मतगणनास्थलमा तारजाली र सिसिक्यामेरा

कृष्ण थापा

नुवाकोट — दुईवटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा निर्वाचन अधिकृतको कार्यालयभित्र मतगणनास्थल निर्माण गरिएको छ । मतपेटिका राखिने ठाउँ र मतगणनास्थलमा रडसहित तारजाली वाइल्डिङ गरेर पक्की बनाइएको छ । सिसिक्यामेरासमेत जडान गरिसकेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मदनबहादुर धामीले बताए ।

मतगणनास्थलमा तारजाली र सिसिक्यामेरा

क्षेत्र नं. २ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतगणना गर्न नुवाकोट अदालत भवनको तीनवटा कोठामा ४ वटा मतगणनास्थल बनाइएको छ । तारजाली बाहिर राजनीतिक दलका उम्मेदवार र प्रतिनिधि बस्नेछन् । मतपेटिका ल्याइएपछि प्रत्यक्ष र समानुपातिकतर्फको छुट्टाछुट्टै मतपेटी राखिने कार्यालय जनाएको छ ।

क्षेत्र नं. १ निर्वाचन अधिकृको कार्यालयले तादी गाउँपालिकाको कार्यालयमा मतगणना गरिने जनाएको छ । त्यहाँ प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चारवटा मतगणनास्थल बनाई सकिएको कार्यालयले जनाएको छ । मतगणनालाई सुरक्षित राख्न तारजाली र सिसिक्यामेरा जडान गरिएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालले बताए ।

रसुवामा पनि निर्वाचनको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले बताए । सुरक्षाकर्मीको साथमा सम्पूर्ण कर्मचारीहरू मतदान केन्द्रमा आवश्यक सामग्रीसहित दुई दिन अगाडि नै मतदानस्थलमा पुगिसकेका छन् । एक प्रतिनिधि र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रसुवामा अस्थायी र स्थायी गरी ३६ मतदानस्थल र ५४ केन्द्र छन् । निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मीहरू परिचालन भइसकेका छन् ।

जिल्लाको भौगोलिक विकटतालाई मध्यनजर गर्दै निर्वाचनको सुरक्षालाई मजबुत बनाउन सबै सुरक्षा निकाय परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘निर्वाचनमा तीन घेरामा सुरक्षाकर्मी परिचान गरेका छौं,’ उनले भने, ‘पहिलो घेरामा म्यादी प्रहरी तथा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना परिचालन हुनेछन् ।’

निर्वाचनका लागि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी करिब एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । रसुवामा ३९ हजार ४ सय ५९ मतदाता रहेका छन् ।

यसैगरी मकवानपुरका दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि भएको मतदानको मतगणना हेटौंडा उपमहानगरपालिका–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका कक्षाकोठामा गरिने भएको छ । आइतबार बेलुकासम्म सबै क्षेत्रका मतपेटिका ल्याएर मतगणना सुरु गर्ने तयारी छ ।

मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसिटीभी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । मकवानपुरका दुईवटा प्रतिनिधिसभाका लागि चारवटा कोठामा र चारवटा प्रदेशसभाको चारवटा कोठामा एकैपटक मतगणना गर्ने तयारी गरिएको उनले बताए । निर्वाचन सुरक्षाका लागि मकवानपुरमा ३ हजार २ सय सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।

प्रकाशित : मंसिर ४, २०७९ ०६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?