कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चेपबाट उठेका पाण्डे

रमेशकुमार पौडेल

चितवन — एकै क्षेत्रबाट लगातार पाँचौं पटक चुनावमा उठेर दोस्रो जित हात पारेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले प्रदेशसभामा पनि अनपेक्षित नतिजा निकाले । चितवन–३ मा अघिल्लो पटक सत्तारूढ गठबन्धनको साथ पाएर यही क्षेत्रबाट चुनाव लडेका पाण्डे वामपन्थी गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग ९ हजार मतान्तरले पराजित भएका थिए । यो पटक एक्लै चुनावमा उठेका पाण्डेले सत्ता गठबन्धनका उम्मेदवारलाई त्यत्ति नै मतान्तरले पराजित गरे ।

चेपबाट उठेका पाण्डे

आफू हुर्केबढेको चितवन शिवनगरमा नयाँ घरमा सरेका दाहालले चितवन–३ बाटै फेरि चुनाव लड्ने धेरैको अनुमान थियो । तर अन्तिम समयमा आएर दाहालले गोरखा–२ बाट चुनाव लड्ने निधो गरे । यता ०५६ सालबाट लगातार चुनाव लड्दै आएका पाण्डे यो पटक पनि उठ्छन् भन्नेमा सबै विश्वस्त थिए तर एमालेले उनलाई समर्थन गर्छ वा एक्लै लड्छन् भन्ने कौतूहलता बाँकी थियो ।

गएको स्थानीय चुनावमा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा तालमेल गरेको हुँदा पाण्डेलाई एमालेको समर्थन रहने चर्चा थियो । तर मनोनयन दर्ता हुने दिन एमालेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्रका आधारमा निर्वाचन अधिकृतको कार्यालयले न्यौपानेको नाम उम्मेदवारको सूचीबाट हटायो । एमालेले राप्रपाका पाण्डेलाई नभएर स्वतन्त्र उठेका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालालाई समर्थन गर्‍यो ।

एकातिर सत्ता गठबन्धन, अर्कोतर्फ एमाले र स्वतन्त्र उम्मेदवारको तालमेलबीच पाण्डेले नवगठित दल राष्ट्रिय स्वतन्त्र पार्टीको ‘लहर’ को पनि सामना गर्नुपर्‍यो । दाहालको साटो सत्ता गठबन्धनले चितवन–३ मा माओवादीले युवा चिकित्सक डा.भोजराज अधिकारीलाई उठायो । अन्ततः पाण्डेले ३५ हजार ५५ मत ल्याई दोस्रो पटक सांसद बने । डा.अधिकारी २५ हजार ८ सय २२ मतमै सीमित भए । पाण्डे यसअघि ०७० को संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन चितवन–५ बाट विजयी भएका थिए । एमालेको समर्थन पाएका दिनेश कोइरालाले १२ हजार २ सय ७५ मत मात्रै ल्याए ।

चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार जिता बराल १८ हजार ८ सय ४२ मतसहित तेस्रो स्थानमा आइन् । गत स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनबाट भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहालविरुद्ध उठेर चर्चामा आएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले यो पटक स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसबेला १५ हजारको हाराहारीमा मत ल्याएका पौडेलले यो पटक ३ सय ६५ मात्रै भोट पाए । उनले भन्दा बढी भोट मंगोल नेसनल अर्गनाइजेसनका फैइन्द्रजंग गुरुङले ल्याए । चितवन–३ मा १२ स्वतन्त्रसहित २० उम्मेदवार थिए ।

राप्रपाले प्रदेशसभामा पनि चितवन–३ मा अनपेक्षित नतिजा ल्यायो । राप्रपाका उम्मेदवार एक क्षेत्रमा विजयी नै भए, अर्कोमा निकटतम प्रतिद्वन्द्वी रहे । चितवन ३(१) मा सत्ता गठबन्धनले कांग्रेसका सूर्यकान्त घिमिरेलाई उठाएको थियो । प्रा.डा. घिमिरे कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वरजिस्ट्रार पनि हुन् । त्यसैगरी एमालेबाट प्रदेशसभाका निवर्तमान सदस्य कृष्ण भुर्तेल उठेका थिए । तर राप्रपाबाट उठेका गिरबहादुर तामाङले निर्वाचन जिते । खासै नाम नसुनिएका तामाङले १७ हजार ८ सय १३ मत ल्याउँदा प्रा.डा. अधिकारीले १४ हजार ९ सय ५६ मत ल्याए । एमालेका भुर्तेल ११ हजार ६ सय २३ मत ल्याई तेस्रो भए ।

अघिल्लो पटक समानुपातिकबाट वाग्मती प्रदेशसभा सदस्य भएकी राप्रपाकी रिना गुरुङ यो पटक चितवन ३ (२) मा उम्मेदवार थिइन् । भरतपुर महानगर क्षेत्रको मतगणना सकिँदासम्म अग्रतामा रहेकी गुरुङ माडीको गणनापछि पछि परिन् र सत्ता गठबन्धनका उम्मेदवार माओवादीका ठाकुर ढकालसँग पराजित भइन् । ढकाल माडी नगरपालिकाका निवर्तमान प्रमुख पनि हुन् । ढकालले १५ हजार ४ सय ६१ मत ल्याउँदा गुरुङको १४ हजार ६ सय १५ मत आयो । एमालेकी सरस्वती विष्ट १० हजार १ सय २४ मतसहित तेस्रो भइन् । गठबन्धन र तालमेलबिना एक्लै चुनाव लडेका पाण्डेले स्वयं जित्दै पार्टीलाई प्रदेशमा पनि चिनाए ।

प्रकाशित : मंसिर ११, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?