म्याद गुज्रिसक्दा प्रगति ३५ प्रतिशत मात्र- वाग्मती - कान्तिपुर समाचार
टिमुरे सुक्खा बन्दरगाह

म्याद गुज्रिसक्दा प्रगति ३५ प्रतिशत मात्र

बलराम घिमिरे

रसुवा — गएको वैशाखमै निर्माण सम्पन्न भइसक्नु पर्ने सुक्खा बन्दरगाहको भौतिक प्रगति अहिलेसम्म ३५ प्रतिशत मात्र छ । सुक्खा बन्दरगाह गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा ३० महिनामा सक्ने लक्ष्यसहित ०७६ मंसिर ४ मा शिलान्यास भएको थियो ।

हालसम्म भोटेकोसी नदी किनारमा रिटेनिङ वाल लगाउने र माटो ताछ्ने काम मात्र भएको छ । बन्दरगाहको बाँकी काम ठप्प छ । निर्माणस्थलमा कामदार र ठेकेदार कोही पनि देखिँदैनन् । कुनै जानकारी नै नदिई काम छाडेर चिनियाँ कम्पनीका प्रतिनिधि र कामदार चीन फर्किएको इन्टरमोडल यातायात विकास समितिले बताएको छ ।

०७६ मंसिर ४ मा वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव पार्वती अर्याल र इन्टरनेसनल इकोनमिक एक्सचेन्ज सर्भिस सेन्टर अफ तिब्बतको कर्मस डिर्पामेन्ट अफ चाइनाका निर्देशक बियन चेनले बन्दरगाहको शिलान्यास गरेका थिए । तर, ६ महिनाअघि नै इन्टरमोडल यातायात विकास समिति र तिब्बत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच निर्माण सम्झौता भएको थियो । बन्दरगाह रसुवागढी नाकाबाट २.५ किमि वर टिमुरेमा निर्माण भइरहेको छ । बन्दरगाह निर्माणमा चीन सरकारको आर्थिक र प्राविधिक सहयोग रहेको छ । नेपाल– चीन सम्झौताअनुसार चिनियाँ पक्षले बन्दरगाह निर्माण गरी नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ ।

बन्दरगाह निर्माणको लागत करिब १२ करोड ४० लाख चिनियाँ युआन छ । बन्दरगाह आधुनिक, सुविधासम्पन्न र अन्तर्राष्ट्रियस्तरको हुनेछ । चीन सरकारले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको थियो । द आर्किटेक्चरल रिकोनाइसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ तिब्बत अटोनोमस रिजन कम्पनीले बन्दरगाहको लागत अनुमानसहितको डिजाइन तयार पारेको थियो । उक्त डिजाइनलाई दुवै मुलुकका प्रतिनिधिले सन् २०१८ जनवरी १५ मा छेन्दुमा आयोजित कार्यक्रममा स्वीकृत गरेका थिए ।

तर, अहिले न निर्माणस्थलमा काम भइरहेको छ, न म्याद थपको कुनै प्रक्रिया नै अघि बढेको छ । निर्माण कम्पनीका प्रतिनिधि र कामदार चीन गएको सम्बन्धमा समितिले निर्माण कम्पनी र त्यसका प्रतिनिधिलाई सम्पर्क गरेको जनाएको छ । ‘कोरोना महामारीका कारण ३ वर्षसम्म घर जान नपाएको भन्दै निर्माण कम्पनीका कर्मचारी र कामदार चीन फर्केको बताइएको छ,’ समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘तर उनीहरू समतिलाई जानकारी नदिई गएका हुन् ।’ यसबारे वाणिज्य मन्त्रालयलाई जानकारी गराइसकेको उनले बताए ।

नेपाल र चीनबीच हुने द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्नु बन्दरगाहको मुख्य उद्देश्य छ । बन्दरगाहको क्षेत्रफल ८.५ हेक्टर छ । जहाँ ५ हजार वर्गमिटरको सुविधासम्पन्न ५ तले जाँचपास भवन निर्माण हुने सम्झौतामा उल्लेख छ । भवनमा प्रशासनिक कार्यकक्ष, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षालगायत कार्यालयहरू रहनेछन् । बन्दरगाहमा ३ सय ५० वटाभन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने गरी पार्किङस्थल निर्माण हुने गजुरेलले बताए । ‘दुई वटा जाँचपास कक्ष, कार्गो गोदाम, लिटिगेसन गोदामसहितको आधुनिक सुविधा सम्पन्न सुक्खा बन्दरगाह निर्माण हुनेछ,’ उनले भने । रसुवागढी नाका हुँदै आयातनिर्यात हुने वस्तुको जाँचपास यसै बन्दरगाहमार्फत हुनेछ ।

प्रकाशित : भाद्र ३१, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्

खुल्यो रसुवागढी नाका, आउन थाल्यो सामान

बलराम घिमिरे

रसुवा — चीनको स्वशासित क्षेत्र तिब्बतमा लकडाउन हुँदा बन्द भएको रसुवागढी नाका बिहीबार बिहानबाट खुलेको छ । कोभिड महामारी नियन्त्रण गर्न तिब्बतमा गरिएको लकडाउनका कारण नाका बन्द हुँदा केरुङमा रोकिएका कन्टेनर भित्र्याउन नाका खोलिएको हो । नाका खुलेसँगै केरुङमा रोकिएको व्यापारीका सामान आयात भएको रसुवा भन्सार कार्यालयले बताएको छ ।

तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले साउन २२ गतेदेखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको थियो । निर्यातमा रोक लगाएपछि दसैं र तिहारका लागि आयात गरिएको व्यापारीका अर्बौ मूल्य बराबरको सामान तिब्बतमा रोकिएको थियो । नाका खुलेपछि बिहीबार बिहान ‘चाइना र नेपाल बोर्डर न्यू मोडालिटी’अनुरुप अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड कोभिड प्रोटोकलको विषयमा चिनियाँ पक्षले रसुवागढी नाकाको अवलोकन गरेका थिए ।

रसुवागढी नाकाको नेपालतर्फ 'चाइना र नेपाल बोर्डर न्यू मोडालिटी’ अनुरुप अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड कोभिड प्रोटोकलको सम्पूर्ण तयारी पूरा गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले कान्तिपुरलाई बताए । बिहीबार बिहान ७ वटा चिनियाँ कन्टेनरमा सामान आयात भएको उनले जानकारी दिए । ती कन्टेनरहरु चिनियाँ पक्षले नेपाली भूभागमै ल्याइदिने गरेको छ । केरुङमा रोकिएका कन्टेनर बिहीबार बिहानबाट आउन सुरु गरेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । 'चिनियाँ पक्षले चौबिसै घन्टा सामान पठाउन हामी तयार छौं भनेका छन्,' जैसीले भने ।

बिहीबार बिहान आयात भएको ७ चिनियाँ कन्टेनरमा रेडिमेड सामानहरु रहेका छन् । नाका बन्द हुँदा दसैं, तिहार र जाडोको लागि आयात गरिएको अर्बौं मूल्य बराबरका सामान केरुङमै रोकिएको व्यापारी धर्म पौडेलले बताए । राजधानीलगायत मुलुकका मुख्य बजारहरूमा चिनियाँ सामानकै वर्चश्व छ । 'केरुङमा रोकिएको ५० कन्टेनर सामान नेपाल ल्याउन लोड भएर राखिएको थियो,’ उनले भने, ‘ती कन्टेनरमा तीज, दसैं र तिहारका सामान लोड थिए ।’ त्यस्तै नेपाली २ सय ५० कन्टेनर सामान सिगात्से, केरुङ, न्यालम, ल्हासामै थन्किएको उनले बताए ।

चीनको सिगात्से, केरुङ, न्यालम, ल्हासामै रोकिएका दसैं–तिहार लक्षित सामग्री सेप्टेम्बर २७ सम्ममा नेपाल पठाइसक्ने जानकारी चिनियाँ पक्षले दिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले कान्तिपुरलाई बताए । 'नाका आइपुगेका कन्टेनरको आवश्यक प्रोटोकल र स्वास्थ्य मापदण्ड अपनाएर राजधानी तथा सम्बन्धित ठाउँमा पठाउने प्रक्रिया धमाधम भइरहेको छ', उनले भने । दसैंमा चिनियाँ तयारी पोसाकको माग बढी हुने गरेको छ । ती तयारी पोसाक रसुवागढी नाकाबाट भित्रने गरेको छ । चाडबाडको मुखैमा नाका बन्द भएर आयात रोकिँदा सबैभन्दा बढी व्यवसायीहरु मर्कामा परेका छन् ।

चाडबाडको सामान समयमै काठमाडौं पुर्‍याउन सकिएन भने व्यापारीहरुले व्यवसायबाटै हात धुनपर्ने अवस्था आउने हिमालय सिमापार व्यापार संघको निवर्तमान उपाध्यक्ष मिनबहादुर श्रेष्ठले बताए । 'सामान आयात गर्न व्यापारीको खर्बैं लगानी रहेको छ,'उनले भने, 'सामान रोकिँदा ब्याज तिर्नै सकिँदैन ।' चाडबाडको मुखमा समयमा समान रोकिँदा बजारमा सामानको अभाव हुने, महँगी बढ्ने लगायतको समस्या हुने व्यापारी बताउँछन् । तिब्बत अटोनमस रिजन (टार) ले तिब्बत क्षेत्रमा ७ अगस्ट अर्थात् साउन २२ गतेदेखि गरेको लकडाउनलगत्तै उत्तरी तातोपानी र केरुङ नाका एकैपटक ठप्प बनेका थिए । तिब्बतको सिगात्से, केरुङ, खासा, न्यालमजस्ता बोर्डर एरियामा निषेधाज्ञा अझै जारी छ । दिनहुँ पीसीआर चेक भइरहेको छ ।

रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको भने ३१ महिना भयो । मानिसको आवतजावत पनि बन्द छ । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको थियो । २०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात, निर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात, निर्यात थप प्रभावित भएको हो । यसअघि पनि साढे पाँच महिना कोरोना महामारीका कारण नाका ठप्प रहेको थियो ।

प्रकाशित : भाद्र ३०, २०७९ १२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×