कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३
सुनकोसी–मरिण डाइभर्सन

चिनियाँ ठेकेदार कम्पनीद्वारा मरिणखोला दोहन

राजकुमार कार्की

सिन्धुली — सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरुङ मार्गको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले अवैध रुपमा मरिणखोला दोहान गर्न थालेको छ ।

चिनियाँ ठेकेदार कम्पनीद्वारा मरिणखोला दोहन

चाडपर्वको मौका पारेर चाइना कम्पनीले सुरुङ मार्ग निर्माणस्थलमा प्रयोग गर्न मरिणखोलाको बहाव र पुल क्षेत्रबाट अवैध दोहन गरेको हो । चारवटा मेसिन प्रयोग गरेर मरिणखोला बहाव क्षेत्रभित्र र पुल रहेको ५० मिटर आसपासमा समेत दोहन गरेर ढुंगा, बालुवा निकालेको स्थानीयले बताएका छन् ।

एक साताअघि कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलसहितको टोलीले ठेकेदार चाइन ओभरसिज कोभेकले अवैध दोहन गरेको भन्दै दुईवटा ढुंगा लोड भएको ट्रक नियन्त्रणमा लिएर कारबाहीसमेत गरेको थियो । स्थानीयका अनुसार दसैं विदा भएको मौका पारेर ठेकेदार कम्पनीले ढुंगा, गिटी, वालुवाको लागि मरिणखोला अवैध दोहन गरी संकलनको काम तीव्र बनाएका हुन् ।

स्थानीयहरूका अनुसार चारवटा मेसिन प्रयोग गरेर खोलाको बहाव क्षेत्रबाटै सयौं ट्रक ढुंगा, वालुवा निकालिएको छ । कमलामाई नगरपालिका वातावरण शाखा प्रमुख सागरकुमार ढकालका अनुसार राजमार्गको पुलभन्दा ५० मिटरको क्षेत्र र बहाव क्षेत्रबाट ढुङ्ग, वालुवा निकाल्नु अवैध मानिन्छ । त्यस्तो भएमा जुनसुकै निकाय पनि कारबाहीको भागिदार हुने शाखा प्रमुख ढकालको तर्क छ ।

सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत १३ दशमलव ३ किलोमिटर सुरुङ निर्माणका लागि ठूलो परिमाणमा ढुङ्गा, वालुवा र गिट्टीको आवश्यकता पर्छ । वातावरणीय प्रभाव मूल्यांकन गरेर मरिणका खहरेबाट आयोजनाले निकाल्ने अनुमती लिन्छ ।

गत आर्थिक वर्षमा ११ हजार घनमिटरको अनुमति लिएर चाइना ओभरसिजले १६ हजार घनमिटरभन्दा बढी खहरेबाट ढुङ्गा निकालेको थियो । पछि नगरपालिकाले कारबाही अगाडि बढाएपछि पुन नाप गरेर राजश्व जम्मा गर्न लगाइएको थियो ।

कमलामाई नगरपालिकाका प्रमुख पोखरेलले अवैध दोहन गरे कारबाही गर्ने बताएका छन् । 'कानुनत: उपलव्ध हुने स्थानबाट मात्र निकाल्नु पर्‍यो,' उनले भने, ‘त्यसका लागि वडा कार्यालयलाई रसिद काट्ने जिम्मा दिएका छौं, पुल वरपर र बहाव क्षेत्रबाट निकालेको पाइएमा हामी छोड्दैनौं ।’

सुनकोसी नदीको पानी सुरुङबाट मरिणखोलामा खसाली तराइका खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ निर्माण थालनी भएको छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा चाइना ओभरसिज कम्पनीलाई दिएको छ । गत आर्थिक वर्षबाट सुरु भएको उक्त आयोजना ०८२/०८३ सम्ममा सक्ने लक्ष्य रहेको छ ।

प्रकाशित : आश्विन १४, २०७९ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?