भातपानी मुद्दा खेपेका धरणीप्रसाद भन्छन्- ‘पहिलेजस्तो चुनावी रौनक भएन’

राजकुमार कार्की

सिन्धुली — बिहानीपख घरमा पुग्दा उनी वेदका ऋचा फड्कारिरहेका थिए । चश्माको सहाराले आफ्नै सुरमा लय हालेर पाठ गरिरहेका उनलाई को आयो, को गयो भन्ने हेक्का थिएन । औपचारिकता पूरा गरेर ‘बा’ नमस्कार भनेपछि बल्ल उनले वेदको किताब पट्याएर राखे । जेठो छोराले दाह्री बनाइदिने भनेपछि उनले त्यसको सुरसार गरे । एकैछिनमा सफाचट भएर थोते दाँत देखाउँदै उनी मुसुक्क मुस्कुराए ।

भातपानी मुद्दा खेपेका धरणीप्रसाद भन्छन्- ‘पहिलेजस्तो चुनावी रौनक भएन’

तीनपाटन गाउँपालिका ९ को आम्बोटेमा इतिहासका ज्युँदा साक्षी बनेर बसेका ८८ वर्षीया वृद्ध धरणीप्रसाद घिमिरेले शब्दमार्फत आफ्नो पोको फुकाए । ‘२०१५ सालमा भएको आमनिर्वाचनमा मैले मतदान गरेको हुँ । त्यतिबेला आम्बोटेलाई त्रिभुवन आम्बोटे भनिन्थ्यो । लठ्ठी लिएका केही सुरक्षाकर्मीसहित मतदान गराउन अञ्चलाधीश कार्यालयबाट जिल्ला हुँदै कर्मचारीहरू आएका थिए । लाइनमा बसेर मतदान गरेपछि त्यसलाई पोको बनाएर कर्मचारीहरूले लिएर जान्थे । जीतबहादुर कार्कीलाई मतदान गरेको हुँ । उनले चुनाव जिते ।’

विकास लिएर गाउँमा आउने वाचा बाँधेका जीतबहादुरले पूरा कार्यकाल सांसद हुन नपाएकाले भनेजस्तो गर्न नसकेको भन्दै घिमिरेले बचाउ गरे । उनले भने, ‘पञ्चायत आइगयो त्यसपछि त्यतै लागियो । पञ्चायतको चुनाव पनि बडो रोचक हुन्थ्यो । बाजागाजा बजाएर उम्मेदवारसँगै हिंडेर चुनाव प्रचार हुन्थ्यो । बहुदल आएपछि पनि चुनावी रौनक थियो । सबै ठाउँमा बाटो नहुँदा महिनौँ हिँडेर प्रचार हुन्थ्यो । अहिले त उम्मेदवारहरू हुरुर्र गाडीका लस्कर लिएर कार्यकर्तासहित आउँछन् । आफ्ना कुरा भनेपछि फर्किएर जान्छन् । त्यसपछि भेट हुने अर्को चुनावमा नै हो । यो गर्दिन्छु र त्यो गर्दिन्छु भन्छन्, गर्ने केही होइन ।’

गाउँमा विकास नै नभएको भने होइन, मौसमी मोटरबाटो छ, विद्युत् भर्खरै आएको छ । टेलिफोन छ । तर, जनताको आयस्तर नबढेकोमा धरणीप्रसाद खिन्न छन् । भएको यहि जमिन हो । पुस्तान्तरण हुँदै जाँदा बिघा हुने कठ्ठामा झरे, कठ्ठा हुने धुरमा झरे अनि झन् झन् गरिबी बढ्दै गयो, धरणीप्रसादको बुझाइ थियो । पञ्चायतकालमा गाउँ पञ्चायतको चुनाव हुँदा भक्तिमाया घले प्रधानपञ्च र त्रिभुवन आम्बोटेका ९ वटै वडामा महिला वडाध्यक्ष चुनिएर चलाएको पनि धरणीप्रसादले सम्झिए । बडो दानी र क्षमतावान् महिला थिइन्, भक्तिमाया घले,’ उनले भने, ‘त्यो बेलामा महिलाको समूहले गाउँ पञ्चायत चलाउनु चानचुने कुरा थिएन । हामी सन्तुष्ट थियौं ।’ भक्तिमाया भद्रा घलेकी आमा थिइन् । पञ्चायतदेखि बहुदल हुँदै गणतन्त्रसम्मका सबै निर्वाचनमा धरणीप्रसादले मतदान गरेका छन् । विकासका वाचा गर्ने र पूरा नगर्नेप्रति उनलाई खेद छ ।

