापाले २०७४ कै प्रतिस्पर्धी राजन भट्टराईलाई हराएका हुन् । थापाले २१ हजार ३ सय २ मत प्राप्त गर्दा भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गरे । क्षेत्र नम्बर ५ मा प्रदीप पौडेल एमाले नेता ईश्वर पोखरेललाई हराउन सफल भए । उनले १५ हजार २ सय ३७ मत ल्याउँदा पोखरेलले १० हजार १ सय ७५ मत ल्याए ।

काठमाडौं–६ मा एमाले उम्मेदवार एवं पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हराउँदै स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी बनेका हुन् । शिशिरले १४ हजार २ सय ४ मत प्राप्त गर्दा सर्वेन्द्रले ८ हजार ९ सय ११ मत मात्रै प्राप्त गरे । उक्त क्षेत्रका पूर्वसांसद प्रधानले ८ हजार ८ सय ५ मत मात्रै प्राप्त गरेका छन् । क्षेत्र नम्बर ७ मा पनि स्वतन्त्र पार्टीले जित निकालेको छ । पराजुलीले ८ हजार ७ सय ४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत ल्याएका छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत मात्रै पाएकी छन् । स्वतन्त्र उम्मेदवारी दिएका पूर्वसांसद मानन्धरले ७ सय ५३ मत मात्रै प्राप्त गरे ।

क्षेत्र नम्बर ८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई करिब दोब्बर मतान्तरले पराजित गर्दै विराजभक्तले जित निकालेका हुन् । उक्त निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार तेस्रो र एमाले उम्मेदवार चौथो भएका छन् । उक्त क्षेत्रका पूर्वसांसद जीवनरामले ४ हजार ८ सय ७७ मत मात्रै ल्याए । उनी सत्ता गठबन्धनतर्फका उम्मेदवार थिए । काठमाडौं ९ मा एमाले उम्मेदवार तथा पूर्व सांसद श्रेष्ठ ११ हजार ९ सय ५६ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत प्राप्त पाएका छन् । काठमाडौं १० मा भने एमाले उम्मेदवार हिमेश केसीलाई पराजित गर्दै राजेन्द्र केसी विजयी बनेका छन् । उनले १४ हजार ४ सय ४८ मत प्राप्त गर्दा हिमेशले ११ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रले सत्ता गठबन्धनको तर्फबाट काठमाडौं २, ७, ९ र १० मा उम्मेदवारी दिएको थियो । यी ४ वटै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार तेस्रो र चौथो भएका छन् । २ मा ओनसरी घर्ती, ७ मा यमी भट्टराई, ९ मा कल्पना धमला र १० मा अञ्जना बिशंखेले उम्मेदवारी दिएका थिए । २०७४ को प्रतिनिधिसभामा वाम गठबन्धन गर्दासमेत माओवादी उम्मेदवार काठमाडौंमा पराजित भएका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ ०६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×