२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

धादिङमा बजार अनुगमन तीव्र

सरिता श्रेष्ठ

धादिङ — धादिङका होटल तथा खाद्यान्न पसलमा अनुगमन तीव्र पारिएको छ । चाडपर्व आउनुपूर्व हरेक वर्षजस्तै यस वर्ष पनि अनुगमन कार्यलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । प्रशासन कार्यालय र जिल्ला घरेलु कार्यालय धादिङको संयुक्त आयोजनामा जिल्लाको राजमार्ग क्षेत्र, धादिङबेसी बजार क्षेत्र तथा ग्रामीण क्षेत्रका बजार अनुगमन गरिएको हो ।

धादिङमा बजार अनुगमन तीव्र

अनुगमनका क्रममा सोमबार पृथ्वी राजमार्गअन्तर्गत गजुरी, बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिकामा सञ्चालित होटल, पसल, कोल्ड स्टोर्स तथा सप्लायर्सहरूलाई जरिवानासमेत गरिएको छ । चारवटा होटल तथा खाजाघर, आठवटा सप्लायर्स तथा किराना पसल गरी १२ वटा फर्महरूको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा करिब १५ हजार ६ सय रुपैयाँ बराबरको म्याद गुज्रेका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको छ ।

अनुगमन समितिले मापदण्डविपरीत सञ्चालनमा आएका राजमार्ग क्षेत्रका ६ वटा पसललाई कारबाहीस्वरुप जरिवाना गराएको छ । बेनिघाट रोराङ ३, शीतल बजारमा सञ्चालित होटल तीन भाइलाई १० हजार, भैरवीनाथ भोजनालयलाई २० हजार, श्रवण होटललाई ५ हजार, गजुरी गाउँपालिका २ मा सञ्चालित दनै सप्लायर्सलाई ५ हजार, रावल सप्लायर्सलाई ५ हजार र सिद्धलेक गाउँपालिका १ बैरेनीको वारीपारी इन्टरप्राइजेजलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

अनुगमन टोलीले जिल्लाको नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी गाउँपालिकामा पनि अनुगमन गरिएको छ । नेत्रावती डबजोङ ३ र ४ मा ८ वटा किराना पसल र एउटा होटलमा अनुगमन गरिएको छ । ९ वटा फर्ममा गरिएको अनुगमनमा १० हजार २ सय रुपैयाँ बराबरको म्याद गुज्रेका तथा सडेगलेका सामानहरूसमेत जफत गरिएको छ । अनुगमनका क्रममा जे.पी. श्रेष्ठ इन्टरप्राइजेजलाई १० हजार, श्रेष्ठ स्टोर्सलाई ५ हजार, सामरी सप्लायर्सलाई ५ हजार र प्रेमिका किराना स्टोर्सलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका २ को कमल किराना स्टोरलाई ५ हजार, सुमन फार्मेसीलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । ग्रामीण क्षेत्रमा सञ्चालित किराना पसलहरूमा म्याद गुज्रिएका सामानहरू बढी भेटिने गरेका छन् । कारबाहीमा परेका होटलहरूले निर्धारित मूल्यभन्दा बढी रकम लिएको; सरसफाइमा ध्यान नदिएको पाइएकाले जरिवाना तिराइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको हो । उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न जिल्ला अनुगमन टोलीले आग्रहसमेत गरेको छ ।

आफ्ना व्यवसायहरू दर्ता गरी व्यवस्थित रुपमा सञ्चालन गर्न धादिङ उद्योग वाणिज्य संघ र स्थानीय तहहरूले पनि अनुरोध गरिरहेका छन् । नीलकण्ठ नगरपालिका ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले आफ्ना व्यवसाय स्थलमा सबैले देख्ने ठाउँमा मूल्यसूची राख्न, म्याद नाघेको तथा अखाद्य सामान बिक्री नगर्न अनुरोध गरेको छ । ‘ढक तराजु अनिवार्य प्रमाणित गरेको हुनुपर्छ’, उनले भने, ‘चाडपर्वमा भीडभाड हुने र दैनिक उपभोग्य सामानहरूको मूल्य बढाइने भएका कारण सचेत रहनुपर्छ ।’

चाडपर्वको मौका छोपेर विशेष त पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लामा सञ्चालित होटलहरूले खाना, खाजाको मूल्य बढी लिने गरेको गुनासो यात्रुहरूले गर्दै आइरहेका छन् । बढी नै मूल्य तिरे पनि स्वच्छ, ताजा र गुणस्तरको वस्तु तथा चीजहरू खान पाएका छैनन् । गत भदौ दोस्रो साता १८ वटा होटल तथा खाजा घरहरूको अनुगमन गरिएकोमा ११ वटा होटललाई कारबाही गरिएको थियो । जिल्लाका विभिन्न स्थानमा अखाद्य वस्तुको बिक्री भएको; तोकिएको मूल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिइएको बताइएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?