‘आफ्नै जग्गाको उब्जाउले खान नपुगेर जनता झन् गरिव बनेका छन्,’ उनले भने, ‘नेताले नीति बनाएर समयमा मल, बीउ दिने, काम खोज्नेलाई जागिर दिने । कृषि पशुका प्राविधिक, गाउँमै राखिदिने व्यवस्था भए राम्रो हुन्थ्यो ।’ धरणीप्रसादका चार भाई छोरा र चार छोरी छन् । जेठा छोरा नारायणप्रसादको साथमा रहेका उनका अन्य छोराहरू सुनसरी जिल्लातिर झरेका छन् ।

२०१६ सालमा भातपानी मुद्दा खेपेका धरणीप्रसादले मुद्दा लडेर जितेको सुनाए । त्यतिखेर स्थानीय माधवप्रसाद काफ्लेको घरमा दलित पसेको र त्यो घरमा पूजा लगाएर चोख्याइदिँदा धरणीप्रसादलाई भातपानी मुद्दा लागेको थियो । तिल्पुङ मौजाको न्यायनिसाफ ओखलढुङ्गाको अदालतबाट हुन्थो । पल्लोगाउँको कृष्णलाल जैसीले दलित पसेको घरमा पूजापाठ गरेर चोख्याएको भन्दै उनका विरुद्ध ‘भातपानी मुद्दा’ दायर गरेका थिए । त्यतिखेर दानबहादुर कार्की वकिललाई लेख्न लगाएर प्रतिवादी गर्दा एक वर्षभित्रमै जितेको थिए, धरणीप्रसादले सम्झिए । गाउँमा अप्ठ्यारो पर्दा उनी यजमानी गरेर फुकाइदिन्थे ।

पाँच वर्षअघि जीवनसंगिनी सितादेवीले छाडेर परलोक भएको भन्दै धरणीप्रसाद पुराना दिन सम्झिएर भक्कानिए । म ९ वर्षको थिएँ, उनी ७ वर्षकी,’ उनले भने, ‘यतिका छोराछोरीलाई जन्म दिइन् । जीउ खिरिलो र सानी थिइन् । माया बसेपछि उनले नसक्ने काम पनि म आफैं गरिदिन्थेँ । दैवको लिलाको अघि को पछि हुने केही थाहा नहुने ।’ जेठो छोरा–बुहारीले आफूलाई स्याहार सम्भारमा कन्जुस्याइँ नगरेको भन्दै उनी अन्य छोराछोरी भेट्न भने गएका छैनन् । सिटामोलसमेत नखाएका उनलाई एकपटक भने एपेन्डिक्स भएछ । धरान गएर घाउसुकाइदिने सुइ लगाएका उनले अप्रेसन भने गरेनन् ।

उमेरमा कौडा खेलका सौखिन धरणीप्रसादले तिलङ्गे, मैनीलगायत गाउँमा लाग्ने मेला छुटाएका छैनन् । जुवा खेलबाट कसैलाई फलिफाप नहुने भन्दै त्यो लत राम्रो हैन भन्दै त्यता नलाग्न उनी सुझाउँछन् । आफू २८ वर्षको हुँदा मेनी मेलामा जुवा खेलबाट उनले घोडा जितेका थिए । बराह खेलेका उनले आफ्नो साथीसँग पैसा लिएर घोडा दिए । घोडालाई त्यतिबेला पनि ७ सयभन्दा बढी पर्ने गरेको उनी सम्झिन्छन् । २०२८ सालमा गाउँका कसैले पनि उचाल्न नसकेको ढुङ्गा उचालेर उनले पाँच रुपैयाँ बाजी जितेका रहेछन् । यतिखेर वेतबाँसको लौरो साथमा लिएर हिँड्ने धरणीप्रसाद हिँडेरै गाउँ डुल्ने गर्छन् ।

प्रकाशित : कार्तिक २५, २०७९ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?