पदयात्राबाटै कुण्ड र हिमाल- वाग्मती - कान्तिपुर समाचार

पदयात्राबाटै कुण्ड र हिमाल

राजधानीबाट सजिलो पदमार्ग भएकाले बिदाको समय बिताउन लामटाङ र गोसाइँकुण्ड उपयुक्त गन्तव्य
फर्कंदा धुन्चेबाट गोल्जुङको कालो मुसुरो, गतलाङको सिमी, लालीगुराँसको जुस, वाइन, तामाङ टोपी, पटुका र झोला कोसेलीका रुपमा लैजान सकिन्छ
बलराम घिमिरे

रसुवा — दसैंतिहार जस्ता ठूला चाडपर्वमा बिदा उपयोग गर्दै स्वदेशभित्रै घुम्नेहरू बढिरहेका छन् । संघीय राजधानी काठमाडौंबाट नजिकैको पर्यटकीय क्षेत्र रसुवाको लामटाङ र गोसाइँकुण्ड पनि धेरैको रोजाइमा पर्न थालेको छ । काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले लामटाङमा पर्यटकको घुइँचो लाग्छ । लामटाङ पदमार्गमा जाने पर्यटकले थोरै दिनमा एकैपटक धेरै कुरा हेर्न र घुम्न सक्ने पर्यटन व्यवसायी तेम्बा लामा बताउँछन् । 

यस क्षेत्रमा आउने पर्यटकले गणेश तथा लामटाङ हिमालको दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, तामाङ कला संस्कृति अवलोकन गर्न पाउँछन् । काठमाडौंबाट ५ दिनमा क्याङजिन पुगेर फर्कन सकिन्छ । काठमाडौंबाट करिब १३० किमि गाडी यात्रापछि स्याफ्रुबेंसीमा बास बस्न पुगिन्छ । यहाँ प्रशस्त होटल तथा लज छन् । स्याफ्रुबेंसीबाट करिब दुई दिनको पैदल यात्रापछि क्याङजिन पुगिन्छ ।

पैदल यात्राको पहिलो दिन स्याफ्रुबाट दोमेन, पहिरो, बम्बु, रिमिचे हुँदै लामा होटल पुग्न सकिन्छ । हिँड्न सक्नेहरू घोडा तबेलासम्म पुग्छन् । लामा होटल बसेको भोलिपल्ट बिहानै खाजा खाएर हिँड्दा रिभरसाइड, उडल्यान्ड, घोडा तबेला, थाङस्याब, गुम्बाडाँडा हुँदै लामटाङ पुगिन्छ । केही पर्यटक त्यहीं बस्छन् भने केही मुन्डु, सिन्दुम हुँदै क्याङजिन नै पुग्छन् । यी ठाउँमा बस्नका लागि होटलको अभाव छैन ।

यात्रामा एक जना बराबर १२ देखि १४ हजारजति खर्च बोक्दा राम्रो हुन्छ । क्याङजिन पुगेपछि रसुवाकै पुरानो क्याङजिन गुम्बा, लामटाङ ग्लासियर र नजिकै चारैतिर एक दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ । क्याङजिनमा बास बसेर भोलिपल्ट क्याङजिन री, चेरर्कोरीलगायत धेरैवटा पिक चढ्न पनि सकिन्छ । भूकम्पपछि लामटाङका घरहरू पुनर्निर्माणसँगै पुरानै स्वरूपमा आएका छन् । लामटाङ पदमार्गमा पर्यटकका लागि सुरक्षित होटल र घर बनिसकेका छन् ।

नेपालको तेस्रो पर्यटकीय पदमार्गका रूपमा लामटाङ प्रख्यात छ । गोसाइँकुण्ड पनि काठमाडौंबाट छोटो र सजिलो पदमार्गमा पर्छ । पछिल्लो समय प्रसिद्ध धार्मिक तीर्थस्थल तथा पर्यटकीय गन्तव्यका रूपमा गोसाइँकुण्डको विकास भइरहेको छ । कुण्डमा स्नान गरी भगवान् शिव शंकरको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै चित्ताएको मनोकांक्षा पूरा हुने विश्वास छ । यो कुण्ड गोसाइँकुण्ड गाउँपालिका–५ लामटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ । जैविक विविधताले भरिपूर्ण गोसाइँकुण्डलगायत वरपरका अन्य कुण्डलाई २०६४ असोज ६ गते रामसार साइटमा सूचीकृत गरिएको छ ।

गोसाइँकुण्ड समुद्र सतहदेखि ४ हजार ३ सय ८० मिटर उचाइमा छ । दृश्यावलोकन र पदयात्राका हिसाबले यस क्षेत्र प्रख्यात छ । उच्च हिमाली भूभागमा यात्रा गर्दा रोमाञ्च र आनन्द आउँछ । यस क्षेत्रमा विभिन्न १४ प्रजातिका लालीगुराँस, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा, कस्तुरी, मृग तथा चराहरू देख्न सकिन्छ । सदरमुकाम नजिकै घट्टेखोला, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीबिना, बुद्धडाँडा र गणेश गौंडा जस्ता ठाउँबाट मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

