१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विभिन्न दुर्घटनामा वाग्मती प्रदेशभर सात जनाको मृत्यु

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका पाँचवटा जिल्लामा भएको विभिन्न दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । शुक्रबार नुवाकोटमा २ जना, मकवानपुर, सिन्धुली, धादिङ र चितवनमा एक/एक जनाको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विभिन्न दुर्घटनामा वाग्मती प्रदेशभर सात जनाको मृत्यु

नुवाकोटको शिवपुरी गाउँपाकिला–६, फेदीगाउँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घर पोत्ने क्रममा शुक्रबार साँझ ७ बजेर ३० मिनेटको समयमा करेन्ट लागेर ६५ वर्षीय ईन्द्रबहादुर पाठक गम्भीर घाइते भएका थिए । काठमाडौंको बीपी अस्पतालमा उपचारको क्रममा पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुर जिल्लाको बकैया गाउँपालिका–५, तीनतलेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धरान–चतराअन्तर्गत हेटौंडाबाट जुरेलीतर्फ जाँदै गरेको ना ७ त ५०७२ नम्बरको खाली ट्याक्टरमा सवार बकैया–५, श्रीपुरका २३ वर्षीय सुमन लो गुडिरहेको ट्याक्टरबाट अचानक खसेका थिए । ट्याक्टरबाट खसेरका लोलाई पछाडिको टेलरको चक्काले किचेर गम्भीर घाइते भएका थिए । लोलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा लोको बिहान ११ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धादिङको थाक्रे गाउँपालिका–४, लितिपोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा पोखरीमा डुबेर बेहोस भएका १४ वर्षीय सञ्जय गोलेको उद्धार गरी उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । उपचारको क्रममा गोलेको मृत्यु भएको हो ।

सिन्धुलीको घ्याङलेख गाउँपालिका–४, सिम हायुटारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै घरमा रहेको धान कुट्ने मिल चलाइरहेका ६८ वर्षीय जीतबहादुर लोलाई शुक्रबार दिउँसो ४ बजेर ५० मिनेटको समयमा चट्याङ लागेको थियो । चट्याङ लागेर लोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको रत्ननगर नगरपालिका–२, सुब्बाचोकमा टाँडीबाट सुब्बाचोकतर्फ जाँदै गरेको ना.४८ प ४५८४ नमबरको मोटरसाइकल र जयमंगलाबाट खानेपानी ट्याङ्कीतर्फ बाटो क्रस गर्दै गरेको बा १७ च ७७७७ नम्बरको कार एक–आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक रत्ननगर–१४, लौरीघोलका ५१ वर्षीय रामबहादुर गुरुङ र मोटरसाइकलमा पछाडि बसेर यात्रा गरिरहेका गुरुङकी पत्नी ४० वर्षीया सुमित्रा गुरुङ घाइते भएका थिए । घाइते सुमित्राको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहान १० बजेर ५५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नुवाकोट जिल्लाको विदुर नगरपालिका–१३, डाँडाटोलमा ५४ वर्षीय कृष्णे दमाई आफ्नै घरमा झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएका थिए । शुक्रबार दिनको ४ बजेको समयमा उनी मृत फेला परेका हुन् ।

प्रकाशित : आश्विन १५, २०७९ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?