१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रदेश गौरवको योजनामा दोलखाको जिरी र धादिङको रुबी भ्याली समावेश गर्ने निर्णय

रासस

काठमाडौँ — वाग्मती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरी र धादिङको रुबी भ्याली क्षेत्रलाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गरेको छ ।

प्रदेश गौरवको योजनामा दोलखाको जिरी र धादिङको रुबी भ्याली समावेश गर्ने निर्णय

बिहीबार बसेको बैठकले जिरीमा मानव निर्मित ताल निर्माण गर्ने योजनालाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । उनका अनुसार कूल एक अर्ब रुपैयाँ खर्च अनुमान गरिएको सो ताल निर्माणका लागि चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरिसकेको छ ।

त्यस्तै मानव स्रोतसाधन सूचकमा कमजोर रहेको धादिङ जिल्लाको रुबी भ्यालीलाई पनि प्रदेश गौरवको योजनामा समावेश गरी एकीकृत विकास परियोजनाअन्तर्गत काम अघि बढाउने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको मातहतमा रहने गरी स्थापना गर्न लागिएको विज्ञान प्रविधि विश्वविद्यालयका लागि जग्गा छनोट गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव संयोजक रहनेगरी कार्यदल गठन गर्ने निर्णय भएको हो । सो कार्यदलको सदस्यमा क्रमशः भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, सदस्य छन् ।

प्रदेश सरकारले अब ५० लाख रुपैयाँसम्मको काम उपभोक्ता समितिबाट गराउने निर्णय गर्नुका साथै पर्यटन व्यवसायीलाई उकास्न प्रोत्साहन कार्यक्रम अघि सार्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय खेल घोषणा भएका जुनसुकै खेलमा स्वर्ण पदक पाउने खेलाडीलाई प्रदेश सरकारको तर्फबाट प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि निर्णय गरेको प्रवक्ता खनालले जानकारी दिए ।

प्रकाशित : आश्विन ६, २०७९ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?