३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नुवाकोटको २ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कृष्ण थापा

नुवाकोट — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गराउन जिल्लामा मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहीबार जिल्ला सदरमुकाम विदुरस्थित नुवाकोट अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

नुवाकोटको २ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

विदुर नगरपालिका- २ को प्रिफेब भवनमा कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर ४ गते आइतबार हुने निर्वाचनका लागि जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले कार्यालयको बोर्ड राखेर कार्यालय उद्घाटन गरेका थिए ।

उक्त कार्यालयले नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन गराउने छ भने अर्को निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय तादी गाउँपालिका ३ खरानीटारमा स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत धामीले स्वच्छ र भयरहित वातावरणमा निर्वाचन हुने बताए । मनोनयनदेखि सबै कामकारबाही यही कार्यालयबाट हुनेछ भने अन्य कार्यालयको पनि सुपरिवेक्षण गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि नुवाकोटमा मतदानस्थल र मतदान केन्द्र कायम भैसकेका छन् । निर्वाचनमा १ सय ३२ वटा मतदानस्थल र २ सय ८७ वटा मतदान केन्द्र कायम गरिएको छ ।

अधिकांश मतदानस्थल विद्यालयहरूमा, केही स्वास्थ्य चौकी लगायतका भवनमा रहेका छन् । नुवाकोटमा २ लाख ३९ हजार मतदाता छन् ।

प्रकाशित : आश्विन २०, २०७९ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?