मुख्यमन्त्रीका दाबेदार ३ निर्वाचित, १ पराजित- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्रीका दाबेदार ३ निर्वाचित, १ पराजित

सत्ता गठबन्धनबाट बानियाँ, जम्मकट्टेल र खनाल विजयी, राप्रपाका केसीसँग पराजित एमालेका श्रेष्ठ मुख्यमन्त्री दौडबाट बाहिर
कान्तिपुर संवाददाता

मकवानपुर — वाग्मती प्रदेशको मुख्यमन्त्रीका आकांक्षीमध्ये ३ जना विजयी हुँदा १ जना पराजित भएका छन् । मुख्यमन्त्री बन्ने योजनासहित चुनावी मैदानमा होमिएका कांग्रेसका इन्द्रबहादुर बानियाँ, माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल र नेकपा (एकीकृत समाजवादी) का कृष्ण शर्मा खनाल विजयी भएका हुन् ।

एमालेबाट भावी मुख्यमन्त्रीको रूपमा हेरिएका प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ भने पराजित भएका हुन् ।

श्रेष्ठ राप्रपाका सुनिल केसीसँग पराजित भए । केसीले ६ हजार ५ सय ९८ मत ल्याउँदा श्रेष्ठले ५ हजार ७९ मत मात्रै प्राप्त गरे । उनले चुनावी अभियानमा आफू भावी मुख्यमन्त्री भएको दाबी गर्दै मत मागेका थिए । हालको अवस्थामा सत्तारूढ गठबन्धनले प्रदेशसभाको नेतृत्व गर्ने प्रायः निश्चित देखिन्छ ।

यस्तो अवस्थामा वाग्मती प्रदेश कुन दलको नेतृत्वमा पर्छ, त्यो अन्तिम निर्वाचन परिणामपछि नै निष्कर्ष निस्कने विजयी नेताहरू बताउँछन् । कांग्रेसका बानियाँ मकवानपुर २ (२) बाट विजयी भएका हुन् । कांग्रेस वाग्मती प्रदेश सभापति बानियाँले एमालेका लालबहादुर थापालाई १ हजार ७ सय ८२ मतान्तरले पराजित गरे ।

सत्ता गठबन्धनबाट मुख्यमन्त्रीका अर्का दाबेदार माओवादी नेता जम्मकट्टेल धादिङ १ (२) बाट विजयी भए । उनले एमालेका गजेन्द्र भण्डारीलाई ७ हजार ४ सय २५ मतले पराजित गरे । गत प्रदेशसभामा माओवादी संसदीय दलका नेताको भूमिका निर्वाह गरिसकेका जम्मकट्टेलले १९ हजार ९ सय ३ मत प्राप्त गर्दा भण्डारीको पक्षमा १२ हजार ४ सय ७८ मत मात्रै परेको थियो ।

चितवन–१ (२) बाट वाग्मती प्रदेशसभा सदस्यमा एकीकृत समाजावदीका नेता खनाल विजयी भए । सत्ता गठबन्धनका उम्मेदवार खनालले १५ हजार ५ सय ७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश खनालले १४ हजार ७ सय ६८ मत ल्याएको चितवन–१ का निर्वाचन अधिकृत रेशमराज सिग्देलले जानकारी दिए । आगामी सरकार निर्माणमा अहिलेकै गठबन्धन कायम रहेर एकीकृत समाजवादीको भागमा परे उनको नेतृत्वमा सरकार निर्माण हुने सम्भावना छ ।

प्रकाशित : मंसिर ९, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

जंगलराजको अन्त्य भयो : राउत

अवधेशकुमार झा

राजविराज — सप्तरी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित जनमत पार्टीका अध्यक्ष सिके राउतले यो निर्वाचनसँगै जंगलराजको अन्त्य भई सुशासन युगको सुरुवात भएको बताएका छन् । 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक वक्तव्य जारी गर्दै राउतले यस निर्वाचनसँगै देश र मधेसको राजनितीमा नयाँ युगको सुरुवात भएको बताएका छन् । ‘यो जनताराजको युगको सुरुवात हो । यो सामुदायिक समाजवादको युगको सुरुवात हो,’ राउतले भनेका छन्, ‘यो जंगलराजको अन्त्य र सुशासनको युगको सुरुवात हो ।’

‘विभेद र अन्यायको युगको अन्त्य र सामाजिक न्यायको युगको सुरुवात हो,’ अध्यक्ष राउतले भने, ‘यो समग्र जनताको जित हो । जनअपेक्षा अनुसार काम गर्न र आफ्नो उत्तरदायित्व निर्वाह गर्न सदैव सम्पूर्ण जनताको सहयोग रहनेछ भन्ने कुरामा म विश्वस्त छु ।’

सप्तरी जिल्लाबाट प्रतिनिधिसभा सदस्यको हैसियतमा आफ्नो पहिलो जिम्मेवारी सप्तरीको राजनैतिक,संस्कृती र संस्कारको पुर्नउत्थान रहेको बताउँदै उनले गजेन्द्रनारायण सिंहले चलाउने गरेको सप्तरी सेवा आश्रम स्वरुपकै एउटा आश्रम संचालनमा ल्याई त्यसलाई जनतासँग दैनिक सम्पर्क स्थलको रुपमा प्रयोग गर्ने बताएका छन् ।

देशको साक्षरता दर करिब ६६ प्रतिसत हुँदा सप्तरीको केवल ५४ दसमलव ५ रहेको बताउँदै राउतले सप्तरी जिल्लालाई शतप्रतिसत साक्षर जिल्ला बनाउन युद्धस्तरमै काम गर्न साक्षरता सेनानी गठन गरी परिचालन गर्ने बताएका छन् । उनले आफ्नो कार्यकालकोअन्त्यसम्म पूर्ण साक्षर जिल्ला बनाइएने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

चुनावी अभियानमा शिक्षा,स्वास्थ्य,रोजगारीसहित किसान आन्दोलनका मागहरू सम्बोधन गर्न गम्भीर रहेको बताउँदै राउतले त्यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन उनले आग्रह गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा राउतले सप्तरी २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका छन् ।

प्रकाशित : मंसिर ९, २०७९ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×