मतदान गर्न जानेलाई सित्तैमा बस–खाना

राजकुमार कार्की

चियाबारी, सिन्धुली — ‘रिजर्भ’ लेखिएको बस शनिबार मध्याह्न सिन्धुलीको चियाबारीस्थित एक होटल अघिल्तिर रोकियो । समूहमा खाना खान बसेका सर्लाही ईश्वरपुर नगरपालिका–२ का महादेव यादवले भने, ‘पार्टीको खाइँदै छ ।’

मतदान गर्न जानेलाई सित्तैमा बस–खाना

सामाजिक सञ्जालमा मतदानका लागि सर्लाही जान चाहनेका लागि सम्पर्क ठेगाना पाएपछि यादव त्यसैमार्फत जिल्ला आएका हुन् । जसमा बससहित आउने, जाने र बाटोमा खाने व्यवस्था पनि गरिएको हो । बसमा आउनुअघि उनलाई राजनीतिक आस्थाका बारेमा सोधिएपछि बस छुट्ने स्थान कोटेश्वर बोलाइएको थियो । यादव जस्तै बसभरिका मतदाता गाडी व्यवस्था गर्ने दललाई नै मतदान गर्ने विश्वास दिलाएर सित्तैमा गाउँ फर्किइरहेका थिए ।

बीपी राजमार्गमा काठमाडौंतिरबाट आउँदा सिन्धुलीगढीबाट ओरालो झरेपछि फेदीमा आउने चियाबारी बजार खाना तथा खाजाका लागि प्रख्यात छ । चियाबारी बजारमा दर्जनौं संख्यामा रिजर्भ लेखिएका बस, तथा साना सवारी शनिबार खाना–खाजाको लाइनमा थिए ।

आइतबार मतदानको दिन सवारी बन्द हुने भएकाले मतदाता कोचाकोच गरेर बसमा सवार थिए । अर्को बसबाट उदयपुरको कटारी जाँदै गरेका रमन राइले भने, ‘मतदाता नामावलीमा गाउँबाटै नाम भएकाले घर जानका लागि कोटेश्वर आएको थिए । कुनै गाडीमा सिट पाइएन । चिनजानको साथीले रिजर्भ गरेको गाडीमा जाऔं भन्यो । मिलीजुली सित्तैमा आउन पाइयो ।’

पूर्वी जिल्लाहरूलाई संघीय राजधानीसँग जोड्ने छोटो र सजिलो बीपी राजमार्ग भएर घर फर्किनेको संख्या तीन दिनयता धेरै छ । सिन्धुलीका ट्राफिक प्रमुख जेजंग कार्कीका अनुसार शनिबार दिउँसोसम्म ७ हजारको हाराहारीमा सवारी साधन पास भइसकेका छन् । मतदानको अघिल्लो दिन भएकाले नौ हजार सवारीसाधन सिन्धुली हुँदै पूर्वतिर जाने हुने उनको आकलन छ । शुक्रबार ११ हजार, बिहीबार ८ हजारभन्दा बढी सवारी पास भएको ट्राफिक कार्यालयले जनाएको छ ।

निर्वाचनमा मत हाल्नका लागि मतदाताले सवारीसाधन भरिएको हुनाले सकेसम्म कष्ट नहोस् भनेर परैबाट नम्बर इन्ट्री गरी पठाइने गरेको कार्कीले बताए । सिन्धुलीका प्रजिअ रमेश न्यौपानेले मतदान गर्नका लागि घर फर्किनेको लर्कोले चुनावप्रति बढ्दो उत्साहको संकेत गरे । ‘संविधान कार्यान्वयनले पूर्णता पाएसँगै दोस्रो पटक हुन लागेको आम निर्वाचनमा भोट हाल्न मतदातामा उत्साह र उमंग छाएको छ,’ उनले भने, ‘बीपी राजमार्ग भएर पूर्वी नेपालका सबैजसो जिल्ला जान प्रयोगमा आउँछ । पूर्वको ठूलो भूगोल र मधेस प्रदेश जान बीपी राजमार्ग प्रयोग हुने भएकाले चाप हुनु स्वभाविक नै हो । यहाँबाट जानेको सुरक्षा र सहजतामा हामीले सक्दो प्रयास गरेका छौं ।’

निर्वाचनमा एक मतले पनि हारजित हुने भएकाले पछि थकथक नलागोस् भनेर गाउँ गइरहेको धनुषाका वीरबल चौधरीले बताए । उनी राजधानीमा व्यवसाय गरेर बस्छन् । उनी जस्ता धेरै घर फर्किइरहेका थिए । बीपी राजमार्ग छोटो दूरीको भएकाले समयमा नै घर पुगिने भन्दै निर्वाचनको अघिल्लो दिन मात्र आएका उनी चियाबारीमा खाना खाँदै गरेका भेटिए । मत हाल्न पाउनु नैसर्गिक अधिकार भएकाले त्यसको प्रयोग गर्न आफूहरू फर्किएको उनले बताए । मत हालेर राम्रो उम्मेदवारलाई जिताउने र घरमा समेत परिवारजनसँग भेटघाट हुने भएकाले चाडकै रूपमा लिएको उनले बताए ।

बीपी राजमार्ग भएर खुर्कोटसम्म आएपछि पूर्वी पहाडी जिल्लाहरू ओखलढुंगा, उदयपुर, खोटाङ, सोलुखुम्बु, भोजपुर, ताप्लेजुङसम्म मध्यपहाडी लोकमार्ग भएर पुगिन्छ । अर्कोतिर मदन भण्डारी राजमार्ग भएर पूर्वी जिल्ला तथा सिन्धुलीकै मरिण क्षेत्र जान सजिलो हुने भएकाले पनि बीपी राजमार्गमा यतिखेर चाप छ ।

प्रकाशित : मंसिर ४, २०७९ ०६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?