रसुवामा मतदान अधिकृतलाई तालिम- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रसुवामा मतदान अधिकृतलाई तालिम

बलराम घिमिरे

रसुवा — मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदन अधिकृतलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन कार्यालय रसुवाले सोमबार र मंगलबार गरी निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको हो ।

सदरमुकाम धुन्चेमा रहेको जिल्ला समन्वय समितिको हलामा राखेर तालिम दिएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताए । 'तालिममा निर्वाचन आचारसंहिता, मतदानस्थलमा पुगेपछिको काम, कर्तव्य, अधिकारको बारेमा जानकारी गराइएको थियो,' उनले भने ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कानुन र आचारसंहिताको विषयमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश रामचन्द्र पौडेलले सहभागीहरुलाई जानकारी गराएका थिए । तालिममा ५६ मतदन अधिकृत र ५६ जना सहायक मतदान अधिकृत सहभागी थिए ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले मतदान पूर्वका व्यवस्थापकीय पक्षको विषयमा प्रस्तुत गरेका थिए । निर्वाचान कार्यालयका अनुसार रसुवा जिल्लामा कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र थप भएसँगै ३६ मतदानस्थल र ५४ वटा मतदान केन्द्र छ । रसुवामा ३९ हजार ४ सय ५९ मतदाता रहेका छन् । जसमध्ये महिला १९ हजार ३ सय ४० पुरुष २० हजार १ सय १८ र अन्य १ जना रहेका छन् ।


प्रकाशित : कार्तिक २९, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा प्रिस्टलीको नाटक : 'एन इन्स्पेक्टर कल्स'

सुशीला तामा‌ङ

काठमाडौँ — अंग्रेजी नाटककार जे.बी. प्रिस्टलीले तत्कालीन सामाजिक तथा राजनीतिक परिवेशमा चलेको मानवीय समाजलाई झल्काउन नाटक 'एन इन्स्पेक्टर कल्स' लेखेका थिए ।

सन् १९४५ मा सोभियत संघमा पहिलोपटक नाटकको मञ्चन गरिएको थियो । डिटेक्टिभ अर्थात् जासुस विधामा तयार गरिएको नाटकलाई प्रिस्टलीको महत्त्वपूर्ण सिर्जनाको संज्ञा दिँदै यसलाई नैतिकतावादी नाटकका रुपमा व्याख्या गरिँदै आएको छ । यस नाटकलाई २० औं शताब्दीको मध्यतिर तत्कालीन थिएटरको महत्त्वपूर्ण क्लासिक नाटकका रुपमा मानिन्छ । जुन नाटकले तीनताकको समाज तथा व्यवस्थाप्रति आलोचना गर्दै समाजवादी राजनीतिक सिद्धान्तको अभिव्यक्ति दिएको पाइन्छ ।

पहिलो मञ्चन भएको साँढे दशकभन्दा लामो समयपछि 'एन इन्स्पेक्टर कल्स' नाटक यतिबेला भने नेपालमा आइपुगेको छ । सिनामंगलस्थित 'पुरानो घर' थिएटरमा यही कात्तिक १६ गतेदेखि नाटक मञ्चन थालनी गरिएको हो । नाटकको परिकल्पना तथा निर्देशन रंगकर्मी राजकमल फकिरले गरेका छन् । नाटकको मुख्य कथामा सन् १९१२ ताकाको ब्रिटिश समुदायको परिवेश तथा संरचना समेटिएपनि नेपालमा सन् २०२२ मा आइपुग्दा भने अहिलेकै नेपाली समाज र समय नै नाटकको कथामा भेटाउन सकिन्छ । विदेशी स्रष्टाका पुरानो सिर्जना 'एन इन्स्पेक्टर कल्स'लाई आम नाटक प्रेमीले नेपाली समाजकै परिदृश्यमा हाम्रै वरपरका जस्तै लाग्ने दृश्यहरु देख्न सक्छन् ।

