रसुवागढी नाका बिहीबार मध्यरातदेखि बन्द हुने- वाग्मती - कान्तिपुर समाचार

रसुवागढी नाका बिहीबार मध्यरातदेखि बन्द हुने

बलराम घिमिरे

रसुवा — आसन्न निर्वाचनलाई लक्षित गरी उत्तरी सीमानाका रसुवागढी बिहीबार मध्यरातदेखि बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टाअगाडि नै नाका बन्द गर्नुपर्ने भएकाले बिहीबार मध्यरात १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्मका लागि नाका सिल गरिन लागेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । 

कोरोना महामारीपछि रसुवागढी नाकाबाट आयात मात्र भइरहे पनि सामान निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द छ । अहिले नाकाबाट दिनहुँ १४ वटा चिनियाँ कन्टेनरमा सामान आयात भइरहेको छ ।

रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । यहाँबाट तयारी कपडा, स्याउ, जुत्ताचप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ । नेपालबाट चीनतर्फ पस्मिना, गलैंचा, बाँसको मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइंगमलगायत वस्तु निर्यात हुँदै आएको थियो ।


प्रकाशित : मंसिर १, २०७९ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्

जुम्लामा करेन्ट लागेका युवाको उपचारका क्रममा मृत्यु 

डीबी बुढा

जुम्ला — जुम्लामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । तातोपानी गाउँपालिका-५ का १९ वर्षीय राजेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

सोलारको पोल ठड्याउँदै गर्दा बिजुलीको तारसँग छोइएर रावतलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका रावतको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उनले बताए । करेन्ट लागेर सोही वडाका २८ वर्षका शंखु चौलागाईं र धनवीर रावत सामान्य घाइते भएका छन् । घाइते रावतको उपचारपछि डिस्चार्ज भएको र चौलागाईंको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : मंसिर १, २०७९ २०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×