प्रदेशसभा उम्मेदवारलाई पनि घरदैलोको चटारो- वाग्मती - कान्तिपुर समाचार

प्रदेशसभा उम्मेदवारलाई पनि घरदैलोको चटारो

प्रतिनिधिसभा सदस्यका उम्मेदवार र तिनका एजेन्डाको बढी चर्चा भइरहे पनि आगामी ५ वर्षका योजनासहित प्रदेशसभा उम्मेदवार पनि प्रचारमा
मधु शाही

काठमाडौँ — आगामी मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभातर्फका उम्मेदवार र तिनका चुनावी एजेन्डाको जति चर्चा छ, प्रदेशसभातर्फका उम्मेदवारको छैन । तर, पनि उनीहरू मतदाता आकर्षित गर्न चुनावी घरदैलो (डोर टु डोर) कार्यक्रममा उत्तिकै सक्रिय छन् । ५ वर्षका लागि आफ्ना चुनावी एजेन्डाहरू प्रत्यक्ष भेटेर र पर्चा, पम्पलेट, सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट मतदातामाझ पुर्‍याइरहेका छन् । 

संघीय शासन व्यवस्थामा प्रतिनिधिसभाजस्तै अधिकार र जिम्मेवारीका हिसाबले प्रदेशसभा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । प्रदेशसभा सदस्य छान्न एकैसाथ हुन लागेको निर्वाचन, उम्मेदवारहरूका चुनावी मुद्दा तथा स्थानीय स्तरमै समस्या पहिचान गरी नीतिगत तथा व्यावहारिक रुपमा समाधान गर्ने विषय ओझेलमा पर्नु नहुने तर्क सरोकारवालाको छ । कतिपय उम्मेदवार संघीय सरकार र सदनको छायाबाट प्रदेशसभा र सरकारलाई मुक्त गर्नु पर्ने एजेन्डासहित निर्वाचनमा होमिएका छन् ।

बाग्मती प्रदेशसभा सदस्य बन्न काठमाडौं, ललितपुर र भक्तपुरका ३० क्षेत्रमा गरी कुल ३ सय ४० उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये १ सय २० जना स्वतन्त्र उम्मेदवार हुन् । उमेरका हिसाबले ४० वर्षसम्म ४१ जना छन् ।

काठमाडौ–१ (१) बाट उम्मेदवारी दिएका सम्राट सापकोटाको दिनचर्या अहिले जनताको घरदैलो पुग्दैमा बित्ने गरेको छ । पेशाले उनी निर्देशक तथा कलाकार हुन् । चलचित्रको पर्दादेखि टेलिभिजनको पर्दामा सापकोटालाई देखिरहेका जनताले अहिले प्रत्यक्ष भेट्न र आफ्ना समस्या सुनाउन पाएका छन् । उनले चलचत्रिमा पनि नेताको भूमिका निभाइसकेका छन् । ‘रिलमा नेताको रुपमा धेरै अभिनय गरें, अहिले रियलमै नेताको पहिचान बुझाउन राजनीति रोजेको हुँ,’ स्वतन्त्र उम्मेदवारी दिएका उनले भने ।

पटक–पटक व्यवस्था परिवर्तन भइरहे पनि नागरिकले सामान्य जीवनयापनका आवश्यकता गाँस, बास, कपास नै सहज रुपमा पाउन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । शिक्षा, स्वास्थ्यको अवस्था नाजुक भएको, देशको परनिर्भता बढ्दै गएको र गुन्द्रुकसमेत किनेर खानुपर्ने अवस्थाले आफूलाई पिरोल्ने गरेको उनले सुनाए । ‘कलाकार हुँ, त्यो भन्दा पहिला देशको नागरिक हुँ,’ उनले भने, ‘देश नै जोखिममा रहे कला कहाँ रहला र ? त्यसैले देश जोगाउन प्रदेशसभा पहिलो खुड्किलो हो ।’

