बीपी राजमार्गमा खाल्डैखाल्डा

सिन्धुली — सवारी चाप, क्षमताभन्दा बढी भारका साधन र न्यून गुणस्तरको चलाउँदा बीपी राजमार्गको बनेपा–बर्दिबास खण्डमा खाल्डैखाल्डा भएका छन् । चार महिना अगाडि टालटुल पारिएका खाल्डा फेरि उस्तै बनेका छन् । बर्खा अगाडि मर्मत भएको नेपालथोक–धुलिखेल चौथो खण्डमा ५० किलोमिटर पार गर्न तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको चालकको गुनासो छ ।

‘पुल नभएको ठाउँमा त खाल्डाखुल्डी छँदै थियो, अहिले धेरैजसो स्थानमा कालोपत्र उप्किएर सडक भत्किएको छ,’ बोलेरो चालक गीता पहाडीले भने, ‘डेढ घण्टा लाग्ने ३० किलोमिटर पार गर्न तीन घण्टाभन्दा बढी समय लाग्छ ।’ बर्दिबादेखि सिन्धुली, सिन्धुलीमाडी–खुर्कोट, खुर्कोट–नेपालथोक खण्डमा पनि धेरै ठाउँमा खाल्डाखुल्डी हुनुका साथै सडक भत्किएको छ । खुर्कोट बजारनजिक सुनकोसीले सडक झार्दा एकतर्फी बनाइएको छ ।

सवारी व्यवस्थापन र समयमा उचित मर्मत सम्भार नहुँदा राजमार्गमा दुर्घटना बढ्ने र चाडबाडमा हुने चापमा धेरै समय लाग्ने स्थानीय कृष्णहरि घिमिरे बताउँछन् । उनी भन्छन्, ‘सवारी चाप बढ्दो छ, सडक साँघुरो र खाल्डा भएकाले दुर्घटना खतरा भएको हो ।’ अत्यधिक सवारी चाप र सडक मर्मतलाई ध्यान नदिँदा बीपी राजमार्ग कुरूप बन्न थालेको छ । राजमार्गसँग जोडेर भवन निर्माण गर्ने क्रममा घडेरी खार्दा पनि खाल्डैखाल्डा भएका छन् । २६ अर्ब लगानीमा उक्त राजमार्ग बनाएको हो । पछिल्लो समय सुनकोसी आसपासमा क्रसर उद्योग खुल्नेक्रम बढेसँगै राजमार्गमा टिपरसमेत धेरै गुड्न थालेका छन् । बर्दिबास–सिन्धुली–बनेपा सडक आयोजनाका प्राविधिक रमेश आचार्यका अनुसार वर्षाले क्षति पुगेको सडकमा खाल्डाखुल्डी भएका कतिपय स्थानमा मर्मतको काम भइरहेको बताउँछन् ।

प्रकाशित : आश्विन ९, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?