कमाउन सहर छिरे, कोरोनाले फर्कायो गाउँ

विद्या राई

मदनकुँडारी, काभ्रे — काठमाडौंबाट दोलालघाट, भुम्लुटार, कात्तिके देउराली हुँदै झन्डै ८० किलोमिटर यात्रा गरेपछि तामाङ समुदायको बहुल गाउँ मदनकुँडारी पुगिन्छ । जसलाई कोसीपारिका गाउँहरूमध्येकै अन्तिम र विकट बस्ती भनेर चिनिन्छ ।

कमाउन सहर छिरे, कोरोनाले फर्कायो गाउँ

कोरोना महामारी अघिसम्म यहाँका धेरै परिवारको काम थियो पुर्ख्यौली सीपको थाङ्का बनाउनु र त्यसलाई बेचेर गुजारा चलाउनु । कात्तिक अन्तिम साता आफ्नै घरमा भेटिएका ४९ वर्षीय प्यारोलाल तामाङले सम्झिए, ‘मैले पनि बालखैमा थाङ्का बनाउन सिकें, कोभिड अघिसम्म यसैले गुजारा चलेको थियो ।’

उनको पालामा गाउँमा पढाइ र रोजगारीको अवसर थिएन । घरनजिकै विद्यालय भए पनि ५ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । ‘अहिलेजस्तो निःशुल्क पढ्न पाइँदैनथ्यो, थोरै भएनि फी लगाउँथ्यो । तिर्न नसक्ने भएर पढ्न खासै पाइएन,’ उनले बाल्यकाल सम्झिए । आफूले भोगेको दुःख छोराछोरीले खेप्न नपरोस् भन्नेमा उनी सधैं सजग हुन्थे । उतिबेला गाउँमा बनाएको थाङ्का बेच्न काठमाडौंको ठमेल, बौद्ध, ललितपुरको मंगलबजार र भक्तपुर दरबार स्क्वायर पुग्नुपर्थ्यो । यही सिलसिलामा ९/१० दिन हिँडेर काठमाडौं आउजाउ गर्दागर्दै बौद्धमा थाङ्काको ग्यालरी खोले ।

मिहिनेत निकै परेका थाङ्काले भाउ पाउँथ्यो । विदेशी पर्यटकहरूको चहलपहल बढ्दा आम्दानी पनि मनग्ये हुन्थ्यो । २०७२ वैशाखमा भूकम्प गएपछि लामो समय पर्यटन व्यवसायमा मन्दी छायो । गाउँको घर भत्कियो । थाङ्काको कमाइ, सरसापट जुटाएर उनले पक्की घर लगाए । काठमाडौं नै फर्केर थाङ्का व्यवसायलाई निरन्तरता दिए । छोरालाई बोर्डिङ स्कुलमा भर्ना गरिदिए । सहजै चलिरहेको जीविका कोरोना महामारीपछि थलियो । कमाइ हुन छाड्यो । खान, बस्नकै समस्या हुन थालेपछि दोस्रो लकडाउनपछि सपरिवार पुरानो थलो फर्किएका उनी यतै अडिएका छन् ।

खेतीपाती र पशुपालन गरेर गुजारा त चलिरहेकै छ तर छोराहरूको पढाइ बिग्रिएको चिन्ता थपिएको छ । ‘जेठो छोरो एलकेजीमा पढ्थ्यो, अहिले यहाँ ४ कक्षामा पढ्छ, पढाइ बिर्सिसक्यो,’ ८ वर्षीय छोरोको पढाइप्रति चिन्तामा देखिएका उनले भने, ‘भूकम्पपछि गाउँमा घर बनाए पनि पढाइ राम्रो हुँदैन भनेरै काठमाडौं बसेका थियौं, कोरोनाले लथालिंग बनायो । गाउँ नै फर्कायो, खेतीपातीले खान पुगे पनि बच्चाहरूको भविष्य सम्झेर दुःख लाग्छ ।’ कोरोना महामारीपछि आफूजस्तै थाङ्का बनाएर जीविका चलाउनेहरू अधिकांश काठमाडौंबाट विस्थापित भएर गाउँ फर्केको उनले सुनाए । गाउँमै बसेर थाङ्का बनाउनेहरूले पनि बजार पाउन छाडे । यसैले गुजारा चलाउने अधिकांश तामाङ परिवारहरू आयआर्जनबाट वञ्चित छन् । ‘हाम्रो थाङ्काको बजार भनेको विदेशी पर्यटकहरू हो, कोरोनापछि आउन कम भयो,’ ५० वर्षीय सन्तवीर लामाले भने, ‘मूल्य पाउनै छाड्यो । पहिले एउटाको २०/३० हजार आउँथ्यो, बिक्री नि भइहाल्थ्यो ।’ उनी घरैमा थाङ्का बनाएर बेच्नचाहिँ ठमेल पुग्थे । तीन जनाको परिवारलाई खान, लाउन पुगेको थियो । ‘कोरोनापछि एक–दुईचोटि ठमेल पुगिरथें, भाउ नै पाएन, थाङ्का बनाउन नि छोडिसकेजस्तै भएको छ,’ उनले भने ।

