वाग्मतीमा सरकार बनाउन गठबन्धनलाई पर्याप्त मत- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मतीमा सरकार बनाउन गठबन्धनलाई पर्याप्त मत

सरकार गठन गर्न ५६ सिट चाहिनेमा गणना बाँकी रहेको दोलखाबाहेकका क्षेत्रमा गठबन्धन ४३ स्थानमा विजयी, बाँकी १३ सिट समानुपातिकबाट सहजै पुग्ने
सुवास विडारी

मकवानपुर — आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा पुगेसँगै वाग्मती प्रदेशमा कांग्रेस पहिलो दल बन्ने भएको छ । दोलखाबाहेक १२ जिल्लामा मतगणना सम्पन्न हुँदा कांग्रेसले प्रत्यक्षतर्फ २४ सिट जितेको छ ।


माओवादी केन्द्रले १४, एमालेले १२, राप्रपाले ७, नेकपा (एकीकृत समाजवादी) ले ५, हाम्रो नेपाली पार्टीले १ र नेपाल मजदुर किसान पार्टीले १ स्थानमा विजय हासिल गरेका छन् ।

वाग्मती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिटका लागि निर्वाचन भएको हो । ४४ सामानुपतिकसहित प्रदेशसभामा १ सय १० जना सांसद रहनेछन् । गत निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको कांग्रेस अहिले पहिलो दल बनेको छ । यसअघि पहिलो स्थानमा रहेको एमाले भने तेस्रो स्थानमा पुगेको छ । माओवादी केन्द्र भने यसअघिकै स्थानमा कायम छ ।

समानुपातिकतर्फको पूरा मत गनिसकेपछि मात्रै सांसदको संख्या टुंगो लाग्ने र सदनको दोस्रो र तेस्रो ठूलो दल को बन्ने भन्ने निश्चित हुनेछ । हालसम्म समानुपातिकतर्फ पहिलो स्थानमा रहेका कारण एमाले दोस्रो दलको हैसियतमा प्रदेशसभामा रहने देखिन्छ । गत निर्वाचनमा २ सिटमा सीमित राप्रपाले यसपटक आकार बढाएको छ । यसअघिका २ सांसद पनि समानुपातिक मतबाट छनोट भएका थिए । अहिले राप्रपाका ५ जना उम्मेदवार प्रत्यक्षबाटै निर्वाचित भइसकेका छन् । यसबाहेक, हाम्रो नेपाली पार्टीले १ सिटमा विजयी हुँदै नयाँ दलका रूपमा सदनमा प्रवेश पाएको छ ।

हाल सत्तारूढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीले प्रत्यक्षतर्फ जितेको सांसदको हालसम्मको (दोलखाबाहेक) संख्या ४३ पुगेको छ । सरकार बनाउन ५६ सिट भए पुग्छ । समानुपातिकबाट १३ सिट सहजै पुग्ने भएकाले गठबन्धनकै सरकार निर्माण हुने निश्चित जस्तै छ ।

प्रदेशसभामा निर्वाचित सांसदहरूमा केही पुरानै अनुहार दोहोरिए पनि अधिकांश नयाँ छन् । केही सांसदले दोहोरिएर उम्मेदवार बने पनि पराजय भोग्दै दोस्रो पटक सदनमा प्रवेश पाउन यसपल्टलाई विराम लागेको छ । प्रदेशका बहालवाला मन्त्री तथा पूर्वमन्त्रीहरूमध्ये पनि केही मात्रै विजयी हुन सकेका छन् । निवर्तमान सभामुख सानुकुमार श्रेष्ठ काठमाडौंमा राप्रपाका सुनील केसीसँग पराजित भए । श्रेष्ठलाई एमालेले भावी मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो । उपसभामुख राधिका तामाङ भने नुवाकोटबाट पुनः निर्वाचित भएकी छन् ।

मन्त्रीहरू माओवादीका रत्नप्रसाद ढकाल, कुमारी मोक्तान, शालिकराम जम्मकट्टेल पुनः निर्वाचित हुँदा श्रम तथा यातायातमन्त्री रहेका माओवादीकै घनश्याम दाहाल भने चितवनमा पराजित भए । पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाललाई पनि पुनः सदनमा देख्न सकिने भएको छ । जम्मकट्टेललाई माओवादीबाट मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ । उनी यसअघि प्रदेशमा दुई पटक मन्त्री भइसकेका छन् । मन्त्रीमा कांग्रेसबाट टिकट पाउनेमा दीपेन्द्र श्रेष्ठ मात्रै थिए । उनी पुनः निर्वाचित भएका छन् । कांग्रेसले यसअघि समानुपातिकबाट सांसद भएकाहरूको नामसमेत बन्द सूचीमा समावेश गरेको छैन । जसका कारण कांग्रेसबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य बन्ने सबै नयाँ अनुहार हुनेछन् ।

कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मकवानपुरबाट निर्वाचित हुँदै मुख्यमन्त्रीका रूपमा आफ्नो दाबेदारी यसपटक पनि प्रस्तुत गरेका छन् । यसअघि आलोपालो सरकारको नेतृत्व गर्ने सत्ता गठबन्धनभित्र लिखित सहमति भए पनि उनी मुख्यमन्त्री बन्नबाट वञ्चित भएका थिए । जसका कारण यसपल्ट उनलाई मुख्यमन्त्रीको मुख्य दाबेदारका रूपमा हेरिएको हो । उनी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट हुन् । एकीकृत समाजवादीबाट मन्त्री बनेका कृष्णप्रसाद शर्मा खनाल र वसन्तप्रसाद मानन्धर पनि पुनः निर्वाचित भएका छन् ।

