कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

‘आँटी’ बेचेर दसैंको जोहो

राजकुमार कार्की

सिन्धुली — सुनकोसी गाउँपालिका–३ की सुन्तलीमाया मगर उमेरले ७० नाघिन् । यो उमेरमा आएर उनलाई व्यावसायिक चटारोले खुब छोपेको छ । झिसमिसेबाटै उनको व्यावसायिक यात्रा झमक्क साँझ हुन्जेल चलिरहन्छ । बीपी राजमार्ग अन्तर्गत झाँगाझोली रातमाटाको बलराम चोक उनको व्यावसायिक थलो हो ।

‘आँटी’ बेचेर दसैंको जोहो

भदौदेखि कात्तिकसम्म जंगली फल आँटी बिक्रीबाट उनले गरेको मेहनत अनुसारको दाम पनि पाएकी छन् । परिवारका अन्य सदस्यहरुलाई जंगलमा आँटी खोज्न पठाउने गरेकी सुन्तलीमायालाई यो वर्षको दसैं खर्चको पिरलो छैन । उनले एक महिनाको अवधिमा पुगनपुग लाख रुपैयाँ आम्दानी गरिसकेकी छन् ।

किलोको ८० देखि एक सय रुपैयाँसम्ममा बिक्री हुने आँटीबाट भएको आम्दानीले चाडबाड राम्रोसँग मान्न पुग्ने सुन्तलीमाया बताउँछिन् । उनी भन्छिन्, ‘दिनमा तीन हजारदेखि पाँच हजारसम्मको आँटी बिक्री गर्छु । जंगलमा गएर ल्याए सित्तै पाइन्छ । बारीमा लगाएको भने तीसदेखि चालिस रुपैयाँ प्रतिकिलो खरिद गर्नुपर्छ ।’ पाँच जनाको परिवारका लागि मासु, खाद्यान्न, लत्ताकपडा खरिद गर्न आँटी बिक्रीबाट भएको आम्दानीले सजिलै पुग्ने भएकाले सुन्तलीमायालाई दसैं कसरी टार्ने भन्ने चिन्ता छैन् । ‘यो आँटी त हाम्रो लागि राम्रै आम्दानीको स्रोत बन्यो । पहिला राजमार्ग नखुल्दा त्यसै खेर जान्थ्यो, अहिले धमाधम बिक्री हुन्छ,’ उनले थपिन् ।

सुनकोसीकै लखनपुरका किसान इन्द्रबहादुर मगरले पाँच वर्ष अघिसम्म आफ्नो बारीकान्लामा वरिपरि रहेका सयौं आँटी फलका बिरुवा मासे । अन्य बालीलाई क्षति गर्ने भन्दै मासेको आँटी बिक्रीबाट मनग्ये आम्दानी हुन थालेपछि उनी यतिखेर पछुताएका छन् । ‘खनखनी नगद आउने फल रहेछ, समयमै चिन्न सकिएन,’ उनले गुनासो पोखे । सुनकोसी गड्तिर क्षेत्रको जंगल तथा बारीहरुमा भएको आँटी फल बिक्रीबाट सयौं स्थानीयले मनग्ये आम्दानी गर्न थालेका छन् । आँटीलाई सरिफा फल पनि भनिन्छ ।

जंगलमा आँटीका रुखहरु प्रशस्त पाइने भएकाले बारीका बिरुवा किसानहरुले मास्ने गरेका थिए । ‘जंगलमा नै सिजनमा आँटी टिपेर साध्य हुँदैनथ्यो, बिक्री पनि उतिसारो नहुने भएकाले महत्त्व थिएन,’ किसान मगरले भने, ‘यतिखेर आँटीको बिक्रीबाट मनग्ये आम्दानी हुन थालेपछि जंगलमा गएर टिप्न नै हारालुछ हुने गरेको छ ।’ फाँडेर आफूलाई खान बाँकी राखेको आँटी बिक्रीबाट गत वर्ष एक लाखको हाराहारीमा आम्दानी लिएका किसान मगरले यो वर्ष पनि डेढ लाख भन्दा बढी जोहो गरिसकेका छन् । किसान मगरले संरक्षण गरी आफ्नो बारीका कान्लामा सय बोट आँटी पुर्‍याएका छन् । यसमध्ये ६० वटा बोटमा फलेको आँटी टिपेर बिक्रीको लागि बजार लाने गरेका छन् ।

बोटमा नै किन्न पुग्ने व्यापारीले राम्रो मूल्य नदिने भएपछि तीन वर्षदेखि उनी आफैं बिक्री गर्न राजमार्ग छेउमा पसल थाप्ने गर्दछन् । प्रतिकिलो १५० देखि १६० रुपैयाँसम्ममा आँटी बिक्री हुन्छ । वर्षौंसम्म मिहिनेत नगरी नै फल्ने आँटीको पछिल्लो समय बजारमा माग बढेको सुनकोसी गाउँपालिका कार्यालय छेउ बोहोरेटारमा पसल थापेका अर्का किसान नवराज श्रेष्ठले बताए । मल, विषादी प्रयोग गर्नु नपर्ने र आफैं उम्रिएको अर्गानिक फल आँटी बेचेर दिनमा २ हजारदेखि तीन हजारसम्म आम्दानी लिने कृषक छन् ।

प्रकाशित : आश्विन १३, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?