कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भवन भत्काएर ८ वर्षदेखि टहरामा कक्षा

चीनले बनाइदिने समझदारी भएपछि विद्यालयले भवन भत्काएर जग्गा खाली गरेको थियो, सम्झौताको आठ वर्षसम्म पूर्वाधार निर्माण सुरू नहुँदा शिक्षक–विद्यार्थी खिन्न 
केदार शिवाकोटी

दोलखा — काठ मक्किएर भाँचिने अवस्थामा पुगेका छन् । पानी पसेर कोठा हिलाम्मे छ । ओतका लागि हालिएका जस्ता चुहिएर डेस्क–बेन्च मक्किन थालेका छन् । जिल्लाकै पुरानो मध्य भएक जिरी माध्यमिक विद्यालयका बालबालिका आठ वर्षदेखि यस्तैमा अध्ययन गर्छन् ।

भवन भत्काएर ८ वर्षदेखि टहरामा कक्षा

०७२ को भूकम्पपछि जिल्लाभरका विद्यालयमा अत्याधुनिक भवन बनिसकेका छन् । जिल्लाकै जेठो विद्यालय भने भवन नबनेर झन् थला परेको छ । पर्यटकीय नगरी जिरीमा रहेको जिरीमा माविमा ६ सय ५० भन्दा बढी विद्यार्थी हरेक दिन सकस मानेर जीर्ण अस्थायी टहरामा पढ्छन् । ‘घाम लाग्दा जस्ता तातेर उकुसमुकस, पानी पर्दा चुहिएर किताबै भिज्ने र शिक्षकले पढाएको केही सुनिँदैन,’ छात्रा ऋतिका खड्का भन्छिन् ।

१० कक्षाका छात्र कैलाश जिरेलले टहरा जीर्ण भएको कक्षामा पढ्दा डर लाग्ने बताए । ‘जस्ताका टहरामा काठ मक्किएर जतिबेला पनि ढल्ने अवस्था छ,’ उनले भने, ‘हरेक दिन जोखिम हेर्दै कक्षामा बस्नुपरेको छ ।’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पहलमा चीन सरकारले यो विद्यालयको पूर्वाधार बनाइदिने भएको थियो । त्यसका लागि २०६९ मा सर्वेक्षण पनि भयो । ०७४ मा विद्यालय भवन निर्माण थाल्ने सहमतिपत्रमा हस्ताक्षर भएको थियो । तर, अहिलेसम्म भवनको जग समेत खनिएको छैन । २०७२ वैशाखको भूकम्पपछि विद्यालयका १५ भन्दा बढी कोठाहरू असुरक्षित भएपछि भत्काइएका थिए । भूकम्पअघिकै सहमति अनुसार अहिलेसम्म भवन निर्माण नहुँदा पठनपाठनमा असर परिरहेको विद्यालयका शिक्षक केदार दाहालले बताए । ‘गर्मीमा छाना तात्छ, जाडोमा चिसिएर अत्यन्तै कष्टकर,’ उनले भने, ‘बर्खामा कहिले भल पस्ने र जस्ता बजेर पढाएको समेत सुनिँदैन ।’

भूकम्पका कारण असुरक्षित भएपछि पुराना भवन भत्काएर अस्थायी रूपमा विद्यालयकै खेल मैदानमा २० वटा टहरा निर्माण गरेर पढाइ सञ्चालन भइरहेको छ । भूकम्पअघि नै चीन सरकारले झन्डै एक अर्ब लगानीमा सुविधा सम्पन्न विद्यालय भवनहरू निर्माण गरिदिने सहमति भएकोका अहिलेसम्म अन्य स्रोत खोजेर नयाँ भवन नबनाइएको प्रधानाध्यापक कुमार जिरेल बताए । जिरी माविमा कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर कोठा, कार्यालय, शिक्षक तथा विद्यार्थी आवासगृह, चमेना गृह, खेल मैदानसहितको संरचना निर्माण गर्न २०६९ मै चीन सरकारसँग सहमति भएको थियो । चीनका तर्फबाट तिब्बतीयन इन्टरनेसनल इकोनोमिक एक्सचेन्ज सर्भिस सेन्टरका निर्देशक वायन जेन र नेपालका तर्फबाट केन्द्रबीच सम्झौता भएको थियो । २०७० मा स्थलगत निरीक्षण र सम्भाव्यता अध्ययन भएको थियो । भूकम्पपछि पुनः २०७५ मा सहमति आदानप्रदान भएको थियो । २०७६ भदौबाट काम सुरु गर्ने भनिए पनि कोरोना महामारीको कारण देखाउँदै चिनियाँ पक्षले सम्पर्क नगरेको जिरेलले बताए । ‘जग खन्न समेत सुरु भएको छैन,’ उनले भने, ‘चौरमा ८ वर्षअघि बनाएका टहरामा राखेर विद्यार्थी पढाइरहेका छौं ।’ विद्यालय भवन नहुँदा प्रविधिअनुसारको शिक्षा दिन नसकिएको उनले बताए । ‘कक्षाकोठाको समस्याले शिक्षण सिकाइ सामग्रीको उपयोग गर्न पाएनौं,’ उनले भने, ‘विद्यार्थीलाई अध्ययनमा कठिनाइ तथा जोखिम र स्वास्थ्यमा समेत समस्या आउने गरेको छ ।’

चीन सरकारले तत्कालै काम सुरु गर्ने भनेपछि विद्यालयले ६ हजार ६ सय २८ वर्गमिटर जमिन खाली गरिदिएको थियो । ‘ढिला हुने संकेत गरेको भए हामी भएका भवन मर्मत गरेर पनि काम चलाउँथ्यौं,’ जिरेलले भने, ‘काम सुरु गरिहाल्ने भनेर सबै भवनहरू भत्कायौं, अहिले जस्ताका टहरा पनि जीर्ण भइसके ।’ अब कात्तिकबाट विद्यालय भवन निर्माणको काम थाल्ने आश्वासन पाएको उनले बताए । अब पनि काम सुरु नभए विद्यालयकै पहलमा अर्को विकल्प खोज्ने उनले बताए । विसं २०१७ सालमा जिरी राष्ट्रिय प्राइमरी स्कुलका रूपमा स्थापना भएको विद्यालयले २०२५ बाट माध्यमिक शिक्षा दिन सुरु गरेको हो । यहाँ हाल ६ सय ६५ जना विद्यार्थी छन् ।

प्रकाशित : आश्विन ३, २०७९ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?