कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

मकवानपुर र चितवनमा ३ हजारभन्दा बढीमा डेंगी

हेटौंडामा मात्रै झन्डै २२ सय जनामा संक्रमण, सबैजसो अस्पतालका शय्या ज्वरोका बिरामीले भरिभराउ
ज्वरोलाई सामान्य नठान्न र बेलैमा उपचार गर्न चिकित्सकको आग्रह

हेटौंडा, चितवन — मकवानपुर र चितवनमा डेंगीले महामारीकै रूप लिएको छ । दुवै जिल्लामा गरी हालसम्म ३ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । यो क्रम हरेक दिन बढ्दो छ । आइतबार मात्र मकवानपुरमा २ सय ३७ जना संक्रमित पहिचान भएका छन् ।

मकवानपुर र चितवनमा ३ हजारभन्दा बढीमा डेंगी

त्यसमध्ये २ सय ७ जना हेटौंडाका छन् । योसँगै मकवानपुरमा संक्रमितको संख्या २ हजार ४ सय १८ जना पुगेको छ । त्यसमध्ये हेटौंडाका मात्रै २ हजार १ सय ९६ जना छन् । स्वास्थ्य कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मण घिमिरेका अनुसार जिल्लामा डेंगी संक्रमणबाट एक बालकको मृत्यु भएको छ । हालसम्म हेटौंडासहित मकवानपुरगढी थाहा, मनहरी, बकैया, वाग्मती, भीमफेदी, राक्सिराङ र कैलाशमा पनि संक्रमण फैलिइसकेको छ । ‘इन्द्रसरोवर गाउँपालिकामा भने डेंगी विस्तार भइसकेको छैन,’ उनले भने ।

संक्रमितको संख्या अत्यधिक रहेकाले हेटौंडाका सरकारी एवं निजी अस्पताल बिरामीले भरिभराउ छन् । हेटौंडा–४ र ५ मा सबैभन्दा धेरै जनामा डेंगी संक्रमण पुष्टि भएको छ । संक्रमण विस्तारलाई रोक्न उपमहानगरले १९ वटै वडामा जनचेतना अभियान, लामखुट्टेको लार्भा नष्ट गर्ने, सरसफाइको कार्य गरिरहेको उपमहानगर प्रमुख मीना लामाले बताइन् । ‘यसका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी खटाइएको छ । डेंगु परीक्षण कीट पनि अस्पताललाई उपमहानगरले उपलब्ध गराएको छ,’ उनले भनिन् ।

यता, चितवनमा सन् २०१० यता हरेक ३ वर्षको अन्तरालमा डेंगीले अत्याउने गरेको छ । सन् २०१९ मा डेंगीले चितवनमा महामारीकै रूप लिएको थियो । त्यसबेला १९ हजार २ सय ३० जनामा परीक्षण गर्दा ४ हजार ८ सय ३ जनामा संक्रमण पुष्टि र ३ जनाको मृत्यु भएको थियो ।

यो वर्ष भने संक्रमितको संख्या काठमाडौंको तुलनामा केही कम छ । संख्या कम भए पनि संक्रमितको मृत्यु भएका कारण सतर्कता भने अपनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दुर्गादत्त चापागाईंका अनुसार साउनयता असोज ९ सम्म ६ सय १ जनामा डेंगी पुष्टि भएको छ । तीमध्ये ३ सय ९० जना चितवनवासी हुन् भने ७७ जनाको ठेगाना खुलेको छैन । बाँकी १ सय ३४ जना बाहिरी जिल्लाका हुन् । ३ हजार ९ सय १९ जनाको परीक्षण गर्दा उक्त तथ्य बाहिर आएको हो । डेंगीकै कारण गत असोज २ मा रत्ननगर नगरपालिका–१ का २८ वर्षीय युवकको मृत्यु भएको थियो ।