प्रदेस सभा सदस्यकै अर्का स्वतन्त्र उम्मेदवार हुन्, अभियानकर्मी जगन्नाथ लामिछाने । उनी काठमाठौं–५ (२) का उम्मेदवार हुन् । ‘अकुपाई बालुवाटार’ आन्दोलनमा सक्रिय भएर चर्चा बटुलेका उनी सामूहिक हित राजनीतिबाटै हुने भएकाले त्यही बाटो रोजेको बताए । उनी आफ्ना प्रतिवद्धता समेटिएको पर्चासहितको खाम बोकेर मतदाताको ढोकाढोकामा पुगिरहेका छन् । ‘विचार र जनताको चासोका मुद्दा उठाएर विजय हासिल गर्नुपर्छ,’ उनले भने । खासगरी देशलाई आर्थिक भारदेखि जोगाउन मन्त्रीमण्डल संख्या कम गर्नुपर्ने उनको तर्क छ । ‘प्रदेशसभाका लागि धेरैमा ७ जनाको मात्रै मन्त्रीमण्डल भए पुग्छ । जनताको दैनिक आवश्यकता पूरा गर्ने नीति र योजना बनाउने, संघीयतालाई काम गर्न दिनुपर्छ,’ उनले आफ्ना एजेन्डा सुनाए । आफू राजनीतिमा आउनुको पछाडि पुराना दल र नेताको अवगुण कारण रहेको उनको भनाइ छ । ‘राम्रा नेताहरू पुराना दलहरूले दिन सकेनन्,’ उनले भने, ‘त्यसैले आफैं परीक्षामा होमिएको हुँ ।’

स्वतन्त्रसँगै विभिन्न दलका उम्मेदवारहरू पनि प्रदेशसभाको चुनावी दौडमा छन् । स्वतन्त्रले आफ्नो एकल एजेन्डा प्रचार गर्दै आएका छन् भने दलका उम्मेदवारहरू समानुपातिक र प्रत्यक्ष दुवैतर्फ भोट मागिरहेका छन् । काठमाडौं–७ (१) मा एमालेबाट उम्मेदवार रहेका जीवन मानन्धरले आफू जित हासिल गर्नेमा निर्धक्क रहेको सुनाए । यो क्षेत्रमा काठमाडौं महानगरपालिका–१६, १७, १८ र २३ पर्छ । जसमध्ये उनी बस्ने वडा–१६ सबैभन्दा बढी मतदाता भएको वडा हो । कुल ४१ हजार मतदातामध्ये यो वडाको मतदाता संख्या मात्रै २० हजार ७ सय छ । ‘यसअघि ५ वर्ष वडा सदस्यका रूपमा काम गरें । जसले मतदातासँग गहिरो परिचय बनाउन सघायो । यसपल्टको निर्वाचनमा यही आधार नै मेरो जित्ने जग हो,’ उनले भने ।

पछिल्लो समय पुरातन रूपमै पार्टी हेरेर मत दिने निर्वाचनको शैली फेरिएकोमा भने उनी जानकार छन् । ‘अचेलका मतदाताले पार्टी हेर्न छोडेका छन्,’ उनले भने, ‘एजेन्डादेखि उम्मेदवारका व्यवहारसमेत मूल्यांकन गर्छन्, त्यसैले म व्यक्तिगत आचरणमा सचेत छु ।’ प्रदेशको सांस्कृतिक सम्पदाको जर्गेना, युवा रोजगारीको व्यवस्था, शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी बनाउने उनका मुख्य चुनावी मुद्दा हुन् ।

त्यस्तै, काठमाडौं–१ (२) मा कांग्रेसका उम्मेदवार छन्, सुरजचन्द्र लामिछाने । प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशमान सिंहसँगै उनी घरदैलो गरिरहेका छन् । ठूला नेतासँगै मत माग्न जाँदा मतदाताको ध्यान केन्द्रित गराउन सजिलो हुने उनको अनुभव छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई लिएर प्रतिबद्ध रहेको बताउने उनका भौतिक पूर्वाधारमा दिगो विकास, सामाजिक विकास, युवा स्वावलम्बी कार्यक्रम, भाषा, कला र संस्कृतिको उत्दान, फोहोरमैला व्यवस्थापन तथा सरसफाइ, समन्वय, सहकार्य र साझेदारीलगायत ७ बुँदे योजना छन् । प्रदेशका मुख्य सहरमा सूचना प्रविधिको पहुँच बढाउन सार्वजनिक स्थलहरूमा निःशुल्क वाईफाई जोनको व्यवस्था गर्ने कार्यक्रम पनि उनको घोषणापत्रमा छ ।

उपत्यकाकै अर्को क्षेत्र काठमाडौं–८ (२) मा कांग्रेसका उम्मेदवार अमिन पाण्डे नयाँ अनुहार हुन् । उनले ५ दलीय गठबन्धनको साथ र युवा उम्मेदवार भएकाले जित्ने दाबी गरे । ‘मतदाताले काम गर्न सक्ने युवा उम्मेदवार खोजेका छन्,’ उनले भने, ‘समाजसेवी पनि भएको हुनाले सजिलो लागिरहेको छ ।’

