नुवाकोटमा ‘ट्राफिक प्रहरीको दुई मिनेट’ कार्यक्रम सञ्चालन- वाग्मती - कान्तिपुर समाचार

नुवाकोटमा ‘ट्राफिक प्रहरीको दुई मिनेट’ कार्यक्रम सञ्चालन

रासस

काठमाडौँ — जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको छ । 

चाडपर्वको समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र यात्रुवर्गलाई सहज यात्रा गराउन ट्राफिक प्रहरीले चालक तथा सहचालकलाई ‘ट्राफिक प्रहरीको दुई मिनेट’ कार्यक्रममार्फत छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए । उनका अनुसार यात्रुलाई सम्मानजनक व्यवहार गर्नेदेखि चालक र सहचालक भएकामा गर्व गर्नेसम्मका विषयलाई प्रतिबद्धता जनाउन लगाइएको छ ।

प्रतिबद्धता पत्रमा 'म यात्रुलाई सम्मानजनक व्यवहार गर्छु, तोकिएको भाडादर भन्दाबढी भाडा लिने छैन, ट्राफिक नियमको पूर्ण पालना गर्छु, आरक्षण सिटको व्यवस्था अनुसार यात्रु व्यवस्थापन गर्नेछु, अपांगता भएका व्यक्ति, असहाय र विद्यार्थीले भाडा दरमा पाउने छुटको व्यवस्था गर्ने छु तथा आफू चालक र सहचालक भएकामा आफ्नो कामप्रति गर्व गर्दछु,' भनिएको छ ।

चाडपर्वको समयमा हुनसक्ने सवारी दुर्घटना रोक्न नियम पालनामा सचेत गराउन छ बुँदे प्रतिबद्धतासहित चालक र सहचालकलाई ट्राफिक प्रहरीले दुई मिनेट कार्यक्रममार्फत यात्रुदेखि सवारीसाधनको अवस्थाको जानकारी समेत संकलन सुरु गरेको छ ।

'यो समय (चाडपर्व)मा यात्रुलाई पर्नसक्ने समस्या र सवारीसाधनको अवस्था थाहा पाउन चोकपोष्ट र छड्के चेकजाँच गर्न थालेका छौं', खकुरेलले भने, 'सिट संख्याभन्दा धेरै यात्रु राख्ने, बढीभाडा असूल गर्ने, तोकिएको गन्तव्यसम्म नपुर्‍याउने समस्या हुन नदिन सचेत गराइरहेका छौं, हतार गर्ने, बिग्रेका साधन गुडाउने, एकजना चालकले लामो समयसम्म चलाउने लगायतका सम्भावित दुर्घटनाका कारण रोक्न सकिनेछ भन्ने विश्वास छ ।'

प्रकाशित : आश्विन १३, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

डीबी बुढा

जुम्ला — जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ । हिमा गाउँपालिका–१ आचार्यलिहीमा वागमती प्रदेश ०३००१ ख २१६४ नम्बरको ट्रक राति दुर्घटना भएको हो ।


जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार दुर्घटनामा मकवानपुर घर भएका चालक अविनाश लामाको मृत्यु भएको हाे ।

बसका सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गरिएको छ । घाइते सहचालककाे टाउकोमा चोट लागेको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्यूलाबाट स्याउ लिएर सुर्खेततर्फ जाँदै गरेको ट्रक हिमा १ आचार्यलिही नजिकैको बझाङे खोलामा दुर्घटना भएको थियाे । नाग्म गमगढी सडकखण्ड अन्तर्गत हिमा गाउँपालिकाको सो क्षेत्र दुर्घटना जोखिम क्षेत्र मानिन्छ । दुर्घटना भएको ट्रकमा सात सय कार्टुन स्याउ रहेको व्यापारीहरूले बताएका छन् ।

प्रकाशित : आश्विन १३, २०७९ १५:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×