कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सिन्धुलीमा ४ प्रतिशत मत बदर

राजकुमार कार्की

सिन्धुली — आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा जिल्लाभर खसेको मतमध्ये ४ प्रतिशत बदर भएको छ । प्रतिनिधिसभाका २ निर्वाचन क्षेत्रमा १ लाख १८ हजार ८ सय ४० मत खसेकोमा ४ हजार ९ सय २९ मत बदर भएको हो ।

सिन्धुलीमा ४ प्रतिशत मत बदर

प्रदेशसभातर्फका चार क्षेत्रमा १ लाख १९ हजार ९ सय ९३ जनाले मतदान गरेकोमा ३ हजार ८ सय ९२ मत बदर भएको छ । यो खसेको मतको ३ प्रतिशत हो ।

क्षेत्र–१ मा ६३ हजार २ सय ९६ मत खसेकोमा २ हजार ५ सय ७ मत बदर भएको छ । क्षेत्र–२ मा ५६ हजार ६ सय ३३ मत खसेकोमा २ हजार ४ सय २२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मत बदर हुनुमा मतदाता शिक्षा नपाउनुलाई मुख्य कारण औंल्याइएको छ । मतदाता शिक्षा दिने नाममा निर्वाचन आयोगले निर्णय मात्रै गरेको तर कार्यान्वयनमा ध्यान नदिएकाले धेरै मत बदर भएको सञ्चारकर्मी वरुण लामिछाने बताउँछन् । ‘गाउँमा मतदाता शिक्षा पुगेकै छैन । सदरमुकाममा नमुना मतदान भनेर कर्मचारी र पत्रकारले फोटो खिच्छन् । यसैबाट मतदाता शिक्षा पुर्‍याएको भन्दै जिल्ला निर्वाचन कार्यालयले झारा टार्छ । अनि मत बदर हुने नै भयो नि,’ उनले भने ।

निर्वाचन गराउन मतदान केन्द्रमा खटिने कर्मचारीले नबुझाइदिँदा पनि बदरको दर धेरै रहेको अर्का स्थानीय ईश्वर बस्नेतले बताए । ‘कर्मचारीहरूले मतदाताले मत दिएको चुनाव चिह्न हेर्न त मिल्दैन तर नजान्नेलाई एउटा मतपत्रमा एउटा मात्र छाप लगाउनुपर्नेछ जस्ता सामान्य ज्ञान दिन भने सकिन्छ,’ उनले भने, ‘हाम्रो क्षेत्रमा यस्तै अलमलमा परेका मतदाताको मत बदर हुन पुगेको हो ।’

मत बदर हुनुको अर्को कारण अशिक्षा पनि हो । कतिपय ठाउँमा दलकै कार्यकर्ताले पनि चाहिनेभन्दा बढी ठाउँमा स्वस्तिक छाप लाउन सिकाएको पाइएको उनको भनाइ छ । जिल्ला निर्वाचन कार्यालयले भने बदर मत संख्या न्यून गर्न जिल्लाका ९ वटै स्थानीय तहमा नमुना मतदान गरी मतदाता शिक्षा अभियान चलाएको जनाएको छ । धेरैजसो मतदाता साक्षर नरहेकाले घरदैलो गर्दा दलका नेता–कार्यकर्ताले पनि मतदाता शिक्षा दिन जरुरी रहेको कार्यालय प्रमुख पुष्पा झा बताउँछिन् । ‘हामीले मतदाता शिक्षा दिन सक्दो प्रयास गरेकै हौं, ठूलो क्षेत्र र कम जनशक्ति भएकाले दलहरूले पनि मतदातालाई जागरुक बनाउन कोसिस गर्नुपर्थ्यो,’ उनले भनिन् ।

प्रकाशित : मंसिर १२, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?