२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नुवाकोटका १ हजार ६७३ उम्मेदवारलाई जरिवाना

कृष्ण थापा

नुवाकोट — गत वैशाखको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका जिल्लाका १ हजार ६७३ जनालाई जरिवाना तोकिएको छ । समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाएपछि निर्वाचन आयोगले हालै ती उम्मेदवारहरुलाई जरिवाना तोकेको हो । कानुनत: निर्वाचित भएको एक महिनामा निर्वाचन आयोगमा खर्च विवरण बझाउनुपर्ने प्रावधान छ । 

निर्धारित समयमा ३ सय ३० जना उम्मेदवारले मात्रै निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले बताए । उनका अनुसार स्थानीय तह निर्वाचनमा पालिकाको वडा सदस्यलाई १ लाख ५० हजारदेखि महानगरपालिकाका प्रमुखसम्मलाई ७ लाखसम्म जरिवाना गर्ने कानुनी प्रावधान छ ।

जिल्लामा पालिका तह, कार्यपालिका सदस्य र जिल्ला समन्वय समिति गरेर तीन चरणको निर्वाचनमा २ हजार ३ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ३ को २ मा छ महिनासम्म निर्वाचन खर्च नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने उल्लेख छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत पालिका, कार्यपालिका र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा कारबाहीस्वरुप नुवाकोटमा २९ करोड ६८ लाख रुपैयाँ जरिवाना रकम हुन आउने निर्वाचन कार्यालय प्रमुख गौतमले बताए । उक्त रकम संचित कोषमा दाखिला गरेर निर्वाचन आयोगको कार्यालय कोडमा रकम बुझाएर भौचर निर्वाचन कार्यालयमा बुझाउनुपर्ने उनले बताए ।

नुवाकोटमा १२ वटा स्थानीय तहमा ८८ वटा वडा, १० गाउँपालिका र २ नगरपालिका छन् । एक जिल्ला समन्वय समिति छ । मतदाता २ लाख ३९ हजार ७२६ जना छन् ।


प्रकाशित : आश्विन ६, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?