गोसाइँकुण्ड पुग्न रसुवा, नुवाकोट र सिन्धुपाल्चोकबाट ४ वटा पदमार्ग छन् । काठमाडौं–धुन्चे हुँदै गोसाइँकुण्ड जाने पदमार्ग बढी चल्तीको पदमार्ग हो । काठमाडौंबाट पहिलो दिन ११७ किमि अर्थात् करिब ६ घण्टाजति बस यात्रा गरी सदरमुकाम धुन्चेमा बास बस्न सकिन्छ । भोलिपल्ट दोस्रो दिन सजिलै पैदल यात्रा गरी चन्दनबारी वा लौरीबिना पुग्न सकिन्छ । चोलाङपाटी तथा लौरीबिना बास बसेको भोलिपल्ट तेस्रो दिन गोसाइँकुण्ड पुगिन्छ । हिँड्न सक्नेहरू धुन्चे बास बसेको भोलिपल्ट एकै दिन गोसाइँकुण्ड पुग्छन् ।

काठमाडौंबाट चार दिनको यात्रा योजना बनाउँदा राम्रो हुन्छ । गोसाइँकुण्ड पदमार्गमा खान, बस्नका लागि होटल पर्याप्त छन् । यात्रामा एक जना बराबर १० देखि १२ हजारजति खर्च लाग्छ । चन्दनबारीमा पुरानो गुम्बासमेत छ । स्थानीय भाषमा यस गुम्बालाई सिङगोम्पा भनिन्छ । चन्दनबारीमा दुग्ध विकास संस्थानको पुरानो गोसाइँकुण्ड चिज उत्पादन केन्द्र छ । यहाँबाट याकको चिज कोसेलीका रूपमा लैजान सकिन्छ । चोलाङपाटीबाट करिब तीन/चार किमि टाढा पोलाङपाटीमा रेडपाण्डा अवलोकन गर्न सकिन्छ । लौरीबिना तथा बुद्धमन्दिरबाट लामटाङ हिमाल र गणेश हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।

गोसाइँकुण्ड आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको चार वर्ष भएको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताए । कुण्ड पुगेपछि नजिकै अमरसिंह गुफा र अमरसिंहको चिहान छ । अमरसिंह थापाले गोसाइँकुण्ड पुगेर देहत्याग गरेको इतिहास छ । उनको देहावसान भएको स्थानमा अर्धकदको सालिक पनि छ । गोसाइँकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्डलगायत थुप्रै कुण्ड देख्न सकिन्छ । गोसाइँकुण्डको ताल हिउँदको समयमा जम्छ, त्यो समय पुग्नेहरू जमेको कुण्डमाथि वारपार गरेर आनन्द लिन्छन् ।

चैत वैशाखमा सेतो गुराँस अर्थात् चिमाललगायत १६ प्रजातिका गुराँस फुलेर वनजंगल नै राताम्य देखिन्छ । गोसाइँकुण्ड उच्च भूभागमा रहेकाले हावामा अक्सिजनको मात्रा कम हुँदै जान्छ । जसले गर्दा यात्रीलाई लेक लागेर टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या देखिन सक्छ । त्यस्तो बेला कागती, लसुन, तातोपानी र घरेलु औषधि सेवन गरी मन्द गतिमा हिँड्नु राम्रो मानिन्छ । फर्कंदा धुन्चेबाट गोल्जुङको कालो मुसुरो, गतलाङको सिमी, लालीगुराँसको जुस, वाइन, तामाङ टोपी, पटुका, झोला कोसेलीका रूपमा लैजान सकिन्छ ।

प्रकाशित : आश्विन १२, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती प्रदेशमा ५ वर्षमा सवारी खर्च अर्बभन्दा बढी

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले ५ वर्षको अवधिमा झन्डै सवा अर्ब रुपैयाँ बराबरको सवारीसाधन खरिद, मर्मत र इन्धनमा खर्च गरेको छ । वित्तीय संघीयता कार्यान्वयन सुरु भएसँगै प्रदेशअन्तर्गतका मन्त्रालय, महाशाखा, विभाग र विभिन्न संरचनाहरूले सवारी साधन खरिद, मर्मत र इन्धनमा गरी कुल १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रुपैयाँ खर्च गरेको हेटौंडास्थित प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

