भत्ता पाउनै सकस

राजकुमार कार्की

सिन्धुली — तीनपाटन गाउँपालिका–१ की ८२ वर्षीया विष्णुमाया भोलनलाई यो पटक सामाजिक सुरक्षा भत्ता पाउन निकै कठिनाइ भयो । सदरमुकाम सिन्धुलीमाडीस्थित बैंकबाट भत्ता बाँडिने भएपछि उनीसहितका जेष्ठ नागरिक, एकल महिलालगायत सूचीकृत भएकाहरू सार्वजनिक  बसमा ठेलमठेल गर्दै आइपुगे ।

भत्ता पाउनै सकस

तीनपाटन–१, २ र ३ गरी तीनै वडाको भत्ता एकै दिन वितरण गर्ने भनिएपछि बुधबार सडकसम्मै लामो लाइन लाग्यो । जसकै कारण विष्णुमायाले १ दिन कुर्नुपर्‍यो । बुहारीको साथमा आएकी विष्णुमायाले भत्ता वितरण गर्नेले दुःख दिएको गुनासो पोखिन् ।

‘दसैं मान्नका लागि सरकारले दिएको पैसा लिन आएको, यहाँ त लाइन लगाएको रहेछ,’ उनले भनिन्, ‘लाइनमा उभिन सकिँदैन । त्यही भएर सबैको पालो पुगेपछि लिउँला भनेको पाइएन । २ दिन लाग्यो ।’

उनले ३ महिनाको ४ हजारका दरले १२ हजार रुपैयाँ त बुझिन् तर सास्ती त्योभन्दा बढी खेपिन् । भत्ता बुझ्न यसपटक निकै सकस भएको अन्य ज्येष्ठ नागरिकको पनि गुनासो थियो । तीनपाटनबाट ४ घण्टा लगाएर गाडीमा सदरमुकाम आइपुग्नुपर्ने र भनेको समयमा पनि नपाउँदा यतै बास बस्नुपर्ने बाध्यता उनीहरूको भनाइ थियो । तीनपाटन–१ कै ७६ वर्षीया लालमाया भोलनले भत्ता आएको रकम कोठाभाडा र खानामा खर्च गर्नुपर्दा धेरै नबचेको सुनाइन् ।

‘हाम्रो लिखत हेरेर दिने पैसा दिनुनी । यो पुगेन र यो भएन भनेको छ । भित्र मारामार छ । जे होला भनेर बाहिर बसेका छौं,’ सडकपेटीमा कुरेर बसेकी उनले दुःख नदिन आग्रह गरिन्, ‘गाउँमै ल्याएर दिए राम्रो हुन्थ्यो । हामी बूढाबूढी मान्छे, आउजाउ गर्नै सकस हुन्छ, त्यहीमाथि भनेको समयमा पैसा पाइँदैन ।’ वडाहरूले एकैदिन सबैलाई पठाएकाले वितरणमा समस्या भएको नेपाल इन्भेस्टमेन्ट बैंकका कर्मचारीहरूले बताए ।

तीनपाटन मात्र होइन, सदरमुकामका सबैजसो बैंकहरूमा सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकलाई सकस पर्छ । यस्तो समस्या आउन नदिन बैंकका कर्मचारी र पालिकाले बेलैमा सजगता अपनाउनुपर्ने पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे बताउँछन् । भन्छन्, ‘राज्यले सामाजिक सुरक्षा भत्ता दिएपछि सहज वितरणको जिम्मा स्थानीय सरकारले लिनुपर्छ । घरमै भत्ता दिन्छौं भनेर भोट खाने अनि अहिले सास्ती दिने हुँदैन,’ उनले भने ।

प्रकाशित : आश्विन १४, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?