पदयात्राबाटै कुण्ड र हिमाल

राजधानीबाट सजिलो पदमार्ग भएकाले बिदाको समय बिताउन लामटाङ र गोसाइँकुण्ड उपयुक्त गन्तव्य
फर्कंदा धुन्चेबाट गोल्जुङको कालो मुसुरो, गतलाङको सिमी, लालीगुराँसको जुस, वाइन, तामाङ टोपी, पटुका र झोला कोसेलीका रुपमा लैजान सकिन्छ
बलराम घिमिरे

रसुवा — दसैंतिहार जस्ता ठूला चाडपर्वमा बिदा उपयोग गर्दै स्वदेशभित्रै घुम्नेहरू बढिरहेका छन् । संघीय राजधानी काठमाडौंबाट नजिकैको पर्यटकीय क्षेत्र रसुवाको लामटाङ र गोसाइँकुण्ड पनि धेरैको रोजाइमा पर्न थालेको छ । काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले लामटाङमा पर्यटकको घुइँचो लाग्छ । लामटाङ पदमार्गमा जाने पर्यटकले थोरै दिनमा एकैपटक धेरै कुरा हेर्न र घुम्न सक्ने पर्यटन व्यवसायी तेम्बा लामा बताउँछन् । 

पदयात्राबाटै कुण्ड र हिमाल

यस क्षेत्रमा आउने पर्यटकले गणेश तथा लामटाङ हिमालको दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, तामाङ कला संस्कृति अवलोकन गर्न पाउँछन् । काठमाडौंबाट ५ दिनमा क्याङजिन पुगेर फर्कन सकिन्छ । काठमाडौंबाट करिब १३० किमि गाडी यात्रापछि स्याफ्रुबेंसीमा बास बस्न पुगिन्छ । यहाँ प्रशस्त होटल तथा लज छन् । स्याफ्रुबेंसीबाट करिब दुई दिनको पैदल यात्रापछि क्याङजिन पुगिन्छ ।

पैदल यात्राको पहिलो दिन स्याफ्रुबाट दोमेन, पहिरो, बम्बु, रिमिचे हुँदै लामा होटल पुग्न सकिन्छ । हिँड्न सक्नेहरू घोडा तबेलासम्म पुग्छन् । लामा होटल बसेको भोलिपल्ट बिहानै खाजा खाएर हिँड्दा रिभरसाइड, उडल्यान्ड, घोडा तबेला, थाङस्याब, गुम्बाडाँडा हुँदै लामटाङ पुगिन्छ । केही पर्यटक त्यहीं बस्छन् भने केही मुन्डु, सिन्दुम हुँदै क्याङजिन नै पुग्छन् । यी ठाउँमा बस्नका लागि होटलको अभाव छैन ।

यात्रामा एक जना बराबर १२ देखि १४ हजारजति खर्च बोक्दा राम्रो हुन्छ । क्याङजिन पुगेपछि रसुवाकै पुरानो क्याङजिन गुम्बा, लामटाङ ग्लासियर र नजिकै चारैतिर एक दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ । क्याङजिनमा बास बसेर भोलिपल्ट क्याङजिन री, चेरर्कोरीलगायत धेरैवटा पिक चढ्न पनि सकिन्छ । भूकम्पपछि लामटाङका घरहरू पुनर्निर्माणसँगै पुरानै स्वरूपमा आएका छन् । लामटाङ पदमार्गमा पर्यटकका लागि सुरक्षित होटल र घर बनिसकेका छन् ।

नेपालको तेस्रो पर्यटकीय पदमार्गका रूपमा लामटाङ प्रख्यात छ । गोसाइँकुण्ड पनि काठमाडौंबाट छोटो र सजिलो पदमार्गमा पर्छ । पछिल्लो समय प्रसिद्ध धार्मिक तीर्थस्थल तथा पर्यटकीय गन्तव्यका रूपमा गोसाइँकुण्डको विकास भइरहेको छ । कुण्डमा स्नान गरी भगवान् शिव शंकरको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै चित्ताएको मनोकांक्षा पूरा हुने विश्वास छ । यो कुण्ड गोसाइँकुण्ड गाउँपालिका–५ लामटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ । जैविक विविधताले भरिपूर्ण गोसाइँकुण्डलगायत वरपरका अन्य कुण्डलाई २०६४ असोज ६ गते रामसार साइटमा सूचीकृत गरिएको छ ।

