धनगढी — गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार धनगढी रंगशालामा भएको सेमिफाइनलमा गण्डकी प्रदेशलाई ४–३ गोलले हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो ।
लुम्बिनीको जितमा नीरज चौधरीले २ र फागुराम थारु र विनोद केसीले १–१ गोल गरे । गण्डकीका राजकुमार कुँवरले २ र विजय श्रेष्ठले १ गोल गरे । खेलको ११ औं मिनेटमै लुम्बिनीका नीरजले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको चार मिनेटपछि फागुराम थारुले खेलको १५ औं मिनेटमा एक गोल थप्दै लुम्बिनीलाई २–० ले अगाडि बढाए ।
२५ औं मिनेटमा गण्डकीका राजकुमार कुँवरले एक गोल फर्काए । त्यसपछि फेरि लुम्बिनीको तर्फबाट विनोद केसीले ३६ औं मिनेटमा थपेको एक गोलले गण्डकी ३–१ को अवस्थामा पुग्यो ।
दोस्रो हाफलगत्तै गण्डकीका विजय श्रेष्ठले एक गोल थप्दा खेल ३–२ को स्थितिमा अगाडि बढ्यो । गण्डकीकै राजकुमार कुँवरले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै ६१ औं मिनेटमा खेल बराबरीमा पुर्याए । लुम्बिनीबाट ७१ औं मिनेटमा नीरजले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोलको योगदान दिएका थिए ।
अब लुम्बिनीले उपाधिका लागि कर्णाली प्रदेशसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । कर्णाली यसअघि नै फाइनल पुगिसकेको छ ।
पीएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रकाशित : आश्विन १३, २०७९ २१:५९