१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सदनमा पाका नेताको पहिलो पाइला

रमेशकुमार पौडेल

चितवन — वाग्मती प्रदेशसभामा चितवनका ६ क्षेत्रबाट चुनिएकामध्ये दोहोरिने एक जना मात्रै छन् । पहिलो पटक प्रदेशसभामा पाइला राख्ने ५ मध्ये ३ जना राजनीतिमा तीन दशक गुजारेका अनुभवी व्यक्ति छन् । स्थानीय निकाय सञ्चालन गरेको अनुभव बटुलेका उनीहरू पहिलो पटकको प्रयासमै प्रदेशसभा सदस्य निर्वाचन जित्न सफल भएका हुन् ।

सदनमा पाका नेताको पहिलो पाइला

चितवन–१ (१) बाट प्रदेश सांसद बनेका एमालेका जगन्नाथ थपलिया ०३६ सालको विद्यार्थी आन्दोलनमा सरिक थिए । ०१४ साल भदौमा जन्मेका उनी अनेरास्ववियुको केन्द्रीय सचिवसमेत भए । उनी ०३६ र ०३८ सालमा काठमाडौं मीनभवन क्याम्पसको स्ववियु सभापति पनि चुनिए । ०३९ सालमा तत्कालीन मालेको पार्टी सदस्यता लिएका थपलिया ०६७ सालमा एमाले चितवनको अध्यक्ष पनि भए ।

राजनीति मात्रै होइन, थपलिया शैक्षिक व्यक्तित्व पनि हुन् । उनी भरतपुरस्थित सप्तगण्डकी क्याम्पसको प्रमुखसमेत भए । राजनीतिमा लामो अनुभव भए पनि थपलिया संसदीय क्षेत्रमा अहिलेसम्म उम्मेदवारसमेत भएका थिएनन् । जबकि उनी ०५४ सालमा तत्कालीन जिविस उपसभापति भएका थिए । प्रदेशसभामा पहिलो पटक पार्टीले टिकट दिएकोमा थपलिया विजयी पनि भए ।

प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकार भइसकेका थपलिया प्रदेशसभा प्रभावकारी बनाउने विषयमा आफ्नो अनुभव खर्च गर्ने बताउँछन् । ‘जनताहरूले संघीयता र प्रदेशसभाका विषयमा प्रश्न गर्न थालेका छन् । समस्या होलान्, सुधार गर्नु आवश्यक छ । के सुधार गर्ने, कसरी जाने भन्नेमा म आफ्नो राजनीतिक अनुभवका आधारमा भूमिका खेल्नेछु,’ उनले भने ।

चितवन–२ (१) बाट प्रदेशसभामा विजयी एमालेका कृष्णप्रसाद सिलवाल पनि उमेरले परिपक्व तथा राजनीति र कानुन विषयमा अनुभवी व्यक्ति पनि हुन् । ०२५ सालमा जन्मिएका सिलवालले ०४७ सालमा एमालेको पार्टी सदस्यता लिएका थिए । कानुनमा स्नातक सिलवाल अधिवक्ता भएर केही समय वकालत पनि गरे । उनी ०५४ सालमा तत्कालीन दारेचोक गाविस उपाध्यक्ष पनि भए । ०५० सालमै एमालेको जिल्ला समिति सदस्यमा चयन भएका सिलवालले संसदीय फाँटमा पहिलो पटक प्रदेशसभाको टिकट पाएका हुन् । पहिलो प्रयासमै उनले निर्वाचन जिते पनि ।

‘राजनीतिमा लागेको केही अनुभव छ । कानुनको विद्यार्थी पनि हुँ । संघीयतालाई बलियो बनाउन कसरी भुमिका खेल्ने, प्रदेश सभालाई प्रभावकारी बनाउन के–के गर्ने भन्ने खाकाहरू बनाएको छु । क्षेत्रको विकासका साथै यता पनि ध्यान दिनेछु,’ उनले भने ।

ठाकुर ढकालसँग स्थानीय तह सञ्चालन गरेको लामो अनुभव छ । ०११ सालमा जन्मेका ढकाल माडीका बासिन्दा हुन् । ढकाल पनि ०३६ सालको विद्यार्थी आन्दोलनले उत्पादन गरेका नेता हुन् । हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका ढकाल चितवन–३ (२) बाट विजयी भए । उनी सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार थिए । उनी ०४९ सालमै तत्कालीन गर्दी गाविसको अध्यक्ष भएका थिए । त्यसबेला दक्षिण चितवनको माडी क्षेत्रमा चार गाविस थिए । त्यसमध्येको एक गर्दीको ०५४ सालको अध्यक्ष पनि उनै दोहोरिए । संघीय व्यवस्था लागू भएपछि ती ४ वटै गाविस गाभेर माडी नगरपालिका घोषणा भयो । ०७४ सालमा भएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार रहेका ढकाल नै प्रमुखमा विजयी भए । स्थानीय तह र पार्टीभित्र लामो अनुभव भए पनि ढकालले यो पटक मात्रै संसदीय फाँटमा पहिलो पटक प्रदेशसभाको टिकट पाएका हुन् ।

चितवनबाट प्रदेशसभामा विजयी भएका बाँकी ३ जनामध्ये चितवन–१ (२) बाट विजयी नेकपा (एकीकृत समाजवादी) का कृष्णप्रसाद शर्मा खनाल मात्रै दोहोरिएका हुन् । पहिलो पटक एमालेबाट सोही क्षेत्रमा विजयी खनाल पार्टी फुटपछि एकीकृत समाजवादीतिर लागेर मन्त्री पनि भए । यो पटक सत्तारूढ गठबन्धनका साझा उम्मेदवार भएका उनी दोहोरिएर प्रदेशसभामा पुगेका छन् ।

चितवन–२ (२) बाट विजयी कांग्रेसका उत्तम जोशी र चितवन–३ (१) बाट विजयी राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरबहादुर तामाङ जिल्लामा राजनीति गर्दागर्दै प्रदेशसभामा पुगेका युवा हुन् । जोशी र गुरुङ दुवै जनाले पहिलो पटकको प्रयासमै प्रदेशसभामा प्रवेश पाएका छन् । चितवनले उमेरले परिपक्वदेखि राजनीतिमा अनुभवी, प्रदेश सदस्यको पनि अनुभव लिएका र युवा व्यक्तिसम्मलाई प्रदेशसभामा पठाएको छ ।

प्रकाशित : मंसिर १२, २०७९ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?