आँखाको ज्योति फर्किएपछि...- वाग्मती - कान्तिपुर समाचार

आँखाको ज्योति फर्किएपछि...

‘फेरि हेर्न सकिएला भन्ने लागेकै थिएन, यो मेरो जिन्दगीकै सबैभन्दा खुसीको दिन हो, अब ज्यालाबनी गरेर भए पनि जीवन धान्छु’
प्रताप विष्ट

हेटौंडा — मकवानपुरको राक्सिराङ गाउँपालिका–५ लाईराङकी ५५ वर्षीया च्योमाया चेपाङले दुवै आँखाले देख्न छाडेको दुई वर्ष भयो । घर भित्र–बाहिर गर्न पनि सहारा चाहिन्थ्यो । आफ्नो सहारा श्रीमान्को पनि ११ महिनाअघि मृत्यु भयो । उनको साथमा अहिले १५ वर्षीया छोरी छन् ।



छोरीले उनलाई घर भित्र–बाहिर गराउनेदेखि छिमेकीको काम गरेर वा मागेर ल्याएर दैनिक भोक टार्दै आएकी छन् । यस्तो पीडादायी जिन्दगी बाँच्नुभन्दा मर्नु वेश ठानेर उनी गत जेठमा घरनजिकैको खोलामा हेलिइन् । तर, बटुवाहरूले देखेर उनको सकुशल उद्धार भयो ।

‘दुवै आँखा नदेख्ने भएपछि के गरेर बाँच्नु भनेर मर्न खोजेको त्यति बेला मर्न पाइएन,’ बुधबार शल्यक्रियापछि दुवै आँखाको ज्योति फर्किएपछि च्योमायाले भनिन्, ‘अब त दुवै आँखा देख्ने भइयो, यसरी फेरि हेर्न सकिएला भन्ने लागेकै थिएन, यो मेरो जिन्दगीकै सबैभन्दा खुसीको दिन हो । अब त ज्यालावनी गरेर पनि जीवन धान्छु ।’

च्योमायाको मंगलबार वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतको टोलीले शल्यक्रिया गरेको हो । बुधबार दुवै आँखाको पट्टी खोलेपछि डा. रुइतलाई हात जोडेर धन्यवाद दिँदै भनिन्, ‘तपाईं त भगवान् हुनुहुँदो रहेछ डा. साप ।’ डा. रुइतका अनुसार च्योमायाको दुवै आँखा मोतियाविन्दुले ढाकेको थियो । पालैपालो शल्यक्रिया गर्ने गरिए पनि च्योमायाको हकमा भने एकै पटक दुवै आँखाको शल्यक्रिया गरिएको हो । जसको व्यवस्था मिलाएको थियो हेटौंडा सामुदायिक आँखा अस्पतालले ।

यसअघि अस्पतालले लाईराङमै निःशुल्क आँखा शिविर राखेको थियो । त्यही शिविरमा उनको रोग पत्ता लागेको थियो । शल्यक्रिया गर्नुपर्ने भएपछि उनलाई हेटौंडा ल्याइएको हो । शिविरमा आँखाको शल्यक्रिया गर्नुपर्ने पहिचान भएकालाई अस्पतालले हेटौंडामा ल्याएर निःशुल्क सेवा दिँदै आएको छ ।

शल्यक्रियाका क्रममा बिरामी र एक सहयोगीलाई अस्पतालमै खाने–बस्ने र उपचारपछि घर पुर्‍याइदिने सुविधा पनि अस्पतालले नै दिन्छ । सोहीअनुसार मकवानपुर, बारा, सिन्धुली, रौतहट र पर्साका ग्रामीण बस्तीमा सञ्चालित शिविरमा मोतीबिन्दु पहिचान भएकाको मंगलबारबाट अस्पतालमा शल्यक्रिया थालिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीरभद्र श्रेष्ठले बताए ।

‘विभिन्न शिविरहरूमा च्योमायाजस्ता साढे ३ सय जतिमा मोतीबिन्दु भएको भेटिएको थियो, उनीहरूको अहिले शल्यक्रिया भइरहेको हो,’ उनले भने, ‘डा. रुइतको टोलीले मंगलबार बिहानैदेखि सेवा दिइरहेको छ । बिहीबार अपराह्नसम्म सबै शल्यक्रिया सकिने अनुमान छ ।’

हेटौंडा उपमहानगरपालिका–१० टीसीएनमा रहेको यो अस्पतालले अहिले दिनहुँजसो ३ सय जति आँखाका बिरामीलाई सेवा दिइरहेको छ । १४ वर्षअघि नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको शाखाको रूपमा हेटौंडामा यो अस्पतालको स्थापना गरिएको थियो । त्यसयता वार्षिक ५० हजारभन्दा बढीको आँखा परीक्षण गर्ने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार हालसम्म ८ लाख १२ हजार जनाको आँखा परीक्षण भइसकेको छ भने ४४ हजार ३ सय ४८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी ३६ हजार १ सय ३० जनाको मोतीबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । ‘बर्सेनि मोतीबिन्दुको शल्यक्रिया गराउनेको संख्या ३ हजार जति हुन्छ,’ श्रेष्ठले भने, ‘उपचारका लागि भारतीय नागरिकसमेत आउने गरेका छन् ।’ अस्पतालमा ३ नेत्ररोग विशेषज्ञसहित ४० स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् । दर्ता शुल्कबाहेक अन्य रकम अस्पतालले लिँदैन ।

प्रकाशित : भाद्र ३०, २०७९ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्

दसैंको मुखमा सडकको चिन्ता

अगन्धर तिवारी

पर्वत — सैंलगायतका मुख्य चाडपर्व नजिकिँदै गर्दा पर्वतका सबैजसो ग्रामीण सडकमा सहज यातायात सञ्चालन हुने अवस्था छैन । विगत वर्षमा जस्तो वर्षा नभए पनि ससाना पहिरो, बाढी, खोलाखोल्सालगायतका कारणले अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आउन सकेका छैनन् ।

दसैंमा गाउबाहिर तथा बिदेशमा समेत रहेका सर्वसाधारण दसैंमा टीका थाप्न गाउँ आउनेक्रममा सहज आवागमन नहुने देखिएको छ । पालिकाले समयमै सडक मर्मतमा चासो नदिँदा मुखैमा आइरहेको दसैंमा सर्वसाधारण घण्टौं पैदल हिड्नुपर्ने बाध्यता हुन सक्ने ग्रामीण सडकहरूको अवस्थाले देखाएको छ ।

असारको पहिलो सातादेखि बाढीपहिरोले अवरुद्ध भएका पर्वतका ग्रामीण सडक अझै मर्मत भएका छैनन् । सडक मर्मत नहुँदा यसपालि दसैंमा गाउँ जाने र बजार झर्ने सर्वसाधारणले कष्ट व्यहोर्नुपर्ने अवस्था आउने मोदी गाउापालिका–२ का बालकृष्ण चापागाईले गरे ।

‘क्षबेतेनीदेखि माथि आउने बाटै छैन,’ उनले भने, ‘बजार गएर घर फर्किऊ भने दिनभरि लाग्छ । सानातिना पहिरा पन्छाएर सडक खुलाउन सकिए दुई घण्टामै बजार आउजाउ गरिन्थ्यो । यो कुरा पालिकाले सुन्दै सुनेन ।’ स्थानीयले सडक मर्मतका लागि पालिकामा पटकपटक भन्दासमेत सुनुवाइ नभएको स्थानीयले बताएका छन् ।

प्रकाशित : भाद्र ३०, २०७९ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×