१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

दनुवार बस्तीका दु:ख

सिन्धुलीको कमला खोंचको दनुवार बस्तीमा शिक्षा, स्वास्थ्य, सिँचाइजस्ता आधारभूत पूर्वाधारको समेत अभाव
विद्या राई

सिन्धुली — निमोनिया जितेकी भए डेढ वर्षकी नातिनी अहिले हजुरबुबाको काखमा लुटुपुटु गरिरहेकी हुन्थिन् । सिन्धुलीको दुधौलीस्थित मदन भण्डारी राजमार्ग छेवैमा घर भएका ६० वर्षीय जीवनाथ दनुवारले एक वर्षअघिको घटना सुनाए । सात महिनाकी नातिनीको उपचार गर्न जनकपुर अस्पताल पुर्‍याइयो । भेन्टिलेटरमा राखेर उपचार गर्दा झन्डै पाँच लाख ऋण लाग्यो । तर नातिनी बाँचिनन् । ब्याज थपिने डरले एक कट्ठा १० धुर ऐलानी जग्गामध्ये आधा बेचेर ऋण तिरे । सम्पत्तिको नाउँमा अब झुप्रो घर मात्रै बाँकी छ ।

दनुवार बस्तीका दु:ख

सानैदेखि जमिनदारको हरूवाचरुवा बसेर जीविका गर्दै आएका जीवनाथको सुखका दिन कहिल्यै आएनन् । नातिनी बितेपछि हलो जोत्दै गर्दा गोरुले हानेर छोरो घाइते भए । उपचार गर्दा ८० हजारजति ऋण लाग्यो । उनकी श्रीमती उच्चरमन्तीको २० वर्षदेखि आँखा रसाउने, दुख्ने समस्या थियो । लहानमा गएर उपचार गरे । आँखा दुख्न निको पारेर घर फर्किंदा कान नसुन्ने भएकी छन् । जीवनाथ आफैंलाई तीन महिनादेखि घुँडा दुख्ने समस्या छ । उनले सकी नसकी बनिबुतो नगरे चुलो बल्दैन । ‘उपचार गर्न पैसा छैन । छोरा र बूढीलाई उपचार गराउँदाकै तिरेको छैन, ऋण गर्न साहु महाजनले दिँदैन,’ उनले भने ।

संविधानमा हरेक नागरिकलाई नि:शुल्क आधारभूत स्वास्थ्य सेवाको अधिकार उल्लेख छ । सरकारले स्वास्थ्य बिमाको अभियान पनि चलाउँदै आएको छ । तर बनिबुतो गरेर जीविका चलाउँदै आएका जीवनाथ परिवारजस्तै दनुवार समुदायलाई राज्यका कार्यक्रम र अभियानले कहिल्यै छुँदैन । दुधौलीको तल्लो खुट्टेपानीमा सय घरधुरी दनुवार बसोबास छ । सदियौंदेखि खेतीपाती र पशुपालन गर्दै आएका यो समुदायमा गरिबी र अशिक्षा व्याप्त छ । दुधौली नगरपालिका–३ की वडाध्यक्ष भद्राकुमारी माझीले भनिन्, ‘यहाँ जनजाति (दनुवार) र दलित समुदायको बाहुल्यता छ । गरिबी छ, रोजगारी छैन, प्राय: सुकुम्बासी छन् ।’

गाउँमा कमाइ खाने बाटो नभएपछि जीवनाथका छोराबुहारी पाँच महिनाअघि काठमाडौं पसे । उपचार गर्दाको ऋण तिर्न कुखुरा फार्म खोलेका छन् । खानकै दु:खले अरू तीन छोरीलाई सानैमा विवाह गरेर पठाइदिए । घरमा जीवनाथ दम्पती छन् । दुवै अशक्त छन् । हिउँद लागेपछि कमला नदी र जंगलबाट चिसो सिरेटो चल्छ । बाँस र टायलले बारेको घरले सिरेटो छेक्दैन । शीत परेर छानो चुहिन्छ । न्यानो लुगा, डसना किन्ने पैसा छैन । न्यायो हुन आगो बाल्नुपर्छ । दाउरा लिन चुरे पुग्नुपर्छ । ‘परालमै सुत्थ्यौं, पराल नै ओढ्थ्यौं कस्ता दु:ख काटेर आइयो,’ जीवनाथ पिरोलिन्छन्, ‘गत्तिलो घरमा बस्न पाएको भए, न्यायो राख्न पाएको भए, नातिनीलाई निमोनियाले लग्दैनथ्यो होला ।’

मदन भण्डारी राजमार्ग आसपास बसोबास गर्ने दनुवारहरू पहिले कमला नदी किनारतिर बस्थे । नदीमा बाढी आएर खेती र बस्ती नै बगेपछि वन फाँडेर ऐलानीमा बस्न थालेका हुन् । अधिकांश दनुवार समुदायको घर अस्थायी खालको छ । ‘खानलाई जोहो गर्दागर्दै ठिक्क हुन्छ । बलियो, न्यानो घर बनाउने क्षमतै पुग्दैन, बर्खामा झरी, हिउँदमा शीत चुहिन्छ । सुत्केरी र काखका बच्चा, बूढाबूढीलाई स्वास्थ्य समस्या हुने गर्छ,’ स्थानीय स्वास्थ्य स्वयम्सेविका सरिता मिजारले भनिन् । यतिमात्रै होइन, चुरेको खहरेका गेग्रानले बर्सेनि बाली र घर छोप्छ । हात्तीका बथान बस्ती पसेर बाली नष्ट पार्छन् । घरहरू भत्काइदिन्छ । ‘खहरेले घर पुरिएला भन्ने डर, हात्तीले उधिन्देला भन्ने डर, हाम्रो जिन्दगी डरैडरमा बितेको छ,’ स्थानीय मायावती दनुवारले भनिन् । खेतीपातीमा बदलाव आइदिएको खण्डमा महाभारत र चुरे काखका दनुवार बस्तीले भोकमरीको संकट बेहोर्नुपर्छ ।

