प्रदेश गौरवको योजनामा दोलखाको जिरी र धादिङको रुबी भ्याली समावेश गर्ने निर्णय- वाग्मती - कान्तिपुर समाचार

प्रदेश गौरवको योजनामा दोलखाको जिरी र धादिङको रुबी भ्याली समावेश गर्ने निर्णय

रासस

काठमाडौँ — वाग्मती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरी र धादिङको रुबी भ्याली क्षेत्रलाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गरेको छ ।

बिहीबार बसेको बैठकले जिरीमा मानव निर्मित ताल निर्माण गर्ने योजनालाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । उनका अनुसार कूल एक अर्ब रुपैयाँ खर्च अनुमान गरिएको सो ताल निर्माणका लागि चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरिसकेको छ ।

त्यस्तै मानव स्रोतसाधन सूचकमा कमजोर रहेको धादिङ जिल्लाको रुबी भ्यालीलाई पनि प्रदेश गौरवको योजनामा समावेश गरी एकीकृत विकास परियोजनाअन्तर्गत काम अघि बढाउने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको मातहतमा रहने गरी स्थापना गर्न लागिएको विज्ञान प्रविधि विश्वविद्यालयका लागि जग्गा छनोट गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव संयोजक रहनेगरी कार्यदल गठन गर्ने निर्णय भएको हो । सो कार्यदलको सदस्यमा क्रमशः भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, सदस्य छन् ।

प्रदेश सरकारले अब ५० लाख रुपैयाँसम्मको काम उपभोक्ता समितिबाट गराउने निर्णय गर्नुका साथै पर्यटन व्यवसायीलाई उकास्न प्रोत्साहन कार्यक्रम अघि सार्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय खेल घोषणा भएका जुनसुकै खेलमा स्वर्ण पदक पाउने खेलाडीलाई प्रदेश सरकारको तर्फबाट प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि निर्णय गरेको प्रवक्ता खनालले जानकारी दिए ।

प्रकाशित : आश्विन ६, २०७९ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्

विवेकशील साझाको प्रवक्तामा परियार

कान्तिपुर संवाददाता

काठमाडौँ — विवेकशील साझा पार्टीले प्रवक्तामा संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ। पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका परियारले पार्टी विधानको भाग १२ को दफा ७२ (४)६ र ७२ (४) ७ बमोजिम प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

अध्यक्ष समीक्षा बाँस्कोटाले परियारलाई पार्टीको प्रवक्तामा नियुक्त गरेकी हुन् । विवेकशील साझाको संस्थापकमध्येका एक नेता परियार पूर्वपत्रकार हुन् ।

सुनसरीका स्थायीबासी परियारले आमसंचारमा स्नातकोत्तर गरेका छन् भने अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियावाट नेतृत्व विकासको सीप सिकेका छन् । एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका परियारले विवेकशील साझा स्थापनादेखि पार्टीका विभिन्न जिम्मेवारी निभाएका छन् ।

प्रवक्तामा नियुक्त भएपछि नेता परियारले सामाजिक रूपान्तरण र समृद्धिका लागि असल मानिसहरू राजनीतिमा नहोमिएसम्म मुलुकको मुहार फेर्न असम्भव हुने बताए । उनी भ्रष्टाचार विरोधी, इमानदार र मिलनसार युवा नेताकारुपमा चिनिन्छन् ।

प्रकाशित : आश्विन ६, २०७९ २०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×