यस दलबाट अन्य मन्त्री तथा राज्यमन्त्रीहरू उम्मेदवार बनेनन् । मुख्यमन्त्री एवं एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे भने प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

पूर्वमुख्यमन्त्रीद्वय डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य चुनावी मैदानमै उत्रिएनन् । एमालेबाट प्रदेशसभामा मन्त्री भएका रामेश्वर फुयाँल प्रदेशमा, कैलाशप्रसाद ढुंगेल र सरेश नेपाल प्रतिनिधिसभामा पराजित भए । चितवनबाट सांसद भएका जगन्नाथ थपलिया प्रदेशमा एमाले संसदीय दलको नेता हुने सम्भावना रहेको उनीनिकट नेताहरू दाबी गर्छन् । यसअघि प्रदेशसभामा मुख्य सचेतक रहेका एमालेका दीपक निरौला पराजित हुँदा कांग्रेसका सचेतक छिरिङ दोर्जे लामा, प्रभात तामाङ, एकीकृत समाजवादीकी रमा आलेमगर, नेमकिपाका सुरेन्द्रराज गोसाईं भने पुनः निर्वाचित भएका छन् । छिरिङ, प्रभात, रमा र सुरेन्द्र अघिल्लो पटक पनि प्रत्यक्षबाटै निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर १२, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

सिन्धुलीमा ४ प्रतिशत मत बदर

राजकुमार कार्की

सिन्धुली — आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा जिल्लाभर खसेको मतमध्ये ४ प्रतिशत बदर भएको छ । प्रतिनिधिसभाका २ निर्वाचन क्षेत्रमा १ लाख १८ हजार ८ सय ४० मत खसेकोमा ४ हजार ९ सय २९ मत बदर भएको हो ।


प्रदेशसभातर्फका चार क्षेत्रमा १ लाख १९ हजार ९ सय ९३ जनाले मतदान गरेकोमा ३ हजार ८ सय ९२ मत बदर भएको छ । यो खसेको मतको ३ प्रतिशत हो ।

क्षेत्र–१ मा ६३ हजार २ सय ९६ मत खसेकोमा २ हजार ५ सय ७ मत बदर भएको छ । क्षेत्र–२ मा ५६ हजार ६ सय ३३ मत खसेकोमा २ हजार ४ सय २२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मत बदर हुनुमा मतदाता शिक्षा नपाउनुलाई मुख्य कारण औंल्याइएको छ । मतदाता शिक्षा दिने नाममा निर्वाचन आयोगले निर्णय मात्रै गरेको तर कार्यान्वयनमा ध्यान नदिएकाले धेरै मत बदर भएको सञ्चारकर्मी वरुण लामिछाने बताउँछन् । ‘गाउँमा मतदाता शिक्षा पुगेकै छैन । सदरमुकाममा नमुना मतदान भनेर कर्मचारी र पत्रकारले फोटो खिच्छन् । यसैबाट मतदाता शिक्षा पुर्‍याएको भन्दै जिल्ला निर्वाचन कार्यालयले झारा टार्छ । अनि मत बदर हुने नै भयो नि,’ उनले भने ।

निर्वाचन गराउन मतदान केन्द्रमा खटिने कर्मचारीले नबुझाइदिँदा पनि बदरको दर धेरै रहेको अर्का स्थानीय ईश्वर बस्नेतले बताए । ‘कर्मचारीहरूले मतदाताले मत दिएको चुनाव चिह्न हेर्न त मिल्दैन तर नजान्नेलाई एउटा मतपत्रमा एउटा मात्र छाप लगाउनुपर्नेछ जस्ता सामान्य ज्ञान दिन भने सकिन्छ,’ उनले भने, ‘हाम्रो क्षेत्रमा यस्तै अलमलमा परेका मतदाताको मत बदर हुन पुगेको हो ।’

मत बदर हुनुको अर्को कारण अशिक्षा पनि हो । कतिपय ठाउँमा दलकै कार्यकर्ताले पनि चाहिनेभन्दा बढी ठाउँमा स्वस्तिक छाप लाउन सिकाएको पाइएको उनको भनाइ छ । जिल्ला निर्वाचन कार्यालयले भने बदर मत संख्या न्यून गर्न जिल्लाका ९ वटै स्थानीय तहमा नमुना मतदान गरी मतदाता शिक्षा अभियान चलाएको जनाएको छ । धेरैजसो मतदाता साक्षर नरहेकाले घरदैलो गर्दा दलका नेता–कार्यकर्ताले पनि मतदाता शिक्षा दिन जरुरी रहेको कार्यालय प्रमुख पुष्पा झा बताउँछिन् । ‘हामीले मतदाता शिक्षा दिन सक्दो प्रयास गरेकै हौं, ठूलो क्षेत्र र कम जनशक्ति भएकाले दलहरूले पनि मतदातालाई जागरुक बनाउन कोसिस गर्नुपर्थ्यो,’ उनले भनिन् ।

प्रकाशित : मंसिर १२, २०७९ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×