गत आर्थिक वर्ष ०७८/७९ मा मात्रै कुल ४७ करोड २६ लाख ६७ हजार रुपैयाँ यो शीर्षकमा खर्च भएको छ । प्रदेश सरकारले साबिकका ७ मन्त्रालयलाई विभाजन गरी १४ वटा पुर्‍याएपछि अन्य शीर्षकको तुलनामा सवारी खरिद, मर्मत र इन्धनमा बढी खर्च भएको हो । मन्त्री, राज्यमन्त्री तथा मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरूका लागि मात्रै गत आवमा ३० करोड १० लाख ४९ हजार ४ सय ६९ रुपैयाँ बराबरको सवारी साधन खरिद गरिएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिए । उनका अनुसार प्रदेशका विभिन्न निकाय र कार्यालयले सवारी मर्मतमा मात्रै ८ करोड १ लाख १४ हजार ७ सय ४९ रुपैयाँ खर्च गरेका छन् । इन्धनमा मन्त्री, कर्मचारीहरूले ९० लाख ३० हजार ८ सय ६४ रुपैयाँ र कार्यालय प्रयोजनमा ८ करोड २४ लाख ७२ हजार २ सय ३८ रुपैयाँ खर्च भएको छ ।

कार्यालयको तथ्यांकअनुसार आव ०७५/७६ मा प्रदेशले २६ करोड ४७ लाख ८३ हजार ४ सय ६४ रुपैयाँ, आव ०७६/७७ मा ३१ करोड १४ लाख ४१ हजार रुपैयाँ र आव ०७७/७८ मा १६ करोड २९ लाख ७ हजार रुपैयाँ सवारी साधन शीर्षकमा खर्च गरेको थियो । हरेक वर्ष सवारीसाधन थपिएसँगै तिनको मर्मत र इन्धनमा पनि करोडौं रुपैयाँ व्ययभार थपिरहेको छ । सवारीसाधन मर्मतमा आव ०७५/७६ मा ३ करोड ९९ लाख ५२ हजार रुपैयाँ, आव ०७६/७७ मा ५ करोड ४० लाख ५८ हजार रुपैयाँ र ०७७/७८ मा ६ करोड ८८ लाख ७ हजार रुपैयाँ खर्च प्रदेशले खर्च गरेको कार्यालयले जनाएको छ ।

यसैगरी, प्रदेश सरकारका मन्त्री तथा कर्मचारीहरूले आव ०७५/७६ मा इन्धनमा १ करोड ६८ लाख ६१ हजार ६ सय २६ रुपैयाँ खर्च गरेका थिए । यो वर्ष कार्यालय प्रयोजनमा २ करोड ६ लाख ५६ हजार ८ सय ९६ रुपैयाँ खर्च भएको थियो । आव ०७६/७७ मा पदाधिकारीतर्फ ३६ लाख ९० हजार ६ सय ३४ रुपैयाँ र कार्यालय प्रयोजनमा ५ करोड ३६ लाख १९ हजार १७७ रुपैयाँ बराबरको इन्धन खर्च भएको थियो । आघिल्लो आवमा ४५ लाख ९८ हजार ८ सय ६४ रुपैयाँ पदाधिकारीतर्फ र ६ करोड ५४ लाख १३ हजार ४ सय ३१ रुपैयाँ बराबरको इन्धनको कार्यालय प्रयोजनमा खर्च भएको थियो ।

प्रदेशले सवारी साधनको भाडा खर्चबापत पनि रकम भुक्तानी गरेको छ । जसअनुसार आव ०७५/७६ मा ३ लाख २५ हजार ६ सय ६१ रुपैयाँ, आव ०७६/७७ मा १ लाख ६६ हजार २ सय ५० रुपैयाँ, आव ०७७/७८ मा ३३ हजार ९ सय रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा पनि सोही अनुपातमा सवारीसाधन भाडाबापत रकम भुक्तानी भएको छ ।

२८ करोडको गाडी किनिँदै

प्रदेशले चालु आर्थिक वर्षमा २७ करोड ६४ लाख २० हजार रुपैयाँको सवारीसाधन किन्ने योजना बनाएको छ । सावरी मर्मतसम्भारका लागि ७३ करोड ८५ लाख ५७ हजार रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले सवारीसाधनमा बर्सेनि खर्च बढ्नु स्वाभाविक भएको दाबी गरे । ‘बर्सेनि सवारीसाधान पुरानो हुँदै जान्छन् । जसले गर्दा खर्च बढ्ने नै भयो ।

मन्त्रालय र मातहतका कार्यालयका दैनिक कामकाजलाई सघाउ पुग्ने भएकाले आवश्यकताको आधारमा सरकारले सवारीसाधन खरिद गरेको हो,’ उनले भने । मन्त्रालय र प्रादेशिक संरचना बढेसँगै सवारीसाधनको आवश्यकता बढी भएको उनको तर्क छ । बर्सेनि बढ्दो सवारी खर्च नियन्त्रण गर्न सरकारले अध्ययन सुरु गरिसकेको उनले बताए । ‘चालु आवमा मन्त्रालयहरूले नयाँ सवारी नकिन्ने भनेका छन्, बजेट पनि त्यहीअनुसार बनाएका छौं,’ उनले भने ।

प्रकाशित : आश्विन १२, २०७९ १०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×