दुई वर्षअघि आईएलओ नेपालले गरेको ‘कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभाव’ अध्ययन रिपोर्टअनुसार कोरोना महामारीले गर्दा प्यारोलालको जस्तै अनौपचारिक क्षेत्रका हरेक पाँच श्रमिकमध्ये चार जनाको आयमा अवरोध पुगेको थियो । जसले गर्दा उनीहरूलाई जीवन निर्वाहका आधारभूत आवश्यकताबाटै वञ्चित हुन पुगेका थिए । श्रम शक्ति सर्वेक्षण–२०१७ का अनुसार नेपालको आन्तरिक श्रम बजारमा ७० लाख ८६ हजार कार्यरत छन् । जसमध्ये ४४ लाख ११ हजार जना अर्थात् ६२.२ प्रतिशत अनौपचारिक क्षेत्रमा छन् । महामारीले गर्दा निर्माण, उत्पादन तथा व्यापारिक क्षेत्रमा परेको असर अझै सहज भइसकेको छैन ।

थाङ्का कलाकारहरूको अखिल नेपाल ललितकला संघमा समेत आबद्ध रहेका प्यारोलाल थप्छन्, ‘अब त आयआर्जनसँग जोडिएका हाम्रा परम्परागत ज्ञानहरू पनि संकटमा परेका छन् ।’ नेपालमा थाङ्का खास गरेर तामाङ, नेवार, शेर्पा, गुरुङ आदि समुदायको परम्परागत चित्रकला हो । सुती कपडामा सुन, चाँदीलगायतका धातुले बनाइन्छ । मूल्य पाउन छाडेपछि मदनकुँडारीका उल्लेख्य तामाङ परिवारले थाङ्का बनाउन छोडिसकेका छन् । योसँगै पुर्ख्यौली ज्ञान र सीप नै संकटमा छ । प्यारोलालसँग कुराकानी भइरहँदा मदनकुँडारी गाउँमा आमनिर्वाचनको माहोल थियो । उनको घरायसी कामकाजलाई चुनावले छोएको थिएन ।

मदनकुँडारी विकासमा विकट भए पनि राजनीतिक पहिचान पुरानो छ । यहाँका माओवादी नेता कमानसिंह लामा २०४८ मा सांसद थिए, कोरियाका लागि राजदूत पनि भएका थिए । एमाले नेता नवीना लामा पूर्वसांसद हुन् । माओवादीबाट ०६४ मा संविधानसभा सदस्य भइसकेकी रेणुका चौलागाईं अहिले चौंरीदेउराली गाउँपालिकाको अध्यक्ष छिन् । एकीकृत समाजवादीमा आबद्ध यहीँका दीपक गौतम काभ्रे जिल्ला समन्वय समितिका प्रमुख छन् । गठबन्धनबाट वाग्मती प्रदेशसभा सदस्यका लागि उम्मेदवार रत्न ढकाल प्रदेशकै युवा तथा खेलकुदमन्त्री भइसकेका छन् ।

प्यारोलाल काठमाडौं बसेर थाङ्का व्यवसाय थाल्दै गर्दा सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । मदनकुँडारी ‘राजनीतिक गतिविधि’ हुने प्रमुख थलो बनेको थियो । काठमाडौंमा उनको डेरा गाउँबाट पुगेका आन्दोलनरत माओवादी नेता र कार्यकर्ताहरूका लागि मुख्य ‘सेल्टर’ थियो । राज्य र तत्कालीन विद्रोही पक्षबाट मदनकुँडारीका १० जना मारिए तथा बेपत्ता पारिए । शान्ति प्रक्रियापछि उनी आफैं माओवादीमा आबद्ध भए । राजनीतिक परिवर्तनको साक्षी हुन पाए पनि गाउँको विकास र आफ्नो जीवनस्तर फेरिन नसकेकामा असन्तुष्टि व्यक्त गरे । ‘हामी श्रमजीवी वर्गको मुक्ति भनेर कस्ता–कस्ता राज्यपक्ष र विद्रोही पक्षलाई सह्यौं, पार्टी भनेर लागिरहेका छौं,’ उनले भने, ‘हामी सर्वहारा भयौं, नेता पुँजीपति भयो, यहींनिर विकासको खाडल बन्यो ।’

काठमाडौं नजिकै भएकाले स्थानीयवासी रोजगारी खोज्दै गाउँ छाड्ने गर्थे । छोराछोरी पढाउन भनेर फुटपाथ व्यापार, चटपटे पसल गरेर सहर पस्थे । पछिल्लो समय उनीहरू भूकम्प र कोरोनाजस्ता विपद् र महामारीले सहरको बसाइ दीर्घकालीन नहुने सोचमा पुगेका छन् । ‘सय/डेढ सय जति गाउँ फर्केका छन्, यहीं सानोतिनो उद्योग, कारखाना भए गरिखान पुग्थ्यो भन्नेमा छौं,’ राज्यले लगानी र बजारको सिर्जना गरिदिनुपर्ने उनले बताए । स्थानीय सरकार चौंरीदेउराली गाउँपालिकाले भने उनीहरूको विवरण संकलन गर्ने, कार्यक्रम बनाउने काम गरेको छैन । गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागार्इंले भनिन्, ‘यो ठाउँ एकदमै विकट छ, सडक, रोजगारी, शिक्षा, स्वास्थ्यको दीर्घकालीन योजना आवश्यक छन् । हामीसँग बजेट सीमित छ, गर्नुपर्ने थुप्रै कामहरूलाई पालैपालो सम्बोधन गर्नेछौं ।’

प्रकाशित : मंसिर ७, २०७९ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?