कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नुवाकोटको तुलजा भवानी मन्दिरमा फूलपाती भित्र्याइयो

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिका २ स्थित पुरानो सदरमुकाम नुवाकोटको तुलजा भवानीको मन्दिरमा ३ बजेको साइत गरेर फूलपाती भित्र्याइएको छ । विनपा २ धोवीखोला नजिक रहेको सुल्डाँडाबाट शनिबार राति तान्त्रिक विधिद्वारा तयार पारिएको फूलपाती आइतबार ब्यान्ड बाजासहित बढाइँ गरेर भित्र्याइएको हो । 

नुवाकोटको तुलजा भवानी मन्दिरमा फूलपाती भित्र्याइयो

शनिबार राति सुल्डाँडामा फूलपाती ल्याउन अर्याल थरका ब्राह्मण, क्षत्री थरका बस्नेत, मगर थरका उपासे छ जनाले उक्त फूलपाती अघिल्लो दिन राति केरा, अशोका, जयन्ती, हलेदो, बेलपत्र, धान, सामा, दारिम्लगायत नौथरी वनस्पति पूजा गरी बलि दिएर बेलको रुखमुनि राख्ने चलन छ । फूलपाती लिन आइतबार साततले दरबारमा पूजा गरेर कलशसहित लावालस्कर बाटोमा बढाइँ गर्दै सुल्डाँडा गएका थिए ।

राजा पृथ्वीनारायण शाहको शासनकालपूर्वदेखि यहाँ फूलपाती भित्र्याइँदै आएको बताइएको छ । सुल्डाँडाबाट फूलपाती ल्याउन राजप्रतिनिधिले साततले दरबारमा ब्राह्मणसहित विधिविधान गरी कलस बोकेर, जबरजंगमा गणको निशान, भैरवी निशानलाई बोकेर, पन्चेबाजा, नेपाली सेनाको ब्यान्ड बाजासहित प्रमुख जिल्ला अधिकारी, सरकारी पदाधिकारी, राजप्रतिनिधि, भैरवी मन्दिरका धामी, समाजसेवी र स्थानीयवासी, नेपाली सेना, प्रहरी सुल्डाँडावारि पुगेका थिए ।

मंगलवाचनका साथ फूलपाती लिएर आएपछि तुलजा भवानीको ठूलो मौलामा एउटा कुभिन्डो र बोकाको बलि दिएपछि फूलपाती भित्र्याइएको थियो । तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोट विजयपछि दसैंका लागि तुलजा भवानीको दरबारमा जमरा राख्दै आएका थिए ।

सोही परम्पराअनुसार अहिले पनि भूकम्पले भत्किएरपछि जस्ताले छोपिएको तुलजा दरबार छेउको अस्थायी टहरामा जमरा राखिने गरेको छ । जमरा राखिएको स्थानमा आइतबार फूलपाती भित्र्याइएको नुवाकोट मौलाअमालका प्रमुख तथा राजप्रतिनिधि महेन्द्रकुमार शाहीले बताए । सुल्डाँडा साततले दरबारदेखि दुई किलोमिटर पूर्वमा पर्छ ।

त्यसैगरी तुलजा भवानीलाई नेवार (डंगोल थर)काले छुट्टै पूजा गर्ने चलन पनि छ । उनीहरुले पनि छुट्टाछुटै बलि दिएर पूजा गर्छन् । अष्टमी र नवमीमा बोका, हाँसको बलि दिइन्छ । टीकाको दिन यहाँ राखिएको जमरा राजप्रतिनिधि महेन्द्रकुमार शाहीले स्थानीयवासीलाई टीका लगाइदिने चलन छ ।

साततले दरबारको उत्तरको डाँडामा रहेको कालिका, मालिका, तुलजा भवनीको प्रसादसहित टीकाको दिन नसके हनुमान ढोकामा कार्यालय खुलेपछि प्रसाद पठाउने राजप्रतिनिधि शाहीले बताए ।

प्रकाशित : आश्विन १६, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?