दोलखामा नयाँ उम्मेदवारका चुनौती- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोलखामा नयाँ उम्मेदवारका चुनौती

केदार सिवाकोटी

दोलखा — दोलखामा प्रतिनिधिसभा सदस्यका लागि २ नयाँ अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ । जसमा गठबन्धनबाट माओवादी केन्द्रका गंगा कार्की र एमालेबाट बालकृष्ण शिवाकोटी छन् । कार्की र शिवाकोटीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री विजयी खड्का पनि पहिलो पटक नै संसदीय चुनावमा प्रतिस्पर्धा गर्दै छन् ।

झन्डै ३ दशकदेखि कम्युनिस्टको ‘पकड क्षेत्र’ को रूपमा रहेको यो जिल्लामा यसपटक पनि मुख्य प्रतिस्पर्धा बामपन्थी उम्मेदवारबीच नै हुने देखिएको छ । २०५१ को मध्यावधि निर्वाचनमा कांग्रेस नेता स्वर्गीय भीमबहादुर तामाङ साविकको क्षेत्र–१ मा विजयी भएका थिए । त्यसयता यहाँ वामपन्थी उम्मेदवारले नै जितेका छन् । २०६४ मा जिल्लाका दुवै क्षेत्रमा माओवादीले जितेको थियो । त्यसपछिका सबै प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले जित्दै आएको छ । यो पटक सत्ता गठबन्धनबाट उम्मेदवार माओवादी नेता कार्कीलाई निर्वाचित हुन कांग्रेसको भर पर्नुपर्नेछ ।

एमालेबाट पूर्वसञ्चारमन्त्री पार्वत गुरुङ र पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेललाई पछि पार्दै व्यवसायी शिवाकोटीले टिकट हत्याएका हुन् । तर, कार्कीलाई पराजित गर्न उनलाई निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । गत स्थानीय निर्वाचनमा गठबन्धनले जिल्लाका ९ मध्ये ७ वटा स्थानीय तहको प्रमुख जितेको थियो । वडाध्यक्षको मतभार हेर्दा एमालेभन्दा गठबन्धन नै अघि छ । गठबन्धनले वडाध्यक्षमा ४८ हजार ७ सय ८२ मत पाउँदा एमालेले ३९ हजार ३ सय २० मत मात्रै प्राप्त गरेको थियो ।

२०४६ सालबाटै भूमिगत भई माओवादी आन्दोलनमा होमिएका कार्की हाल पार्टीको पोलिटब्युरो सदस्य छन् । जिल्लामा माओवादीका संस्थापक नेतासमेत रहेका उनले पार्टी र सरकार दुवैमा खासै अवसर पाएका छैनन् । दिगो विकास र जिल्लाको स्तरोन्नतिका लागि गठबन्धनले आफूलाई अघि सारेको बताउँछन् उनी । ‘संविधान निर्माण भइसक्यो, अब आर्थिक समृद्धि मुख्य कुरा हो,’ उनले भने । लामो राजनीतिक यात्रामा आफू सधैंभरि जनताकै नजिक रहेकाले चुनाव जित्नेमा उनी विश्वस्त छन् ।

जिल्लामा निजी क्षेत्रबाट ठूलो लगानी भित्र्याउन सुरु गरेको जस भने शिवाकोटीलाई जान्छ । उनी आफू भाषणमा भन्दा पनि काममा विश्वास गर्ने व्यक्ति भएको बताउँछन् । ‘काममा विश्वास गर्ने भएकाले पार्टीले जिल्लाको भाग्य बदल्न मलाई पठाएको हो,’ उनले भने । खासगरी यहाँको पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । उनी कालिञ्चाक केवलकारका सञ्चालकसमेत हुन् ।

गठबन्धनकै एक घटक कांग्रेसका कार्यकर्ताको असन्तुष्टि व्यवस्थापन गर्न कार्कीलाई चुनौती छ भने शिवकोटीलाई स्थानीय निर्वाचनमा आफ्नै कार्यकर्ताले गरेको अन्तरघातलाई व्यवस्थापन गर्नुपर्ने चुनौती छ । यस्तै, पछिल्लो समय जिल्लाभर संगठन विस्तार गरेको राप्रपाले विजय खड्कालाई मैदानमा उतारेको छ ।

गठबन्धन र एमालेका असन्तुष्ट पक्षको मत आफूले पाउनेमा उनी ढुक्क छन् । ‘हाम्रा एजेन्डा जनतालाई प्रस्ट पार्नेछौं,’ उनले भने,‘जनताले विगतका दलहरूका गतिविधिकै कारण पनि राप्रपालाई सघाउनेछन् ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलको पनि चुनौती ठूला दलसामु छ । जिल्लामा १ लाख ६० हजार ४ सय मतदाता छन् ।

प्रकाशित : कार्तिक १, २०७९ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले दोलखाको खोलिखिम बजार तहसनहस, सबै विस्थापित

पहिरोसहित ढुंगा झर्न सक्ने भन्दै आवतजावत नगर्न प्रशासनको आग्रह, ६ वटा वडाका स्थानीय सम्पर्कविच्छेदमा
केदार सिवाकोटी

