३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

माछाको अवैध आयात रोक्न सडकमै पहरा

स्थानीय उत्पादन बिक्री नहुने तर आयातित माछा छ्याप्छ्याप्ती हुन थालेपछि किसान र प्रहरीद्वारा निगरानी
रमेशकुमार पौडेल

चितवन — पोखरीका माछा नबिक्ने तर बजारमा भारतबाट आएका माछा छ्याप्छ्याप्ती हुन थालेपछि चितवनका माछा उत्पादक किसानले सडकमै पहरा दिन थालेका छन् । माछा आयात गर्न बन्देज छैन । तर, अवैध तरिकाले भारतबाट ल्याइएका माछाले नेपाली बजार र खास गरेर काठमाडौं ढाक्न थालेपछि आफूहरू सडकमै उत्रिनुपरेको नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले बताए ।

माछाको अवैध आयात रोक्न सडकमै पहरा

उनका अनुसार संघका पदाधिकारीहरू असोज १ देखि माछा काठमाडौं भित्रिने नाका सिन्धुलीका भिमान, मकवानपुरको रातमाटे र चितवनको रामनगरमा अनुगमनमा बसेका छन् । जनपद र सशस्त्र प्रहरीसहित संघका प्रतिनिधिहरूले सडकमा पहरा नै दिएका छन् । माछा भेटिएमा क्वारेन्टिन चेकपोस्टका प्रतिनिधिहरूलाई पनि बोलाउँछन् । भेटिएका माछा अवैध रूपमा नेपाल भित्र्याएको पाइए नष्ट गर्ने गरेको उनले बताए ।

रामनगरको पशु क्वारेन्टिन चेकपोस्टका पशु स्वास्थ्य प्राविधिक श्रीस गौतमले हालसम्म ६४ कार्टुन माछा नष्ट गरेको जानकारी दिए । उनका अनुसार असोज ४ मा रूपन्देहीमा किनेको नेपाली माछाको बील बनाएर ५० कार्टुन माछा ल्याएको गाडी फेला परेको थियो । व्यवसायीले सोधखोज गर्दा माछा रूपन्देहीबाट नकिनेको पत्ता लाग्यो । पछि माछा ल्याउने व्यक्तिले नै भारतबाट अवैध तरिकाले ल्याएको स्वीकार गरेका थिए ।

‘माछा खराब भएको थियो । ५० वटा कार्टुनमा २ हजार किलो माछा थियो । गन्हाउन थालेको माछा खानयोग्य पनि थिएन । सोधखोज गर्दा ल्याउने मान्छेले नै भारतबाट ल्याएको भनेपछि त्यसलाई नष्ट गर्‍यौं,’ उनले भने । त्यसको अघिल्लो दिन बसको डिक्कीमा राखेर ल्याएको १४ कार्टुन माछा पनि फेला परेको थियो । जसमध्ये १२ कार्टुन नैनी जातको, एक कार्टुन रहु र एक कार्टुन पंगास जातको माछा थियो ।

‘१२ कार्टुन माछा नेपाली नै हो भनियो । २ कार्टुन माछा भारतबाट ल्याएको भनेर भन्सार बिल नै देखाइएको थियो । ती कार्टुनहरूमा ५६० केजी माछा थियो । सबै कार्टुनको माछा कुहिएर गन्हाएको थियो । त्यसैले त्यो पनि नष्ट गर्‍यौं,’ उनले भने । रामनगरमा माछा किसान र प्रहरीले संयुक्त अनुगमन गरिरहेका र शंकास्पद अवस्था देखा परे आफूहरूलाई बोलाउने गरेका उनले सुनाए ।

चितवन प्रशासनले माछा अनुगमनमा सहयोग गर्न मौखिक निर्देशन दिएको छ । सरकारले ६ महिनाअघि माछा आयात रोकेको थियो । तर, पछि खुलायो । एक महिनायता एलसी खोलेर माछा आयात गर्न सुरु भएको उनले जानकारी दिए । विदेशबाट आयात गरेको वा जिल्ला कटाएर माछा, कुखुरा र पशु चौपाया ओसारपसार गर्दा क्वारेन्टाइन चेकपोस्टमा भेटेरिनरी चिकित्सकले जारी गरेको स्वस्थ प्रमाणपत्र अनिवार्य देखाउनुपर्छ ।

‘तर, अहिलेसम्म यो चेकपोस्टमा भारतबाट आएको माछा भनेर कसैले कागजपत्र देखाएको थिएन । किसानहरूको अनुगमनले बसको डिक्कीमा राखेकोमध्ये २ कार्टुन माछा भारतीय हो भन्ने कागजपत्र देखाइयो,’ उनले भने ।

मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष सुवेदी भारतबाट अवैध रूपमा माछा ल्याउने र नेपाली भनेर बेच्ने परिपाटी व्यापक रहेको दाबी गर्छन् । ‘चितवनमा अहिले चार हजार टन माछा बिक्रीका लागि तयार छ । तर बिक्री ठप्प छ । बजारमा अनेक तौरतरिका अपनाएर भारतीय माछा आएका कारण यस्तो भएको हो,’ उनले भने । किसानले प्रतिकेजी २३५ रुपैयाँ लागतमा माछा उत्पादन गरिरहेका उनले जनाए । ‘तर, यही लागत मूल्यमा माछा दिन्छौं भन्दा पनि बिक्री भएको छैन । हाम्रा माछा पोखरीमै छन् । भारतीय माछा बजारभरि भयो,’ उनले थपे ।

नियमपूर्वक आउने माछालाई आफूहरूले रोकतोक नगरेको पनि उनले स्पष्ट पारे । ‘तर, नियमपूर्वक भारतीय माछा आएको छैन । क्वारेन्टिन चेकपोस्टको विवरणले पनि त्यही देखाउँछ । यस्तो अवस्थाले नेपाली माछा उत्सादक किसानहरू ठूलो मारमा परेको हुँदा हामी सडकमै आउनुपरेको हो,’ उनले भने । तर, किसान र प्रहरीले संयुक्त रूपमा अनुगमन गर्दा पनि ठूलो परिणाममा माछा भेटिएको छैन ।

हालसम्म भिमानमा २१ सय केजी र मकवानपुर रातमाटेमा ३ क्रेट माछा फेला परेको उनले बताए । ‘हामीले जाँच गर्दै छौं भन्ने खबरपछि माछा नपठाएको पनि हुन सक्छ । या अन्य उपाय लगाएको पनि हुन सक्छ । हामी अझै व्यवस्थित तरिकाले सडकमा निगरानी बढाउने योजनामा नै छौं,’ उनले भने ।

प्रकाशित : आश्विन ७, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?