ललितपुर–३ (१) बाट रघुनाथ महर्जन पहिलोपटक एमालेबाट उम्मेदवार भएका छन् । उनले पार्टीको घोषणापत्रमा स्थानीय विकासका मुद्दा जोडेर मैदानमा उत्रिएको बताए । ‘सबैले पत्याउँछन् भन्ने लागेको छ । यही क्षेत्रमा लामो सायदेखि राजनीतिक यात्रामा छु,’ उनले भने । भक्तपुर–२ (१) मा कांग्रेसबाट उम्मेदवार बनेका विष्णुराज कार्कीले प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी माहोल बनाएको जिकिर गरे । ‘दिगो विकासका लागि पूरा ५ वर्ष प्रदेश सरकार टिकाउनुपर्छ,’ उनले भने, ‘राजनीतिक आवरणमा विकास–निर्माणमा देखिएका विकृति निर्मुल गर्ने, सुशासन स्थापना गर्ने मेरा मुख्य चुनावी मुद्दा छन् ।’

विवेकशील साझा पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका रामहरि अधिकारी अहिले दलीय राजीतिमा सक्रिय छैनन् । तर, राजनीतिको लत भने छुटेको छैन । उनले लोरो चुनाव चिन्ह लिएर काठमाडौं–५ (१) बाट उम्मेदवारी दिएका छन् । उनका लागि प्रदेशसभाको निर्वाचन अनुभव दोस्रो पटक हो ।

२०७४ को निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका उनले ४ हजार ४२ सय मत प्राप्त गरेका थिए । तर अन्तरिक विवादले पार्टीका नेता छिन्नभिन्न भएपछि उनले अहिले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताउछन् । घरदैलो गर्ने क्रममा मतदाताले युवा उम्मेदवारका कुरा चासोका साथ सुन्ने गरेको र पार्टीप्रतिको वितृष्णा पोख्ने गरेको उनले सुनाए । ‘यसले जनता परम्परागत पार्टीप्रति निराश भएको संकेत गर्छ । यही भरोसामा चुनाव पनि जित्ने आश छ,’ उनले भने ।

प्रकाशित : कार्तिक ३०, २०७९ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्

‘जसलाई जिताए पनि दु:ख हट्ने होइन’

मधु शाही

काठमाडौँ — चुनावताका खुबै आश्वासन देखाएर भोट माग्ने उम्मेदवारको प्रवृत्तिप्रति सिन्धुलीका नारायण थापा जानकार नै छन् । उनले २० वर्षदेखि मत खसाल्दै आएका छन् । स्थानीय तहको होस् या प्रतिनिधिसभाको निर्वाचनमा उनलाई थुप्रै लोभ देखाएर मत खसाल्न काठमाडौंदेखि सिन्धुली पुर्‍याउने उम्मेदवार आउँछन् । तर, यो पटक भने उनले नेताको कुनै पनि भनाइमा विश्वास नगर्ने भएका छन् । 

ज्यामी काम गर्दै आएका ५९ वर्षीय नारायाणको मन २०७४ सालको प्रतिनिधिसभाको चुनावमा भाँचिएको हो । उम्मेदवार जिताउन उनी गएको चुनावमा कामै छोडेर घर पुगे । चुनावभरि खान दिए । छोरीलाई जागिर खुवाउने आश्वासन दिएका नेताले जितेपछि एक पटक न फोन गरे न भेट्न आए ।

चार सन्तानका बुबा नारायणले जेठी छोरीलाई जागिर खुवाउन पाए मजदुरी गरेर बुढो ज्यानले सुख पाउला भन्ने थियो । स्नातक तह पढेकी छोरीले बेरोजगार भएको देखेर नारायण खिन्न छन् । उनी बेरोजगार छोरीकै रोजगारका लागि धेरै नेताकोमा धाएको बताउँछन् । स्थानीय तहको निर्वाचनमा पनि उनले छोरीको रोजगार माग गरेका थिए । उनी भन्छन्,‘सबै नेताले हुन्छ भन्छन्, चुनाव जितेपछि चिन्दैनन् ।’

रामेछापका धिमे बुढाथोकीलाई मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चासो छैन । भारी नबोकी उनको परिवार बाँच्न मुस्किल छ । ‘चुनावका बेला नेताहरुले चामलका बोरासमेत ल्याएर फकाउँछन्,’ उनी भन्छन्,‘दुई महिना खाएर पुग्दैन, वर्षभरी दुखै छ ।’

