कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

६० परिवारले गरे मतदान बहिष्कार

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाभरका ३ सय २० मतदान केन्द्र पुगेर आइतबार १ लाख ४६ हजार ३ सय ४ जनाले मताधिकार प्रयोग गरे । सिन्धुपाल्चोक र काभ्रेको दोसाँधमा रहेका बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रेबेंसी गाउँका ६० परिवारले भने मतदान बहिष्कार गरेका छन् । ‘नो भोट’ अभियान अघि सार्दै यहाँका २ सय मतदाताले केही समयअघि जिल्ला प्रशासन कार्यालय चौतारामा ज्ञापनपत्र बुझाएका थिए ।

६० परिवारले गरे मतदान बहिष्कार

उनीहरूको मतदान केन्द्र काभ्रेको दोलालघाट र चौतारा साँगाचोकगढी नगरको नर्सरी हो । आइतबार उनीहरू मत हाल्नै गएनन् । यसअघि उनीहरुले चक्काजाम गर्दै नापी कित्ता गरेर सिमा विवाद सुल्झाउन दबाबस्वरूप ज्ञापनपत्र दिएका थिए । चौतारा साँगाचोकगढी डुम्रेभेगमा बस्दै आएका ४३ वर्षीय कृष्णबहादुर माझीको परिवार आफूलाई कुन जिल्लावासी भन्नेमै अन्योलमा छ । ‘हाम्रो यति ठूलो समस्या एजेन्डामा पनि राखेनन्, त्यसैका लागि चुनावमा ‘नो भोट’ हाम्रो अभियान हो,’ उनले भने । आफू बसेको जग्गा कुनै गुठी वा सरकारी नभए पनि काभ्रे र सिन्धुपाल्चोकको सीमा विवादले जग्गाधनी प्रमाण नपाएको उनको दुखेसो छ । लालपुर्जा नहुँदा वर्षौंदेखि भोगचलन गर्दै आएको आफ्नो बेचबिखनमा समस्या आउने गरेको उनले बताए । चेहेर भेगका षडकुमार माझीले सीमा विवाद अन्त्य गर्न नेता, सांसद र जनप्रतिनिधिलाई गुहार्दै आए पनि केही नभएपछि ‘नो भोट’ मा उत्रिएको बताए । ‘हामी दु:खीको कुरा सरकारले सुनिदिएन, वर्षौंदेखि यही समस्या व्यहोरिरहेका छौ,’ उनले भने, ‘दुवै जिल्लाले समस्या सुल्झाउन सकेका छैनन्, त्यही भएर मतदान बहिष्कार गर्‍यौं ।’

बालुवाको काम गर्दै आएका उनीसहितको माझी दनुवार परिवारले यही समस्याका कारण अनेक सास्ती व्यहोर्नुपरेको छ । दोसाँधमा रहेका स्थानीयको पीडालाई महसुस गर्दै चौतारा साँगाचोक गढी नगरका अगुवा रोशन गिरीले सीमा विवाद अन्त्य गर्न पहल गरिरहेको बताए । पीडितलाई साथमा लिएर ०३३ सालको मन्त्रिपरिषद् निर्णय कार्यान्वयन गराउन सरकारी कार्यालय तथा राजनीतिक दलको ढोका धाएको चार वर्ष बिते पनि केही पहल नभएको उनको भनाइ छ । ‘सीमाना स्पष्ट भएकाले छिटो समस्या समाधान होस्, हाम्रो समस्यालाई हल गर्न सरकार नलागेसम्म ‘नो भोट’ अभियान जारी रहन्छ,’ उनले भने, ‘पीडितले लालपुर्जा पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ सुनकोसी र इन्द्रावतीले सिमाना बनाएको बीचको भागमा पर्ने यो क्षेत्र अरनिको राजमार्गभित्र र केही घर त्यसभन्दा माथि छन् । उनीहरूसँग नागरिकता, मतदाता, परिचयपत्र र तिरो तिरेको रसिद काभ्रेको छ, तर घरजग्गाको नक्सा भने सिन्धुपाल्चोकको छ  ।

तुलसी गिरी प्रधानमन्त्री हँुदा ०३३ माघ २८ को मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित गरियो । सुनकोसी र इन्द्रावती नदीलाई सिमाना मानेर वारिपारि सिन्धुपाल्चोक र काभ्रे हुने निर्णय मन्त्रिपरिषदले गरेको थियो । ०३८ सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य गोविन्द उप्रेतीले निर्णयविपरित ती गाउँलाई काभ्रेको भूभाग भनी दाबी गरे । २०४३ सालमा नापी महाशाखाले सुनकोसी र इन्द्रावती नदीवारिका बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रेबेंसीलाई सिन्धुपाल्चोकको क्षेत्रधिकारभित्र राख्यो । त्यतिबेला सिन्धुपाल्चोक साँगाचोक गाउँका प्रधानपञ्च जनक गिरीले उप्रेतीसँग यस विषयलाई लिएर खुबै संघर्ष गरे । तर ०४३ सालमा नापीले यी गाउँ सिन्धुपाल्चोकभित्र पर्छन् भनेर स्पष्ट नक्सा दिँदा पनि राष्ट्रिय पञ्चायतमा रहेका उप्रेतीले ०४५ सालदेखि कित्ता नापी गर्ने सरकारी अभियानलाई रोक्का गरिदिए, त्यसयता यो क्षेत्रमा थप कित्ता नापी भएको छैन ।

प्रकाशित : मंसिर ६, २०७९ ०४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?