दोलखा — भूकम्पले भत्काएपछि नयाँ बनाएको घरमा बस्न नपाउँदै विगु गाउँपालिका–४ खोलिखिमका रोबहादुर श्रेष्ठ पहिरोले घर पुरिएपछि शिथिल बनेका छन् । श्रीमतीसँग दिनभरि सिंगटी खोलावारि आउँछन्, पहिरो हेरेर एकोहोरिन्छन् । साउन २३ मा माथिल्लो क्षेत्रबाट आएको पहिरोले उनको घर क्षतविक्षत भएको छ ।

७० घर रहेको बजार क्षेत्र पहिरोका कारण अहिले रित्तिएको छ । लादुक, बुलङ ओराङ जाने सडक विस्तारका क्रममा ठेकेदारको लापरबाहीले पहिरो गएको बताईन्छ । सडक विस्तार गर्दा नाला नबनाएका कारण पहिरो खसेको रोबहादुरले बताए । ‘सडक विस्तार गर्दा जथाभावी ग्याबिन लगाइयो, नाला कतै बनाइएन,’ उनले भने, ‘विकासका नाममा जथाभावी गर्दा बजारै उठीबास लाग्यो ।’ उनले अब कता जाने ? के गरेर खाने भन्नेमा किंकर्तव्यविमूढ भएको बताए ।

भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको अध्ययनमा भूगर्भविद्ले सिंगटीलाई जोखिम बस्तीका रूपमा राखेर बस्न अयोग्य भन्दै प्रतिवेदन दिएका थिए । तर सरकारले उक्त प्रतिवेदनको कार्यान्वयन नगर्दा भूकम्पपछि स्थानीयले विकल्प नपाएर पुनः सोही स्थानमा घर बनाएका हुन् । जिल्लाको उत्तरी क्षेत्रको सबैभन्दा ठूलो व्यापारिक केन्द्र सिंगटी नै हो । विगु गाउँपालिकाका ६ वटा वडाका बासिन्दा खोलिखिम बजार हुँदै आवतजावत गर्छन् ।

बुधबार अपराह्न परेको पानीले पहिरोको बढाएको छ । बिहीबार स्थानीय घरबाट धमाधम सामान निकालिरहेका थिए । उक्त पहिरोले बजार नै क्षतिग्रस्त बनाएपछि भएका सामान निकालेर सुरक्षित स्थानमा भाडाको कोठामा राखेको बताउँछन् । पहिरोले क्षतविक्षत बनेको घर देखाउँदै एक स्थानीयले भने, ‘व्यापार, व्यवसाय गरेर गुजारा चलाउँदै आएको थिएँ, पहिरोले घर पनि लग्यो, पसलका सामान भाडाको घरमा एउटा कोठामा राखेको छु ।’

खोलिखिम बजार आसपास क्षेत्रमा पनि पहिरो झर्न थालेपछि स्थानीय विस्थापित बनिरहेका छन् । दैनिक सुरक्षित स्थानतर्फ जानेक्रम बढेको गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले बताए । ‘विगतबाट नै खोलिखिम बजार जोखिममा थियो,’ उनले भने, ‘सरकारले विकल्प नदिएपछि स्थानीयले जोखिम स्थलमै घर बनाउँदा ठूलो क्षति भयो ।’

पहिरोबाट विस्थापितलाई तत्काल सुरक्षित स्थानमा लान र खानपानको व्यवस्था मिलाउन पालिकाले तयारी थालेको ओलीले बताए । पहिरोको कारण ६ वटा वडाका स्थानीय सम्पर्क विच्छेदमा परेको उनले बताए । ‘बाढीपहिरोले विगुका सडक सञ्जालसमेत तहसनहस बनाएको छ,’ उनले भने, ‘स्थानीय बिरामी भइहाले औषधि उपचार गर्न अस्पताल पुग्ने अवस्था छैन ।’ ग्रामीण सडक पहिरोले क्षतविक्षत बनाएकाले माथिल्लो क्षेत्रमा खाद्यान्न अभाव हुन सक्ने भन्दै सडक खुलाउने प्रयास भइरहेको ओलीले बताए । ‘सडक पहिरोले लगेको छ, खोलामा भएका फड्के पनि बाढीले बगाएको छ,’ चिलंखाका प्रवीण खड्काले भने, ‘ज्यान जोखिममा पारेर बिरामी बोक्नुपर्ने बाध्यता छ ।’ आधा घण्टाको दूरी काट्न घण्टौं लाग्ने गरेको उनले बताए ।

खोलिखिम बजारको माथिल्लो भेग पूरै चिरिएको छ । त्यस क्षेत्रमा आवतजावत नगर्न प्रहरीले आग्रह गरेको छ । पहिरोमाथिको ढुंगा झर्न सक्ने भन्दै स्थानीयलाई बजार क्षेत्रमा हिँडडुलमा समेत सचेतना अपनाउन आग्रह गरिएको प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेलले बताए । ढुंगा खसेमा बस्तीसहित मोटरेबल पुलमा समेत क्षति हुन सक्ने स्थानीयको अनुमान छ ।

पहिरोले सिंगटी इलाका प्रहरी कार्यालयसमेत जोखिममा परेपछि राति प्रहरीलाई सुरक्षित स्थानमा जान भनेको उनले बताए । सिंगटीका धेरै क्षेत्रमा पहिरोले क्षति गरेको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताए । स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थानमा लैजानेक्रम चलिरहेको बताउँदै उनले भने, ‘अहिले उक्त क्षेत्र र आसपासमा नबस्न भनेका छौं ।’

प्रकाशित : श्रावण २८, २०७९ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×