हेटौंडा खसी बजार अस्तव्यस्त

कान्तिपुर संवाददाता

मकवानपुर — हिलो, झाडी, अव्यवस्थित पार्किङका कारण हेटौंडा–१० बसपार्कमा रहेको ‘खसीबोका बजार’ अस्तव्यस्त बनेको छ । दसैं नजिकिएसँगै खसीबोका खरिद गर्न उक्त स्थानमा पुग्ने सर्वसाधारणले हैरानी बेहोर्न बाध्य छन् । वर्षभर खसीबोकाको व्यापार हुने भए पनि यसलाई व्यवस्थित बनाउनेतर्फ कुनै पनि सरोकारवाला पक्षको ध्यान पुग्न सकेको छैन । 

हेटौंडा खसी बजार अस्तव्यस्त

लामो समयदेखि उक्त स्थानमा खसीबोका बिक्री हुँदै आएको छ । स्थानीय तह, प्रदेश र संघीय सरकार कसैले पनि बजार सुधार्न चासो नदिएको दस वर्षदेखि खसीबोका व्यापारमा संलग्न हेटौंडा–१२, पदमपोखरीका मदन बलले गुनासो गरे ।

हेटौंडा उपमहानगरपालिकाले एउटा खसीबोका बिक्रीबापत २५ रुपैयाँ कर संकलन गर्दै आएको छ । कर मात्र संकलन गर्ने र बजार व्यवस्थित नगरेको भन्दै व्यापारी तथा सर्वसाधारणले आक्रोश पोखेका छन् । ‘हामीले मागेअनुसारको कर तिरेकै छौं तर कसैले पनि व्यवस्थित बनाउन पहल गरेनन्,’ बलले भने, ‘विशेष गरी वर्षात्को समयमा हामीलाई समस्या पर्छ । उपमहानगरले खसी ल्याउनेबित्तिकै कर लिन्छ तर केही सुविधा दिँदैन ।’ खसीबोका बाँध्ने स्थान, शौचालय, खानेपानी र ढककाँटाको आवश्यकता रहेको उनले बताए ।

यस स्थानबाट दैनिक ३० लाख रुपैयाँसम्मको खसीबोकाको कारोबार हुने गरेको छ । दसैंका लागि खसी किन्न बसपार्क पुगेका हेटौंडा–११, नवलपुरका नेत्रप्रसाद घिमिरे बजारको अवस्था देखेर डराए । ‘अहिले डेंगीको प्रकोप छ । खसीबोका बजार झाडी नै झाडीले भरिएको छ,’ उनले भने, ‘खसी जोखेर किन्छु भन्दा ढककाँटाको अभावले सम्भव भएन, अन्दाजको भरमा खरिद गरियो ।’ सरोकारवाला निकायले खसीबोकाको मूल्य तोकिदिनुपर्ने उनको माग छ ।

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले खसीबोका बजारलाई व्यवस्थित बनाउन आफूहरूले काम गरिरहेको दाबी गरे । ‘बसपार्कमा रहेको तरकारी बजारलाई हेटौंडा–१ स्थित चौकीटोलमा सार्दै छौं । सोही स्थानमा व्यवस्थित खसीबोका बजार बनाउने योजना छ,’ उनले भने ।

हेटौंडा बजारमा विशेषगरी सिन्धुली, काभ्रेसहित मकवानपुरको मनहरी, फापरबारी, हटिया, हर्नामाडी, नामटार, सामरी र हेटौंडा आसापासबाट खसीबोका बिक्रीका लागि ल्याउने गरिएको छ । हेटौंडाबाट तराईका विभिन्न जिल्ला र राजधानीमा खसीबोका बिक्री हुन्छ । दसैं लागेपछि दैनिक दुई सयभन्दा बढी खसीबोका बिक्री भइरहेका छन् । कोरोना महामारीपछि सबैभन्दा बढी खसी यस वर्ष बिक्री भएको व्यापारीले बताएका छन् ।

प्रकाशित : आश्विन १२, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?