‘संक्रमितको संख्या तुलनात्मक रूपमा धेरै छैन तर संक्रमितको मृत्यु नै भएको घटनाले हामीलाई संवेदनशील भने बनाएको छ,’ कार्यालय प्रमुख चापागाईंले भने, ‘संक्रमण पुष्टि भएका व्यक्ति घरमै बसेका थिए । साह्रै सिकिस्त भएपछि भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेल शिक्षण अस्पताल ल्याइएकामा त्यही दिन नै उनको मृत्यु भएको थियो ।’ ती युवकको उपचारमा संलग्न डा. आलोक प्रधानले ज्वरो र लगातार बान्ता भएपछि उपचारका लागि मध्याह्न अस्पताल ल्याइएका ती युवकको २ घण्टा नबित्दै मृत्यु भएको बताए ।

‘ज्वरोलाई सामान्य नठानौं । भरपर्दो स्वास्थ्यकर्मीको सल्लाह लिऔं । आत्तिहाल्न त पर्दैन तर स्वास्थ्यकर्मीसँग सम्पर्क गरेपछि उसले परीक्षण गर्नुपर्ने/नपर्ने, परीक्षण गरेपछि के–के गर्ने भन्ने बुझाउँछ,’ चापागाईंले भने ।

जिल्लामा असार दोस्रो सातापछि नै डेंगीका संक्रमितहरू देखा परेका थिए । अहिले दिनमा १५/२० जनामा संक्रमण पुष्टि हुने गरेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । डेंगी फैलन सक्ने समय असोज/कात्तिक नै भएको उनले बताए । पछिल्ला दिनहरूमा संक्रमण दर बढ्दो क्रममा रहेका कारण सचेत र सजग रहन उनले अपिल गरे । एडिस जातको लामखुट्टेले टोकेमा यो रोग लाग्ने गर्छ । यो लामखुट्टे दिउँसो सक्रिय हुन्छ ।

चितवनका सातैवटा पालिकामा डेंगी संक्रमण फैलिएको छ । अहिले जिल्लाभर नै संक्रमण नियन्त्रण अभियान चलाइएको प्रमुख चापागाईंले बताए । ‘अहिले काठमाडौंको तुलनामा संख्या थोरै देखिए पनि फैलन सक्ने खतरा कायमै छ । त्यसैले पालिकाहरूलाई डेंगी नियन्त्रणमा लाग्न भनेका छौं,’ जिसस अध्यक्ष नारायणप्रसाद अधिकारीले भने ।

यहाँका अस्पतालहरूमा ज्वरोका बिरामीको चाप बढेको छ । ‘भरतपुर अस्पतालको मेडिकल वार्डका ७५ शय्या नै ज्वरोका बिरामीले भरिएका छन् । त्यसमा डेंगीका बिरामी तेस्रो नम्बरमा छन् । डेंगीका बिरामीको अवस्था त्यस्तो नाजुक नै त छैन । त्यसैले आत्ती नै हाल्नु त नपर्ला तर सजग रहन आवश्यक छ,’ भरतपुर अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले भने । अस्पतालमा डेंगीमा जस्तै उच्च ज्वरो आउने स्क्रब टाइफसका बिरामीहरू डेंगीका भन्दा धेरै रहेको उनले बताए ।

नेपालमा सबैभन्दा पहिला सन् २००४ मा चितवनमै संकलन भएको नमुना परीक्षणमा एक विदेशीमा डेंगी पुष्टि भएको थियो । त्यसपछि सन् २००९ मा चितवनमै ९ जनामा संक्रमण भयो । त्यसको १ वर्षपछि चितवनमा डेंगीले पहिलो पटक महामारीको रूप लियो । त्यो वर्ष ७ सय ३९ जनामा संक्रमण देखिएको थियो । त्यसपछिसन् २०१३ मा पनि ७ सयको हाराहारीमा संक्रमित भएका थिए ।

प्रकाशित : आश्विन ११, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?