ब्रिटिश समुदायको सट्टामा धनाढ्य उच्च घरानाको मल्ल निवासबाट नाटकको सुरुवात हुन्छ । नाटकमा मुख्य कथा उही एक युवतीको रहस्यमय मृत्युको वरपर नै केन्द्रित हुन्छ । धनाढ्य सौर्य मल्लकी एक्ली छोरी शिलाको इन्गेजमेन्ट उनकै साथीका छोरा उच्च वर्गका शिशिर विक्रम राणासँग हुन लागिरहेको उत्सवको माहोललाई नाटकको पहिलो दृश्यमा प्रस्तुत गरिएको छ । मल्लका छोरा प्रतीक, उनकी श्रीमती मिसेस मल्ल उत्सवमा सहभागी छन् । उत्सवमय माहोलमा एकजना पुलिस इन्स्पेक्टरको प्रवेशपछि नाटकले एक पछि अर्को दृश्य मार्फत तिनै पात्रहरु मार्फत निकै गोप्य रुपमा रहेका कुराहरु खोतल्छन् ।

जुन गोप्य विषय २४ वर्षीया मुना थापाको विष सेवन गरी गरिएको आत्महत्यासँग सम्बन्धित हुन्छ । मुना थापा आत्महत्याको कारण, यस घटनामा मल्ल परिवार र शिशिर विक्रम राणाको संलग्नताको तथ्य तथा कारणहरु, सम्पूर्ण पात्रहरु स्वयंले घटनामा संलग्न भएको बयानसँगै नाटकको कथाक्रम निरन्तर अगाडि बढ्दै जान्छ । इन्स्पेक्टर अतिजले पात्रहरुलाई एक–एक गरी कमजोरी ओकल्न लगाएपछि उनी स्वतः नाटकको दृश्यबाट बाहिरिन्छ । उनको बहिरगमनपछि के मुना थापा उनै मल्लको कम्पनिमा काम गर्ने कामदार नै हुन् र ?, उनको मृत्यु साँच्चै थियो र ? इन्स्पेक्टर अतिज वास्तविक पुलिस नै थियो कि उनीहरुमाथि भ्रम छर्न आएका थिए ? नाटकमा यस्तै रोमाञ्चक तथा उत्सुकतापूर्ण अवस्था सिर्जना भएकै अवस्थामा फोनको घण्टी बज्छ । फोनमा आइरहेको आवाजको संकेत गर्दै, सौर्य मल्ल बोल्छ, 'आज एक जना विष सेवन गरी आत्महत्या गरेको युवतीलाई अस्पताल ल्याइँदैछ । सोधपुछका लागि इन्स्पेक्टर मल्ल निवास आउँदैछ ।' यही दुबिधापूर्ण दृश्यमा नाटकले बिट मार्छ ।

मल्ल तथा राणा परिवार जस्ता कुलीन वर्ग, मुना थापा जस्ता श्रमिक वर्गलाई इंगित गरेर नाटकले नेपालको सामाजिक अवस्थालाई चित्रण गरेपनि मूल सिर्जनाको भावलाई मर्न दिएको छैन । नाटकको केन्द्रिय विषय, पात्रहरुको अवस्था, उनीहरुको वर्ग तथा परिवेश आजको समयमा पनि उत्तिकै सान्दर्भिक लाग्छ । सामाजिक, राजनीतिक, आर्थिक तथा प्रशासनिक क्षेत्रमा कुलीन वर्गको पहुँच, थिचिएको श्रमिक वर्ग, श्रमिक वर्गमाथि गर्ने व्यवहार र यसले उनीहरुमा पर्ने प्रभावलाई नियाल्दा प्रिस्टलीको र हाल निर्देशक फकिरको समय तथा सिर्जना उस्तै लाग्छ । सन् १९१२ को तत्कालीन समाजलाई अहिलेको नेपाली परिवेशसँग संयोजन गरेर रंगकर्मी फकिरले निकै सुन्दर रुपमा प्रस्तुत गरेका छन् । नाटकको घटना र पात्रहरुलाई मूल सिर्जनाकै स्वरुपमा ढालेर हालको समयलाई प्रतिविम्बित गर्नु त्यति सहज पक्कै होइन । र पनि उनले नाटकमा ब्रिटिश समाज होइन नेपाली समाजको रुप निकै सशक्त रुपमा देखाएका छन् ।

