रैथाने बाली उत्पादनमा अनुदान

बाँझो जग्गामा कोदो र फापर खेती गर्नेलाई प्रतिरोपनी ९ सय रूपैयाँ अनुदान, भण्डारण र बजारको पनि व्यवस्था
प्रताप विष्ट

हेटौंडा — मकवानपुरगढी गाउँपालिकाले बाँझो जग्गाको उपयोग गरी रैथानी बाली उत्पादन तथा खरिद गर्नेलाई अनुदान दिने व्यवस्था गरेको छ । पालिकाले बाँझो जग्गामा कोदो र फापरजस्ता रैथाने बाली लगाउने किसानलाई प्रतिरोपनी ९ सय रुपैयाँ अनुदान दिने भएको हो ।

रैथाने बाली उत्पादनमा अनुदान

यसैगरी, बाँझो जग्गामा आँप, कटहर, सुन्तला, कागतीलगायत फलफूल खेती गरे प्रतिरोपनी २ हजार रुपैयाँ र अन्न, तरकारी, नगदेबाली, मसलाजन्य खेती गरे प्रतिरोपनी २ हजार ५ सय रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ । कोरोना महामारीका समयमा पालिकाले उपलब्ध गराएको राहत प्राप्त गर्ने विपन्न र मजदुरको परिवारले आफ्नो स्वामित्वमा रहेको वा भाडामा लिएर बाँझो जमिनमा अन्न, तरकारी, फलफूल तथा मसलाजन्य खेती गरेमा प्रतिरोपनी ३ हजार रुपैयाँका दरले अनुदान पाउने कार्यविधिसमेत पालिकाले बनाएको छ । बाँझो जग्गामा ३० वटा बाख्रा, ५ वटा गाई–भैंसी वा १० वटा बंगुर पाल्नेलाई एक लाख रुपैयाँसम्म अनुदान दिइने बताइएको छ । खेतीयोग्य जग्गा बाँझो राखेमा पालिकाले प्रदान गर्ने सेवासुविधाबाट वन्चित गर्नेसम्मको नीति बनाइएको गाउँपालिका अध्यक्ष दोर्जे लामाले बताए ।

उनका अनुसार स्थानीयको आयआर्जन बढाउन रैथाने बाली संरक्षणसँगै कोदो र फापरको मूल्यसमेत निर्धारण गरिएको छ । पालिकाले कोदोको मूल्य प्रतिकिलो ४८ रुपैयाँ र फापरको ८० रुपैयाँ तोकेको छ । कोदो र फापर उत्पादन गर्ने किसानलाई प्रतिकिलो २ रुपैयाँ र खरिद गर्ने सहकारीलाई पनि प्रतिकिलो २ रुपैयाँ नै अनुदानको व्यवस्था गरिएको छ । जिल्लामा स्थानीयस्तरमै उत्पादित खाद्यान्नको मूल्य निर्धारण गर्ने यो पहिलो पालिका हो । पालिकाकै सहयोगमा मकवानपुरगढी–४ कालीखोलामा कोदो र फापर संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिएको छ । उक्त केन्द्रको पालिका अध्यक्ष लामाले मंगलबार उद्घाटन गरे ।

अपांग तथा विपन्न सहकारी संस्था र पालिकाको लागत साझेदारीमा निर्मित उक्त केन्द्रको उद्घाटन गर्दै अध्यक्ष लामाले कोदो र फापर पौष्टिक हिसाबले महत्त्वपूर्ण बाली भएको र यसको बजार माग क्रमशः वृद्वि हुँदै गइरहेकाले किसानलाई खेती विस्तार गर्न आग्रह गरे । सहकारीमार्फत कोदो र फापर संकलन गरी त्यसको पिठोलाई प्याकेजिङ गरी बजारीकरण गर्न पनि पालिकाले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

२ वर्षदेखि नै उक्त सहकारीले कोदो संकलन गर्दै आइरहेकोमा भवन अभावका कारण व्यवस्थित हुन सकेको थिएन । अब भण्डारण र पिसानीका लागि मिलसहितको भवन बनेसँगै कोदो र फापर संकलन, भण्डारण तथा प्रशोधन र प्याकेजिङ गरी बजारीकरणसमेतमा सहजता थपिने सहकारीका सचिव कृष्णबहादुर घलानले विश्वास व्यक्त गरे । सहकारीले स्थानीयस्तरमै संकलन सुरु गरेपछि यस भेगमा कोदो र फापर खेतीको समेत विस्तार भएको उनले बताए ।

सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनका अनुसार गत वर्ष वडा–४ बाट मात्र १३ हजार ५ सय किलो कोदो संकलन गरिएको थियो । यसवर्ष अन्य वडाहरूबाट समेत कोदोसँगै फापर पनि संकलन गर्ने लक्ष्य लिइएको छ । मकवानपुरगढीभर यसवर्ष ३ सय हेक्टरमा कोदो र २० हेक्टर क्षेत्रफलमा फापर खेती गरिएको पालिकाका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरले बताए ।

‘विगतका वर्षहरूमा स्थानीयले कोदो र फापरको खेती गर्नै छाडिसकेका थिए,’ उनले भने, ‘पालिकाले मूल्य निर्धारण र उत्पादन–खरिदमा अनुदान दिने व्यवस्था गरेपछि खेती गर्ने बढेका छन् ।’ पालिकाले निर्धारण गरेको मूल्यअनुसार नै सहकारीले कोदो र फापर खरिद गर्दै आएको छ । हालै मात्रै ११ जना स्थानीयले बाँझो रहेको ६० रोपनी जग्गामा कोदो र फापर खेती सुरु गरेका उनले जानकारी दिए ।

प्रकाशित : आश्विन ८, २०७९ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?