सुर्खेत घर भएका विर्खेबहादुर कामीको १५ वर्ष बागबजारस्थित सडकमा भारी बोक्दैमा बित्यो । तीन जना छोरा भारतमा होटलमा काम गर्छन् । उनी भने पत्नी र आफू पालिन काठमाडौंमा मजदुरी गर्न आएका छन् । भारी बोक्दा बोक्दै उम्मेदवारले चुनावी घोषणापत्रका पर्चा थमाउँछन् । पढ्न जान्दैनन् । उनी भन्छन्,‘हामी अनपढलाई पर्चा दिएर के काम ?’ जति नेता जिताए पनि पाखुरा खियाउने नियतिले छोडेन उनलाई । भोट हाल्नकै लागि विभिन्न पार्टीका उम्मेदवारले टिकट काटेर सुर्खेत लैजाने प्रस्ताव आएको छ । तर, उनले भने यो पाली मत खसाल्न नजाने मनसाय बनाएका छन् ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बिर्खेबहादुर उम्मेदवार जिताउन पार्टीको गाडीमा पुगे । मत खसालेपछि उनलाई काठमाडौं आउन सास्ती पर्‍यो । एक रुपैयाँ भाडा नभएको बताउँदै उनले काठमाडौं फर्किने बेला ऋण गरेर आएको अनुभव सुनाए । ‘जाँदा बसमा मासुभात खुवाउँदै लैजान्छन्, भोट खसालेपछि फर्किने बेला वास्ता गर्दैनन्’, उनी भन्छन्,‘स्वार्थी नेताहरु देखेर दिक्क लागेको छ, यो पटक जादिनँ ।’

बागबजारमै पीपलको रुखमुनि २० वर्षदेखि भारी बोक्ने अवसर कुर्दै आएका सल्यानका सेतु सार्की जुनसुकै निर्वाचन जनता झुक्याउने पर्व भएको ठान्छन् । ६० वर्ष उमेर पुगेका उनी कर्ममा विश्वास गर्छन् । नेताहरुले सधैं झुटो बोल्ने गरेको देखेर उनी निर्वाचनप्रति वितृष्णा जागेको बताउँछन् । ‘भोट हाल्न गए पेट पाल्न गाह्रो पर्छ’, उनी भन्छन्,‘जसलाई जिताए पनि दु:ख हट्ने होइन ।’

बर्दियाको घरमा तालै लगाएर बैना थारु काठमाडौंमा ज्याला मजदुरी गर्न आइन् । एक वर्षदेखि उनी यहीं संघर्ष गरिरहेकी छन् । ज्यामी काम गर्दागर्दै श्रीमान्‌को देब्रे खुट्टा भाँचिएपछि ४० वर्षीया बैनाको आयआर्जन रोकियो । उनी स्कुल पढ्न छाडेका दुई छोरालाई समेत ज्यामी काममा लगाउन बाध्य भइन् । घरमा चुलो बाल्ने आधार गुमाउँदै जानु परेको बैनाजस्ता जनताको पीडा समेट्ने उम्मेदवारका नीति छैनन् । उनी भन्छिन्,‘नेताको पछि लागेर पेट भरिँदैन ।’

नेपाल भारवाहक(भारी बोक्ने) मजदुर संघका अध्यक्ष भक्तबहादुर लामाका अनुसार काठमाडौंमा मात्रै २० हजारभन्दा बढी भारी बोकेर जीविकोपार्जन गर्ने मजदुर छन् । उनीहरुमध्ये धेरैजसोको निर्वाचन, उम्मेदवार र पार्टीका घोषणापत्र प्रतिको विश्वास हराउँदै गएको छ । कपितय मजदुरलाई त भोट भन्दा पनि भोकसँग सरोकार छ ।

संघमा मात्रै आबद्ध भएका ५ हजार मजदुर नेताको कुरामा विश्वास गर्न छाडेर काठमाडौंसम्म पुग्न इच्छुक नदेखिएको बताउँछन् ।

हरेक पटकको चुनावमा भारी बोक्ने मजदुरको समस्या सम्बोधन नगरिएको उनले गुनासो गरे । भरियाको सबैभन्दा ठूलो चुनौति नै स्वास्थ्य र आर्थिक सुरक्षा हो । लामाका अनुसार धेरै भरियाले मजदुरी गर्दा गर्दै घाइते भएको, हात खुट्टा भाँचिएको, भनेको बेलामा ज्याला नपाएको, पूरा ज्याला नपाएको, सामाजिक सुरक्षा नपाएकोलगायत समस्या झेल्दै आएका छन् । उनीहरुको घाउ कुनै पनि उम्मेदवारले महसुस गर्न नसकेको उनले बताए । ‘भरियाको दु:ख घोषणा पत्रमा समेटिएन’, उनी भन्छन् ।

प्रकाशित : कार्तिक २७, २०७९ १२:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×