नाटकलाई कोरोनाकालको समय चित्रणले अझै बलियो बनाएको छ । मल्ल र शिशिरबीचको स्थानिय चुनावको संवादले सत्ता, शक्ति कसरी कुलीन वर्गका नियन्त्रणमा हुन्छन् भन्ने प्रस्ट पारेको छ । यही समयमा मल्ल कम्पनिमा तलब बढाउने माग राखेकी मुना थापालाई जागिरबाट निकालिनु, उनी बेरोजगार भएर भौतारिनु, मारवाडी वेयर्समा पाएको पछिल्लो जागीर पनि मल्लकी छोरीका कारण छुट्नु, कामकै खोजीमा बारतिर भौतारिने क्रममा शिशिर विक्रम र मल्लका छोरा प्रतीकसँग भेटिनु, उनी गर्भवती भएपछि मिसेस मल्लको 'महिला परोपकारी संस्था'मा सहयोगका लागि आउनु, मिसेस मल्लले उनीप्रति बेवास्ता गर्नु जस्ता विभिन्न घटनाहरुले हालकै समयलाई प्रतिनिधित्व गरेका छन् ।

नाटकले उस्तै गरी आर्थिक स्तरकै आधारमा गरिने सामाजिक विभेदपूर्ण अवस्थामा समाज नै दोषी ठहराउँछ । एक न्यायपूर्ण समाजका बनाउन नाटकले आम मानिसलाई सामाजिक उत्तरदायित्व समानताका लागि एक हुन नैतिकवादतिर डोर्‍याउँछ । केन्द्रिय कथासँगै नाटकले एकातिर नैतिकतावादी नाटकको स्वरुपतिर लैजान्छ भने अर्कातिर जासुसी शैलीलाई चित्रित गरेको छ । नाट्य क्षेत्रको परम्परालाई केलाउँदा नैतिकता नाटकलाई पुरानो नाटकीय रुप मानिन्छ यसबाट दर्शकले सद्गुण र दुर्गुण प्रस्ट्याउन र महसुस गर्न सक्छन् । जासुसी तथा गुप्त विधाले भने अपराधको चिनारीसँगै खोज, अनुसन्धान गरी अपराधी खोजी गर्छ । 'उनीहरुको पृथ्वी खोस्नु भन्दा उनीहरुले मागेको राम्रो'जस्ता नाटकका संवादले श्रमिक वर्गका आवाजलाई बुलन्द गरेको छ ।

नाटकका लागि मञ्चिय व्यवस्थापन सेट भव्य र पूर्ण लाग्छ । कलाकारहरुको अभिनय उत्तिकै लोभलाग्दो छ । मल्ल र राणा परिवार बनेका पात्रहरुमा कुलीन वर्गको रवाफ र शैली झल्कन्छ । जासुसी शैलीमा आएका इन्स्पेक्टर आभास अधिकारीको शारीरिक हाउभाउ, अभिनयमा दुरुस्तै देखिन्छ । नाटकमा सेट डिजाइन निद्र्येशक फकिरले नै गरेका छन् भने प्रकाश डिजाइन श्रवण राणामगरले गरेका छन् । अधिकारीसहित कलाकारहरु विजय ताम्राकार, सारदा अधिकारी, शिशिर सिवाकोटी, सरिता भुजेल, सदिन लुइ“टेल, मोनिका थापाको अभिनय रहेको नाटक मंसिर १२ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित : कार्तिक २९, २०७९ १७:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×