कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक्स्काभेटरबाट खोला वारपार

राजकुमार कार्की

सिन्धुली — वर्षाका कारण भालुखोलामा जलस्तर बढेपछि स्थानीयलाई एक्स्काभेटरको सहायताले वारपार गराउँदै आइएको छ । सिन्धुलीमाडी–तीनपाटन–चकमके सडक खण्डमा पर्ने तीनपाटन गाउँपालिका–११ स्थित भालुखोलामा बाढी आएकाले ३ दिनयता साना तथा ठूला सवारीसाधन वारपार गर्न सकेका छैनन् ।

एक्स्काभेटरबाट खोला वारपार

गाउँपालिकाले दुर्घटना नहोस् भनेर पालिकाकै एक्स्काभेटर भालुखोला क्षेत्रमै राखेको छ । खोलामा बाढी घट्नासाथ यात्रुहरूलाई वारपार गराउने काममा मद्दत पुगोस् भनेर एक्स्काभेटर परिचालन गरिएको पालिका अध्यक्ष कर्णबहादुर थापामगरले बताए ।

बा१क ३२५९ नम्बरको एक्स्काभेटरको बकेटमा राखेर यात्रुलाई खोल वारपार गराउँदै आइएको छ । सिन्धुलीमाडी–चकमके सडक निर्माण गर्दा भालु खोलामा लच्का राखिएको छ । बाढी लच्कामाथिबाट बहने भएकाले सवारीसाधन र यात्रु वारपार गर्न सक्दैनन् । ‘राजधानी तथा अन्य सहरबाट दसैंलाई लक्षित गरी गाउँघर फर्किनेहरूको क्रम सुरु भइसकेको छ । यस्तोमा बाटोमै यात्रु अलपत्र नहुन् भन्न एक्स्काभेटरको प्रयोग गरी वारपार गराउँदै आइएको हो,’ थापामगरले भने ।

सडक निर्माण गर्दा ख्याल नगर्दा पानी पर्नासाथ बाढी आएर यात्रुले दुःख पाउने गरेको चकमकेबाट सदरमुकाम आउँदै गरेका रामजी काफ्लेले बताए । उनी सोमबार भालु खोला थर्न नसक्दा ३ घण्टा बगरमै रोकिएका थिए । पछि एक्स्काभेटरको बकेटमै चढेर खोला तरेको उनले सुनाए ।

वर्षाका कारण जिल्लाका ग्रामीण सडक बिग्रिएका छन् । सडकमा पहिरो जाने, भासिने, खाल्डाखुल्डी र हिलाम्मे हुँदा धेरै स्थानको आवागमन ठप्प छ ।

प्रकाशित : आश्विन ११, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?