गोसाइँकुण्ड समुद्र सतहदेखि ४ हजार ३ सय ८० मिटर उचाइमा छ । दृश्यावलोकन र पदयात्राका हिसाबले यस क्षेत्र प्रख्यात छ । उच्च हिमाली भूभागमा यात्रा गर्दा रोमाञ्च र आनन्द आउँछ । यस क्षेत्रमा विभिन्न १४ प्रजातिका लालीगुराँस, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा, कस्तुरी, मृग तथा चराहरू देख्न सकिन्छ । सदरमुकाम नजिकै घट्टेखोला, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीबिना, बुद्धडाँडा र गणेश गौंडा जस्ता ठाउँबाट मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

गोसाइँकुण्ड पुग्न रसुवा, नुवाकोट र सिन्धुपाल्चोकबाट ४ वटा पदमार्ग छन् । काठमाडौं–धुन्चे हुँदै गोसाइँकुण्ड जाने पदमार्ग बढी चल्तीको पदमार्ग हो । काठमाडौंबाट पहिलो दिन ११७ किमि अर्थात् करिब ६ घण्टाजति बस यात्रा गरी सदरमुकाम धुन्चेमा बास बस्न सकिन्छ । भोलिपल्ट दोस्रो दिन सजिलै पैदल यात्रा गरी चन्दनबारी वा लौरीबिना पुग्न सकिन्छ । चोलाङपाटी तथा लौरीबिना बास बसेको भोलिपल्ट तेस्रो दिन गोसाइँकुण्ड पुगिन्छ । हिँड्न सक्नेहरू धुन्चे बास बसेको भोलिपल्ट एकै दिन गोसाइँकुण्ड पुग्छन् ।

काठमाडौंबाट चार दिनको यात्रा योजना बनाउँदा राम्रो हुन्छ । गोसाइँकुण्ड पदमार्गमा खान, बस्नका लागि होटल पर्याप्त छन् । यात्रामा एक जना बराबर १० देखि १२ हजारजति खर्च लाग्छ । चन्दनबारीमा पुरानो गुम्बासमेत छ । स्थानीय भाषमा यस गुम्बालाई सिङगोम्पा भनिन्छ । चन्दनबारीमा दुग्ध विकास संस्थानको पुरानो गोसाइँकुण्ड चिज उत्पादन केन्द्र छ । यहाँबाट याकको चिज कोसेलीका रूपमा लैजान सकिन्छ । चोलाङपाटीबाट करिब तीन/चार किमि टाढा पोलाङपाटीमा रेडपाण्डा अवलोकन गर्न सकिन्छ । लौरीबिना तथा बुद्धमन्दिरबाट लामटाङ हिमाल र गणेश हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।

गोसाइँकुण्ड आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको चार वर्ष भएको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताए । कुण्ड पुगेपछि नजिकै अमरसिंह गुफा र अमरसिंहको चिहान छ । अमरसिंह थापाले गोसाइँकुण्ड पुगेर देहत्याग गरेको इतिहास छ । उनको देहावसान भएको स्थानमा अर्धकदको सालिक पनि छ । गोसाइँकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्डलगायत थुप्रै कुण्ड देख्न सकिन्छ । गोसाइँकुण्डको ताल हिउँदको समयमा जम्छ, त्यो समय पुग्नेहरू जमेको कुण्डमाथि वारपार गरेर आनन्द लिन्छन् ।

चैत वैशाखमा सेतो गुराँस अर्थात् चिमाललगायत १६ प्रजातिका गुराँस फुलेर वनजंगल नै राताम्य देखिन्छ । गोसाइँकुण्ड उच्च भूभागमा रहेकाले हावामा अक्सिजनको मात्रा कम हुँदै जान्छ । जसले गर्दा यात्रीलाई लेक लागेर टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या देखिन सक्छ । त्यस्तो बेला कागती, लसुन, तातोपानी र घरेलु औषधि सेवन गरी मन्द गतिमा हिँड्नु राम्रो मानिन्छ । फर्कंदा धुन्चेबाट गोल्जुङको कालो मुसुरो, गतलाङको सिमी, लालीगुराँसको जुस, वाइन, तामाङ टोपी, पटुका, झोला कोसेलीका रूपमा लैजान सकिन्छ ।

प्रकाशित : आश्विन १२, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?