
नुवाकोट — त्रिशूली-गल्छी सडक खण्डको बुधसिङघाट थालडाँडामा झरेको सुख्खा पहिरो हटाउन अझै केही दिन लाग्नु भएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका ७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध छ ।

पहिरो हटाएर सडक खुलाउने प्रयास जारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । उनले पहिरो स्थल अवलोकन गर्दै भने,‘चाडबाडको बेला छ । छिट्टै खुलाउने प्रयासमा छौं ।’
पहिरो अवरोध भएको स्थानमा थप क्षति हुन नदिन र सुरक्षाकर्मीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश पण्डितले बताए । यात्रु तथा सवारीका लागि वैकल्पिक मार्ग छहरे–टोखा र पासाङ ल्हामुमार्गको सडकखण्ड प्रयोग गर्न भनिएको छ ।
काठमाडौं-गल्छी, हेटौंडा, नारायणगढ हुँदै नुवाकोट र रसुवा प्रवेश गर्ने सवारी भारवहन गाडी महादेवफाँटदेखि पहिरो नजिकसम्म रोकिएका छन् । नुवाकोट र रसुवा हुँदै गल्छीतर्फ जाने गाडी काशीटारतर्फ दर्जनौं गाडी रोकिएका छन् । रसुवागढी नाकाबाट सामान लिएर छुटेका कन्टेरनसमेत पार गर्न मुस्किल परिरहेको छ ।
पहिरोमा पन्छाउन ४ वटा एक्स्काभेटर
पहिरो पन्छाउन गल्छी–त्रिशूली–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाले ४ वटा एक्स्काभेटरले काम गरिरहेको छ । आयोजनाले सिफ्ट मिलाएर अपरेटरलाई पहिरो पन्छाउन खटाइएको जनाएको छ ।
बिजुली पोल जोखिममा
पहिरो गएको स्थानमा बिजुलीका २ वटा पोल ढलेका छन् भने थप पोल ढल्ने अवस्थामा छ । समयमा विद्युत् लाइनसमेत छुटाएकाले दुर्घटना हुनबाट जोगिएको स्थानीयले बताए । त्यसैगरी पहिरो झरेको स्थानभन्दा माथि बारी र बस्ती छ । त्यहाँ ९ घर छन् । उनीहरुमा पठाइएको विद्युत् प्रवाह काटेर दिइएको छ । बेलामा सबै जना मिलेर बिजुली लाइन काटिएकाले मानवीय क्षति हुन नपाएको स्थानीय राजेन्द्र भण्डारीले बताए ।
अप्टिकल फाइबर चुँडियो
धादिङको गल्छी हुँदै नुवाकोट र रसुवाका लागि संचालन गरिएको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबर पहिरोले चुँडालिदिएपछि दुई दिनदेखि मोवाबाइल सेवा प्रभावित भएको छ । त्यसैगरी इन्टरनेट सेवासमेत अवरुद्ध भएको छ ।