दनुवार महिलाहरू चोयाको ढकिया, मान्द्रो बुनेर पनि आयआर्जन गर्थे । खेतीपाती भित्र्याएपछि पुस, माघ र फागुनमा दनुवार परिवारमा हरेक महिला ढकिया, मान्द्रो बुन्थे । ६२ वर्षीया मुन्डी दनुवार एउटा मान्द्रो बेचेर चार हजारसम्म कमाउँथिन् । बेच्न जान बजार पुग्नुपर्थेन । किन्ने मान्छे गाउँमै आइपुग्थे । बिस्तारै जंगलमा चोया पाउन छाड्यो । ‘अब त बिटा लिन (चोया लिन) चुरे पुग्नुपर्छ, बास बस्दै जानुपर्छ,’ उनले भनिन्, ‘धेरै टाढा जानुपर्ने भयो, हात्ती, बाघको डर हुन्छ ।’ यसपछि उनको आयआर्जन बन्द भयो ।

अभावको जीवनसित भुक्तभोगी भइसकेका उनीहरूलाई कसरी गुजारा चलाउने भन्नेकै चिन्ता हुन्छ । सम्पत्ति दोब्बर, तेब्बर बनाउने लोभमा राजमार्ग छेवैको यो बस्तीले बेलाबखत ठगीको समस्या बेहोर्दै आएको छ । गत असारमा एक वृद्ध दम्पतीबाट मायावती दनुवार ३ लाख ५० हजार नगद र झन्डै चार तोला सुन ठगिएकी थिइन् । अपरिचित वृद्ध दम्पती राजमार्गकै बाटो भएर सर्प नचाउँदै बस्ती छिरेका थिए । त्यस साँझ मायावतीको घरमा बास बसे । भोलिपल्ट ठगेर गए ।

पूर्वी नेपाल र काठमाडौंलाई जोड्ने मदन भण्डारी राजमार्ग उनीहरूको बस्ती भएर जान्छ । उनीहरूका बस्तीमा भने शिक्षा, स्वास्थ्य, सिँचाइजस्ता पूर्वाधारको अभाव कहिल्यै हटेन । खेती गर्न सिँचाइको कुलो छ । त्यसले सिजनअनुसारका तरकारी खेती गर्न पानी पुग्दैन । दनुवार समुदायलाई पाइप किनेर सिँचाइ गर्ने आर्थिक क्षमता पुग्दैन । दनुवार एक युवा कतारमा सात वर्ष काम गरेर डेढ महिना अघि घर फर्के । विदेशमा सिकेको कृषिको सीपअनुसार खेती गर्ने सोच बनाए । तर, हात्ती आउने, खहरे उर्लिने र सिँचाइ समस्याले गर्दा द्विविधामा छन् । रोजगारी अभावकै कारण यहाँका अधिकांश घरका युवा रोजगारीका लागि अन्यत्र गएका छन् ।

दनुवार बस्तीपारि डकाहा बजार छ । स्वास्थ्य चौकी र स्कुलको अलि राम्रो सुविधा छ । मुद्दा मामिला मिलाउन त्यहीँको प्रहरी चौकी पुग्नुपर्छ । तर सिधा बाटो नहँुदा तीन किमि घुमेर जानुपर्छ । ‘पहिले बाटै थिएन, बर्खा तर्न नसकेर बच्चाहरू पढ्न जानै छाडे । मान्छे वर्षैपिच्छे बगेर मर्थे, दुई वर्षजति भयो कमला नदीमा पुल बनेको तर घुमाउरो पर्ने हुँदा हामीलाई पायक पर्दैन,’ दनुवार अगुवा मुसो अधिकारी दनुवारले भनिन्, ‘यो बस्तीलाई सिधा आउजाउ हुने गरी झोलुंगे पुल हाल्ने भनेर परारै सर्भे गरेको थियो, बनेको छैन ।’ उनीहरूको राजनीतिक र प्रशासनिक तहमा पहुँच पुग्दैन भन्ने उदाहरण हो यो । ‘नेता चुनावका बेला आउँछन्, जित्छन्, काठमाडौं बस्छन्,’ जीवनाथले भेटमा भनेका थिए । दुधौलीका नगर प्रमुख दिनेश अधिकारी दनुवारले पुस्तौंदेखि शिक्षाको कमी, आर्थिक, राजनीतिक, सामाजिक पहुँचमा कमीले गर्दा जीवनस्तर कमजोर रहेको बताए । ‘विपन्न वर्गको जनसंख्या बढी छ । दलित, विपन्न परिवारका लागि सीपमूलक, रोजगारी सिर्जना गरेर, बालकक्षादेखि प्रौढ कक्षासम्म शिक्षामा जोडेर जीवनस्तर सुधार्ने योजना छ,’ उनले भने ।

प्रकाशित : मंसिर ७, २०७९ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?